• २०८१ बैशाख १४ शुक्रबार

व्यवस्थापनमा सुस्त काठमाडौं महानगर कहिले हुने चुस्त ?

kharibot

काठमाडौं । काठमाडौं महानगर, नेपाल विद्युत् प्राधिकरणलगायतका सम्बन्धित निकायहरुको लापरबाहीको कारण काठमाडौंका सडक छेउका घरहरु आगलागीको उच्च जोखिममा परेका छन् । कुरा हो मंगलबार मध्याह्नको । बिजुलीबजार पुलछेउमा रहेको भाटभटेनीअगाडि सडकमा मानिसहरु हिँडिरहेका थिए, सवारीसाधन पनि चलिरहेकै थिए ।

यतिकैमा सडकछेउका बिजुली खम्बामा जेलिएका तारहरुमा अचानक आगो बल्न सुरु भयो । आगो लाग्न थालेपछि मानिसहरुको भीड नै लाग्यो भने महानगरमा फोन गरेर दमकल बोलाउनुपर्ने स्थिति आयो । दमकल आएर आगो निभाउँदासम्म पोलभरिका तारको जालो जलेर खरानी भइसकेको थियो । १÷डेढ घण्टा वरपरका क्षेत्रमा बिजुली नहुँदा अफिसहरुले फुर्सद पाए । काम बिथोलियो । 

देश चलाउने सिंहदरबारदेखि २ सय मिटर नजिक भएको यस्तो परिस्थिति त प्रतिनिधि घटना मात्रै हो । संघीय राजधानीको महानगरभित्रको यस्तो दुर्दशाको दोषी सरकार, महानगर र विद्युत् प्राधिकरण नै हो । यी निकायहरुले लापरबाही गर्दा उपत्यकाका अधिकांश स्थानमा विद्युत् खम्बाहरु तारैतारको भारी बोक्न बाध्य छन् । बग्रेल्ती खुलेका इन्टरनेट सेवाप्रदायक संस्थाका तारहरु, टिभी केबलका तारहरु, फोनका तारहरु एउटै पोलमा झुण्ड्याइँदा यसले आगलागीको जोखिम त उच्च पार्छ नै पूरै काठमाडौंलाई नै कुरुप पारेको छ ।

महानगरले तार व्यवस्थापन नथालेको पनि होइन तर काम सुरु गर्ने तर कहिल्यै सम्पन्न नगर्ने प्रवृत्तिको परिणामस्वरुप यस्ता आगलागीका घटना दिनहुँजसो उपत्यकामा भइरहेका छन् । मनलागी सडक खन्ने सर्वसाधारण हुन् कि विभिन्न बहानामा खन्ने सरकारी निकायहरु नै किन नहुन्, भत्काइसकेपछि तत्कालै पिच गर्ने परिपाटी नहुँदा, फोहोरहरु डस्टबिनमा फाल्ने संस्कार नहुँदा सर्वसाधारणदेखि जिम्मेवार सरकारी निकायसम्मले उपत्यकाको सौन्दर्यलाई कुरुप पार्ने काम गरेका छन् । जीवन जोखिममा पार्ने काम गरेका छन् । 

आफ्नो बिजुली खम्बामा तार झुण्ड्याउनदिएबापत विद्युत् प्राधिकरणले पैसा असुल्छ तर उसैले तार व्यवस्थापनमा भने ध्यान नै नदिँदा यस्ता आगलागीका घटना दिनहुँजसो भइरहन्छन् । महानगरको सौन्दर्य थप्ने भन्दै गमला सडक किनारामा राख्ने महानगरले फुटेका गमला तत्काल प्रतिस्थापन गर्दैन, स्मार्ट डस्टबिन सडकमा फ्याँकिदिन्छ तर फोहोर त्यसमा राख्न सिकाउन सक्दैन, वृक्षरोपणको अभियान सञ्चालन गर्छ, आइल्याण्डहरु बनाउँछ र मेयरबाट उद्घाटन गराउँछ तर हरक्षण सवारीसाधनमा हिँड्दा पनि सहजै देख्न सकिने बिजुलीका खम्बाहरुले बोकेको भारी व्यवस्थापनमा चासो दिँदैन ।

यस्तो लापरबाहीले हद नाघेपछि गमलाहरु फुट्छन्, रोपण गरिएका वृक्षहरुका पात चुँडिँदै चुँडिँदै सकिन्छन्, जेब्रा क्रसिङका धर्साहरु मेटिँदै जान्छन्, सडकबत्तीहरु निभ्दै जान्छन्, ट्राफिक लाइटको खम्बा मात्रै ठडिन्छन्, बत्ती बल्दैनन्, प्रहरी ट्राफिक लाइटकै अघिल्तिर सिटी फुकिरहेको हुन्छ तर महानगरलाई चासो हुँदैन । अन्ततः दम्कल बोलाएर सामान्य आगो निभाउन परिरहन्छ । 

उपत्यकामा धूलोको आँधी रोकिएको थाहा छैन तर काठमाडौं महानगरको सपना मास्क प्रतिस्थापन गर्नेतिर छ । अघि अघि टिप्परहरु धूलो बोक्दै दौडिन्छन्, पछि पछि महानगर टेम्पोजत्रो ब्रुमर लिएर सडक बढार्दै हिँड्छ । डाक्टरहरु बिहान पनि महानगरमा मर्निङ वाक नगर्न चेतावनी दिँदै गर्दा महानगरले राम्रै उद्देश्यले ब्रुमर लगाउने, सडक पखाल्ने गरे पनि व्यवस्थापनमा भने गम्भीर लापरबाही गरिरहेको छ । उपत्यकाको सौन्दर्य बढाउन थप केही निर्माण गर्नुपर्दैन केवल व्यवस्थापन मिलाइदिए काफी हुन्छ । यतातिर महानगरको ध्यानै छैन । ससाना कुरामा सुधार गर्ने, काम गर्ने शैलीमा परिवर्तन गर्ने र भइरहेकै कुराहरुलाई व्यवस्थापन मिलाइदिने मात्रै हो भने पनि काठमाडौं यतिकै सुन्दर हुन्छ । तर त्यस्तो सोच जिम्मेवार निकाय चलाउनेहरुमा देखिँदैन ।

उपत्यकामा बागमती सफाइको अभियान चल्छ,, जनचेतनामूलक कार्यक्रमहरु पाँच तारे होटलहरुमा हुन्छन् तर सडकमा पुग्नासाथ ती सबै कुराहरु वाहियात लाग्छन् । सफाइ अभियान चलाएर के गर्नु, अलि पर त्यही नदीमा मानवोत्सृजित फोहोरका ढल मिसिरहेको हुन्छ । यी ससाना कुरामा जिम्मेवार निकायले गरेका लापरबाही पनि त्यस्ता निकायमा दिनहुँ लुकिछिपी हुने गरेका भ्रष्टाचारभन्दा कम छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै