• २०८१ बैशाख १४ शुक्रबार

‘सरकारबाट निराशा, युएनको भरोसा’ भन्दै विद्यार्थीले राष्ट्रसंघलाई हस्ताक्षर बुझाए

kharibot

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन  माग गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले ५० मिटर लामो कपडामा हस्ताक्षर संकलन गरी  संयुक्त राष्ट्रसंघलाई  बुझाएका छन् । 

बलात्कारपछि हत्या गरेको पाँच महिना बित्न लाग्दा समेत सरकारले दोषी पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै संकलित हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाएका हुन् । 

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति माइतीघर मण्डला र त्रिवि मातहतका क्याम्पसहरुमा हस्ताक्षर संकलन गरेका थिए ।  

‘सरकारबाट निराशा युएनको  भरोसा’ भन्दै त्रिविवि विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेका थिए । निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउनुपरेको विद्यार्थीहरुले बताएका छन ।


खरीबोटसँग कुरा गर्दै उक्त कार्यक्रममा सहभागी सौरभ न्यौपानेले भने, ‘१ सय ५१ दिन बितिसक्दा पनि निर्मलाले न्याय नपाएको अवस्थामा सरकारले दोषी पत्ता लगाउन कुनै अग्रसरता नदेखाउनु भनेको सरकार चुक्न् हो,  किनभने गल्ती नगरेको मान्छेलाई अपराधी भनेर पटक–पटक उभ्याउनुले सरकारले केही लुकाउन खोजेको हो कि जस्तो लागेको छ ।’

कार्यक्रममै सहभागी अर्की विद्यार्थी यनी कुँवरले निर्मलाको न्यायको निम्ति राष्ट्रिय क्षेत्रबाट धेरै  प्रक्रिया थालिएको भएता पनि कुनै सफल नभएकोले एकपटक अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि दबाब आओस् भनेर हस्ताक्षर संकलन गरेको बताइन् । हस्ताक्षर संकलन र निर्मलाको न्यायको लागि साथ दिदै आएका हास्य कलाकार निर्मल शर्मा निर्मलाको हत्या  भएको लामो समय बित्दा समेत सरकार मौन रहेको र  फरक फरक अपराधि तयार पार्न तल्लीन भएको  हुनाले देशमा भएका कुनै पनि महिलाहरु असुरक्षित भएको महसुस गरेको बताउँछन् । 

ठूलो अपेक्षासहित हस्ताक्षर संकलनमा लागेको बताउँदै उनले विभिन्न पार्टी र   संगठनहरु मात्र नभएर त्रिविवि का सम्पूर्ण विद्यार्थीहरु समेत न्यायको लागि अग्रसर भएकोमा खुसी व्यक्त गरे ।

निर्मला कसैको छोरी र चेली मात्र नभएर एउटी विद्यार्थी भएको नाताले  विद्यार्थीको लागि विद्यार्थीले नै आवाज उठाउनुपर्छ भन्ने लागेर विश्व विद्यालयबाट नै न्यायको खातिर लड्न सक्छौँ भन्दै विगत एक हप्तादेखि विद्यार्थीहरु हस्ताक्षर संकलनमा लागिपरेका थिए ।
   
गत श्रावण १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा  निर्मलाको शव भेटिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै