• २०८१ बैशाख ७ शुक्रबार

अनलाइन डेटिङमा पुरुषभन्दा महिला अघि !

kharibot

काठमाडौं । बदलिँदो समयमा प्रेमको परिभाषा पनि परिवर्तन भइरहेको छ । त्यस्तै प्रेमप्रस्ताव राख्ने परम्परामा पनि परिवर्तन आइरहेको छ । पहिला पुरुषले मात्र प्रेमप्रस्ताव राख्ने, आफ्नो भावना प्रस्तुत गर्ने गरेकोमा अहिले महिला पनि विना संकोच आफ्नो भावना प्रस्तुत गर्न अघि बढिरहेका छन् । केही वर्ष पहिले अनलाइन डेटिङलाई निकै हेय दृष्टिले हेर्ने गरिन्थ्यो ।

तर, अहिले यो एक परम्परा नै भइसकेको छ । यतिसम्म कि मागी विवाह भएको खण्डमा पनि पहिला युवा युवती सामाजिक सञ्जालमा आबद्ध भएर आफ्ना भावना साटासाट गरी एकअर्कालाई बुझेर मात्र विवाहको लागि राजी हुन्छन् । 

अहिले हरेक पाँच सम्बन्धमध्ये एक अनलाइनबाट सुरु हुने गरेको एक अध्ययनले देखाएको छ । त्यसैले अहिले विश्वभर अनलाइन डेटिङ एप र यसका प्रयोगकर्ताको संख्या निकै बढेको छ । अमेरिका र युरोपमा त ठूल्ठूला कम्पनी नै स्थापना भएका छन्, जसले महिला पुरुषलाई मिलाउने काम गर्दछन् । 

अनलाइन डेटिङको यो चलन पश्चिमी देशबाट सुरु भएर हाल विश्वभर फैलिरहेको छ । सन् १९९५ मा स्थापित म्याच डटकम विश्वकै पहिलो अनलाइन डेटिङ साइट हो । त्यसपछि सन् २००० मा ई–हार्मोनी र सन् २००२ मा एस्ले मेडिसिन नामक अनलाइन डेटिङ साइट आए । यी साइटले अनलाइनमा डेटिङको परम्परा बसाएका हुन् । सन् २०१२ मा टिन्डर नामक एप सार्वजनिक भयो । यो नै पहिलो डेटिङ एप हो, जसमा स्वाइपको सुविधा थियो । 

लैंगिक विभाजनका कारण समाजमा महिला र पुरुष दुवैलाई उत्तिकै समस्या परेको छ । लैंगिक विभाजनको समस्या अनलाइनमा पनि त्यतिकै छ । नेपालजस्तो अल्पविकसित मुलुकमा अनलाइन डेटिङ गर्ने महिलाको कमीका कारण पुरुषले आफूले चाहेजस्तो महिला पाउन सकिरहेका छैनन् भने महिलाले पनि छनोटका लागि धेरै पुरुष पाउने हुँदा छनोटमा अलमलिनुपरेको बताइन्छ । 

यही सन्दर्भमा पछिल्लो १० वर्षमा यो अन्तर बिस्तारै घट्दै गएको छ । अनलाइन डेटिङ एपको प्रयोगकर्ता बन्ने महिलाको संख्या दिन दुई गुणा र रात चौगुणा वृद्धि भइरहेको छ । त्यसैले यसले केही समयमा नै महिलापुरुषबीचको दूरीलाई हटाइदिने बताइन्छ । 

अनलाइन डेटिङको लागि केही महत्त्वपूर्ण सुझाव 

डेटिङको उद्देश्यले बनाइएका हजारौं वेबसाइट छन्, तर ती सबैमध्ये सही साइट चुन्नु एक चुनौती नै हो । सबै साइट सही नै लाग्न सक्छन्, तथापि, आफूले पहिला रुचाइएको साइटको केही जाँच भने गर्नै पर्छ । ती झुटा साइट हुन् कि, अथवा तिनले तपाईंको विवरणको गलत प्रयोग गरिरहेका छन् कि भन्नेमा धेरै ध्यान दिनुपर्छ । कतिपय साइटले तपाईंको भावनालाई उक्साएर फसाउन पनि सक्छन् । त्यसैले सही साइटको छनोट गर्नु अत्यन्त जरुरी छ । 

साइटमा आफ्नो सही नाम नै राख्नु उपयुक्त हुन्छ । किनकि यो तपाईंको पहिलो चिनारी हो । तपाईंले सही चिनारी दिनुभएको छ भने मानिसहरु तपाईंसँग खुलेर बोल्न सक्छन् । आफ्नो युजरनेम आफ्नो व्यक्तित्व झल्किने किसिमको राख्नु आवश्यक छ । 

यस्ता साइट अथवा एपमा तपाईंका व्यक्तिगत विवरणको गलत प्रयोग पनि हुन सक्ने भएकाले आफ्नो फोन नम्बर, इमेल आइडी आदि विवरण राख्दा धेरैभन्दा धेरै ख्याल गर्नुपर्छ । 

त्यस्तै, आफ्नो फोटो सुन्दर देखाउन फोटोसप लगायत सफ्टवेयरको धेरै प्रयोग नगरौं । इडिट नगरिएको, आकर्षक र आफूलाई स्मार्ट देखाउने प्रोफाइल पिक्चर राख्नु सबैभन्दा राम्रो हो । यसले तपाईंको व्यक्तित्व झल्काउँछ । 

अनलाइन डेटिङमा धेरै उत्तेजित भएर अघि बढिहाल्नुभन्दा जोसँग आफूले कुरा गर्न रुचाइन्छ, उनको बारेमा धेरै जानकारी लिँदै उनको भावना बुझेर सम्बन्धलाई बिस्तारै अघि बढाउनुपर्छ । अन्यथा धोका पनि हुन सक्छ । यसमा आफू धेरै सतर्क हुनुपर्छ ।

त्यस्तै, धेरै उत्तेजित भएर कुरा गर्दा व्यक्तिलाई असजिलो पनि लाग्न सक्छ । इन्टरनेटमा एकअर्काप्रति कुरा गर्न सहज भइसकेपछि, आफ्ना कुराहरु साटासाट गर्न सक्ने भइसकेपछि मात्र भेट्ने फैसला लिनुहोस् । एक पटक भेट्दैमा के हुन्छ र भन्नु भन्दा पनि सम्भव भएसम्म एकअर्कालाई जानेर बुझेर मात्र भेट गर्दा सम्बन्ध लामो समयसम्म टिक्न सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै