• २०८१ बैशाख ८ शनिबार

समायोजनको नाममा भाडावृद्धि गर्न ट्याक्सी चालकको माग 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । वरिष्ठ ट्याक्सी चालक पूर्ण तामाङले वर्तमान सरकार मजदुरहरुको हितमा विपरित काम गर्न उद्देलित भएको आरोप लगाए । 

उनले परिवर्तनका लागि आफूहरुले पनि पार्टीको झण्डा बोकेको भन्दै आफूहरुको अधिकारका बारेमा कुनै पनि राजनीतिक दल गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने हाम्रो माग हो, २०६९ सालमा समायोजन गरिएको भाडादर आजका दिनमा पनि उही छ, के यातायात विभागका महानिर्देशकले २०६९ सालमा खाने गरेको तलब आजका दिनमा पनि त्यही तलब खाइरहेका छन् ? हाम्रो बारेमा सोच्नुपर्दैन ? 

अर्का चालक राम थापाले ट्याक्सी चालकहरुमाथि भइरहेको आक्रमणप्रति सरकार गम्भिर नभएको आरोप लगाए । उनले भने, ‘सरकारले हामीलाई कारबाही गरिहेको छ, हामीले चर्को रुपमा कर तिरेका छौं, तर सरकारले हाम्रो सुरक्षा दिन सकेको छैन्, हिजोमात्रै एकजना ट्याक्सी चालक साथीको आँखा फोडिएको छ, केही दिन अघि सुर्यविनायकमा ज्यान लिनेगरि आक्रमण भएको थियो, यस्तो गम्भिर हत्या र हिँसामा संलग्नलाई सरकारले किन कारबाही गर्न सकेको छैन ?’ 

उनले अघि थपे, ‘हरेक चिजको मूल्यवृद्धि भएको छ, २०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा दुई सय ५० तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, जाँचपास ५० थियो, अहिले दुईसय तिर्नुपर्छ, ईन्सुरेन्स तेस्रो पक्षलाई पाँचसय थियो भने अहिले ७ हजार ८ सय छ, फुल ईन्सुरेन्सको लागि ३४ हजार छ, तीन वर्ष पहिले बैंक ब्याजदर ८.२५ प्रतिशत थियो, अहिले १३ देखि १५ प्रतिशत पुगेको छ, ६ हजार कर बढेर १३ हजार पुगेको छ, नयाँ कम्पनी दर्ता गर्दा १५ हजार लाग्छ, यस्तो स्थितिलाई नदेख्ने तर केही ट्याक्सी चालकका सामान्य कमजोरीलाई लिएर सिङ्गो ट्याक्सी चालकको भावनामाथि चोट पुग्ने खालको सम्बोधन गर्ने ?’

उनले भने, ‘सरकारले यसका बारेमा गम्भिर भएर सोच्नुपर्छ, ७५ प्रतिशत स्वरोजगार लगानीकर्ताहरु छन्, विदेशमा पसिना बगाएर कमाएको पैसाले ट्याक्सि किनेछन्, लुटेरा भनिएको छ, तल्लो स्तरको भाषाले सम्बोधन गरिएको छ, के हाम्रो सम्मानित जीवन होईन ? ट्याक्सि चालक साथीहरुले व्यावसायिक तालिम लिएर यस क्षेत्रमा हात हाल्न आग्रह गर्दछु, यात्रुलाई कस्तो भाषा बोल्ने ? कस्तो व्यवहार गर्ने ? बिदेशी पाहुनाहरुलाई कसरी सम्मान गर्ने ? यावत कुराहरु सिक्नुपर्छ, मिटरमा हिड्नुपर्छ, अब हामीले जनतासँग होईन सरकारसँग जायज माग राख्नुपर्छ  र सरकार पनि सम्बोधन गर्न आवश्यक छ यहि स्थिति रहेमा पूर्व लडाकुलेझै विष पिउनु पर्ने बाध्यता आइलाग्नेछ ।’ 

सरकारले आफूहरुलाई नहेरेको र नेताहरुले पनि झण्डामात्रै बोकाएको उनको गुनासो छ । उनले अघि भने,‘अब हाम्रो अभिभावक भनेको पत्रकारमात्रै हो, तपाईहरुले खोज अध्ययन गरेर ट्याक्सी चालकको बारेमा जान्नुहोस्, मेरो आग्रह छ, विकसित राष्ट्रमा न्युनतम फ्ल्याक डाउन तीनदेखि चार किमीसम्मको सूरुमै मिटरमा पैसा उठ्ने व्यवस्था हुन्छ, तर हाम्रोमा जम्मा १४ रुपैयाँ मात्रै उठ्छ, यस उदाहरणलाई हर्ने हो भने नजिकमा जाने यात्रुलाई बोक्न चाहँदैनन्, सरकारले कारबाही गर्छ, यो अवैज्ञानिक कारबाहीको भागिदार कहिलेसम्म हुने ? 

कार्यक्रममा ट्याक्सी चालकहरु सानु पुर्वछाने, प्रकाश बस्नेत, शम्भु कुवँरलगायतले आफ्ना धारणा राखेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै