• २०८१ बैशाख ८ शनिबार

'संघीयता र संविधान हाम्रै संघर्षको परिणाम'

kharibot
  • कमला रोका नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा संघीय प्रतिनिधिसभाकी सांसद समेत हुन् । माओवादी पृष्ठभूमिको राजनीतिबाट हुर्केकी हुँदा उनलाई पहिलो महिला छापामार पनि भन्ने गरिन्छ । साथै उनले डा. बाबुराम भट्टराईको सरकारमा युवा तथा खेलकुदमन्त्रीको कार्यभार पनि सम्हालिसकेकी छिन् । रोकाले जनयुद्धकै बेला पार्टीको अनुमति लिएर गणेशमान पुनसँग विवाह गरेकी थिइन् । पुन पूर्वआपूर्तिमन्त्री समेत हुन् । रोकाले २०६३ सालमा व्यवस्थापिका संसद्मा मनोनीत भइन् । त्यस्तै ०६४ मा समानुपातिक सभासद, ०७५ मा रुकुमपूर्वको प्रत्यक्षतर्फ जितेर हाल उनी प्रतिनिधसभा  सदस्य छिन् भने संसदको विकास समितिकी एक सदस्य पनि हुन् उनी । ने क पाका ४४१ जना केन्द्रीय सदस्यमध्ये उनी पनि एक हुन् । प्रस्तुत छ रोकासँग महिलाअधिकार, युद्धदेखि संसद्सम्म बटुलेको राजनीतिक तथा वैचारिक अनुभवसँग केन्द्रित रहेर तयार पारिएको आलेख उनकै शब्दमा :

मितिले २०३२ पुस २० गते हालको पूर्वी रुकुमको सिस्ने गाउँपालिका २ सुद्रीमा जन्मिएको हुँ । गाउँमा छोरीहरुलाई पढाउनुहुन्न भन्ने सोच राख्ने समाजमा मेरो सोचाइ मेल खाँदैनथ्यो । सोही कारण विद्यालय भर्ना हुन घरपरिवारसँगै संघर्ष गर्नुपर्यो । समाजमा छोरा र छोरीप्रतिको लैंगिक विभेद देख्दा मनमा विद्रोही भाव पलाउँथ्यो । कतिपय अवस्थामा समाज र परिवारमात्र हैन, आफैँसँग समेत विद्रोह गर्नुपथ्र्यो । गोठालो जाँदा किताब सारी सारी ४/५ महिनामा पढ्न र लेख्नसक्ने भएको थिएँ । कापी, किताब र ड्रेस किन्नको लागि श्रम गर्नुको विकल्प थिएन । ढुङ्गा बोकेर १५ सय जम्मा गरेकी थिएँ पढाइको रहर पूरा गर्न । त्यो बेलाको परिस्थितिसँग जति नै विद्रोह गरे पनि सामाजिक चेतमा सजिलै परिवर्तन कहाँ आउँथ्यो र ! ११ वर्षकै उमेरमा बिहेको लागि मगनी आयो ।

लुकी लुकी स्कुल पढ्न जाँदा आमाबाबुबाटै कुटाइ खानुपथ्र्यो । ठूलै अपराध गरेजसरी । कतै छोरी हुनु नै अपराध त होइन भन्ने पनि नलागेको होइन तर जसरी पनि पढ्नुपर्ने कुरालाई मनन गर्न कहिल्यै छोडिएन । भागेर स्कुलनजिकै डेरा गरी पढ्ने जमर्को पनि गरेँ । १ हप्तापछि बुबा आएर घर लग्नुभयो । आमा पुरानो विचारको हुनुहुन्थ्यो । छोरीले पढी, राम्रो गरी भन्ने त्यो समाज र समयलाई लाग्दैनथ्यो । पढ्नु भनेको इज्जतै फाल्नुसरह हुन्थ्यो । तर त्यो समयलाई जित्ने अवसर पाएँ, पाँच कक्षामा फस्र्ट भएँ । त्यसपछि त पढाइलाई निरन्तरता नदिने भनी कहिल्यै सोचिनँ । 

प्यारालाइसिसको कारण २०४९ मा आमाको मृत्यु भएपछि पढाइ छोड्न दबाब आयो तर छाडिनँ । बरु पढाइसँगै जीवनमा अर्को आयाम थपियो, राजनीतिक आबद्धता लिएँ । विद्यालयजीवनमै विद्यार्थीको जिल्ला कमिटीमा जोडिएँ अखिलको विद्यार्थी संगठनमा बसेर । ०५२ मा एसएलसी दिनु थियो तर सोही सालको फागुन १ गतेबाट नै माओवादी सुरु गरेको जनयुद्धमा लागेँ । पहिलो महिला छापामार बन्ने अवसर पाए । त्यसपछि त राजनीति नै मेरो भरपर्दो सहारा बन्यो । १० वर्षको जनयुद्धको सुरुवातमै विद्रोही बनेँ त्यो पनि महिलाको उपल्लो पोष्ट ब्रिगेड कमिस्नरमा। जनयुद्धले पढाइ रोकिए पनि माओवादी शान्तिप्रक्रियामा आइसकेपछि २०६६ मा पुनः १० कक्षा पढ्दै गर्दा रोकिएको पढाइलाई निरन्तरता दिएँ । त्यसपछि काठमाडौंबाट प्लस २ पास गरेँ । 

लुकी-लुकी स्कुल पढ्न आमाबाबुबाटै कुटाइ खानुपर्थ्यो । ठूलै अपराध गरेजसरी ।

छापामारको समय 
जति बेला हामी संघर्षको कठिन मोर्चामा थियौँ, त्यति बेला मन्त्री बन्न पाइएला, सांसद बनिएला, कुनै पदमा पुगिएला भन्ने सोचेकै पनि थिएनौं । त्यो समय देश र जनताको लागि लडियो, कति बेला सहिद भइन्छ भन्ने नै थाहा थिएन । लक्ष्य के थियो भने बाँचे देशलाई परिवर्तन गर्ने, मरे देशको परिवर्तनको लागि मर्ने भनिन्थ्यो । जीवनमरणको लडाइँमा सोच नै सम्पूर्ण रुपमा समर्पित हुन्थ्यो । त्यसो त अहिले पनि परिवर्तनकै एउटा मोर्चामा छौं । संघीयता र संविधान हामीले लडेर ल्याएका हौँ । यसमै टेकेर शिक्षा, स्वास्थ्यदेखि महिलाअधिकार पाउनको लागि लड्यौं । हाम्रै लडाइँ र त्यागको बलिदान हो संविधान । 

एक हातमा बच्चा, अर्को हातमा बन्दुक
२०५९ मा मेरो कार्यक्षेत्र प्युठान जिल्लामा थियो । जिल्ला इन्चार्ज थिएँ । त्यतिबेला अर्घाखाँची आक्रमणको योजना बनेको थियो । आक्रमणकै क्रममा घाइतेहरुलाई लिएर आधार इलाकामा गइरहेको बेला माथिबाट हेलिकप्टर र तलबाटआर्मी परिचालन गरिएको थियो । त्यतिबेला धेरै साथीहरु गुमाउनुपर्यो । रोल्पाको थवाङका जनता र लडाकु सबैसँगै गइरहेको बेला पहिलो छोरा जन्मिने बेला भएको थियो । मंसिर महिनामा लेकमा हिउँ परेकै ठाउँमा धेरै साथीहरुले बच्चा जन्माउनुपर्यो । 

उता गम्भीर घाइतेहरुलाई तुरुन्त उपचार गर्नुपर्ने भयो । रुकुमबाट राति रातिबच्चा जन्मिने अन्तिम अवस्था हुँदा दाङ हुँदै भारतको सिमाना पटला नाकासम्म के पुगेको थिएँ, प्रसवपीडाले सतायो । सम्पर्क अफिसमा नै बच्चा जन्माएँ । मोर्चाकै डाक्टरलेबलरामपुर अस्पताल पुर्याए । ५ दिन मात्र त्यहाँ बसेर पुनः हिँड्नुपर्यो । दाङ हुँदै हिँडेर बच्चा च्यापेरै रुकुम आइपुगेको क्षण निकै पीडादायी अनुभव हो । स्काई भ्यानको जासुसी र ४/५ वटा हेलिकप्टरको आक्रमण फेस गर्नुपर्यो । एक जना बटालियन  र डिभिजन कमाण्डरसहित२ जना कमाण्डर त्यहाँ सहिद भएका थिए । सामुन्नेमा ढलेका साथीको शरीर‘कभर’ गराएर लड्नुपरेको त्यो अवस्था सम्झिँदा निकै दुःख लाग्छ । 

युद्धमोर्चादेखि संसद् अनुभव बटुल्दासम्म
कानुनकै सन्दर्भमा पनि स्वास्थ्यसम्बन्धी कानुन संशोधन गर्नेलगायतका कुराहरुमा ४।५ जनाको गु्रप मिलेर हामीले संशोधन हालेका थियौं । एक्लै गु्रपमा पनि संशोधनको हालिरहेका छौं । नागरिकताको विषयमा पनिभयो । यस्ता कुरामा हामीले गर्ने ठाउँमा पहल गरिरहेका छौं । निर्णायक तहमा पितृसत्तात्मक चिन्तनले रोक्यो । नीतिनिर्माण गर्ने ठाउँ अहिले पनि पुरुषबाहुल्य छ । पार्टीमा होस् या अन्त । सुरुमा त पार्टी पहिलो हुन्छ । यहाँसम्मको महिला अधिकार हामीले लडेर नै ल्याएका हौं । तर भन्नैपर्छ अझै पनि पार्टीमा महिला सहभागिता कम छ, अझै संघर्ष गर्न बाँकी छ । जनयुद्धमा लाग्यौं, ०६२/६३ को आन्दोलनमा झण्डा बोकेर सडकमा ढुङ्गामुढा खान तयार भयौँ । अहिलेसम्म लडेरै ३३ प्रतिशत अधिकार सुनिश्चित गरेका छौँ । अब त्यसलाई ५० प्रतिशत पुर्याउनुपर्छ । यसका लागि पार्टीभित्र नै ३३ प्रतिशत उपस्थिति नहुँदा गाह्रो भइरहेको छ । 

तर भन्नैपर्छ अझै पनि पार्टीमा महिला सहभागिता कम छ, अझै संघर्ष गर्न बाँकी छ । 

मेरो निर्वाचन क्षेत्र
रुकुमपूर्व ५ नम्बर प्रदेशको हिमाली जिल्ला हो । जनताले भारी अपेक्षासहित मलाई बहुमत दिएका हुन् । यहाँ केही राजनीतिक विवादहरु छन्।सदरमुकाम कहाँ पार्ने भन्ने विवाद छ । विस्तारै कार्यालयको विस्तार भइरहेको छ । साविकका ५ वटा गाविसहरुमा यातायातको ट्रयाक नै खुलेको छैन । त्यो सबै गर्नुपर्नेछ । धेरै सम्भावना बोकेको ठाउँ पनि हो यो । हाइड्रोपावरदेखिजडीबुटी यार्सागुम्बासम्मको प्रचुर सम्भावना बोकेको छ । बहुमूल्य जडीबुटी पाइने यस जिल्लामा यार्सा ट्रेल नै भनेर पर्यकीय मार्ग बनाइएको छ भनेहिजो हामी हिँडेको गुरिल्लाहरुलाई सरकारले गुरिल्ला ट्रेल भनेर घोषणा गरेको छ । प्राकृतिक हिसाबले पनि पर्यटकीय महत्व बोकेको ठाँउ हो रुकुमपुर्व । पर्यटन मन्त्रालयले समेतयहाँ नयाँ रुटहरु बनाएको छ । 

कृषिमा आत्मनिर्भर बन्ने गुरुयोजना
कृषिमा आत्मनिर्भरको लागि हामीले गुरुयोजना बनाएकाछौँ भने स्वास्थ्य र शिक्षाक्षेत्रमा पनि योजना बनिसकेका छन् । १० वर्षमा,१५ वर्षमा र २० वर्षमा के गर्ने भनेर गुरुयोजना तयार भएको छ । स्थानीय तहमा विज्ञसहितको टोलीले गुरुयोजना बनाएका छन् । जिल्ला अस्पतालको लागि पनि पहल भइरहेको छ । 

सहिदमार्गले चीन जोड्छौँ
समग्रमा विकासको हिसाबले बाटोघाटोमा मध्यपहाडी राजमार्गले रुकुमपूर्वलाई छोएर बाग्लुङ आउँछ । राष्ट्रिय गौरवको योजनामा अर्को सहिद मार्ग भनेर रुकुमको हाेलेरीदेखि माथि रुकुमपूर्व हुँदै चाइनासम्म जोड्ने पनि छ । त्यो अगाडि बढिरहेको छ । अहिले कोइलाबास–घोराई–रोल्पा–रुकुमपूर्व डाेल्पा हुँदै चाइना जोड्ने नाकाको पनि सुरुवात गर्ने भनेर त्यो प्रक्रिया अगाडि बढाइएको छ । नेपाल सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपालीलाई रुकुम पूर्वमा पनि अभ्यास गरिँदै छ ।

महिलाका लागि ‘सेफ हाउस’ कन्सेप्ट
आवश्यकताअनुसार महिलाको लागि, सांसद विकास कोषमार्फत निर्वाचन क्षेत्रको विकासको लागि रकम छुट्याउने गरिएको छ । मैले एउटा सेफ हाउस बनाउने भनेर केही रकम छुट्याएको छु । यो जिल्लास्तरबाट महिलाको लागि सेफ हाउस बनाउने कन्सेप्ट हो ।  राजनीति गर्ने सन्दर्भमा पुरुषलाई जस्तो सहज महिलालाई हुँदैन । हामीले एक हातमा बन्दुक र अर्को हातमा बच्चा लिएर संघर्ष गरेर आएका हौं । सँगै आयौं, धेरै छ गर्न छुटेको अझै बच्चाको लागि महिलाले नै बढी समय खर्चिनुपर्ने हुन्छ । कहीँ कतै पुरानो चिन्तन नदेखिने त होइन र पनि समग्रमा ठीकै छ, सहजै छ । 

४ सय ४१ जना केन्द्रीय सदस्यमा जम्मा ४१ जना मात्रै महिला सदस्य छौं । एक तिहाइ महिला उपस्थिति पुर्याउन अझै ७१ जना थप्नुपर्ने आवश्यकता छ ।

महिलाअधिकारको पक्षमा 
संघीय संसद् र राष्ट्रियसभा गरेर संसद्मा एकतिहाइ महिला हुनुपर्ने कुरा संविधानले अंगीकार गरेको छ । यता कार्यपालिकामा भने महिला सहभागिता समावेशिताको आधारमा भनिएको छ तर हामीले आवाज उठाइरहेका छौं । हुन त संविधानप्राप्तिसँगै न्यायपालिका, व्यवस्थापकिा र कार्यपालिका सबै अंगमा महिलाले प्रमुख हुने अवसर पनि प्राप्त भयो । संसद्का १० विषयगत समितिमा ६ जना महिला सभापति छन् । तर त्यो अझै अपर्याप्त छ । यता पार्टीको नीतिनिर्माण तहमा पनि महिला पुग्नु आवश्यक छ । यसका लागि पार्टीभित्र आवाज उठाइरहेका छौँ । अहिले नेकपाको सचिवालयमा महिला छैनन् । स्थायी कमिटीमा ४५ जनामा २ जना महिला छन् । यो अपुग छ । हामीले प्रदेश इन्चार्जदेखि जिल्ला अध्यक्षहरुसम्म बढाउनुपर्ने माग गरिरहेका छौं  । ४ सय ४१ जना केन्द्रीय सदस्यमा  एक तिहाइ महिला उपस्थिति पुर्याउन अझै धेरै थप्नुपर्ने आवश्यकता छ । विधान नै सोहीअनुसार बनाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । जनयुद्धको लडाइँको मोर्चामा ४० प्रतिशत महिला सहभागिता थियो । माओवादी सेनामा धेरै महिला भएकै कारण २०५८ पछि सेनाले ५ प्रतिशत महिला राख्न थालेको हो । तर कार्यालयमा मात्र सीमित पारियो । 

र... महिला हिंसाविरुद्ध
निर्मला हत्या प्रकरण अहिलेको बहुचर्चित प्रकरण हो । हामीले सदनमा पनि कुरा उठायौं । महिलाहिंसा विरुद्ध सार्वजनिक महत्वको प्रस्ताव पनि पेश गर्यो, पास भयो । सदनमा विशेष समय र नियमित समयमा पालोअनुसार बोलिरहेका छौं । अन्तर्पाटीका महिला मिलेर पत्रकार सम्मेलन पनि गर्यौ । एकपछि अर्को गर्दै हजारौं निर्मलाहरु बलात्कृत हुने अवस्था सिर्जना भइरहेको छ ।  यसरी हेर्दा पहिला थिएन, अहिले बढेजस्तो देखिने भए पनि पहिलादेखि नै समाजमा भइरहेको घटनामा अहिले चेतनास्तर बढेसँगै घटनाहरु बाहिर आउने क्रम बढेको हो । 

महिला हिंसा अन्त्यको लागि सबै सक्रिय हुनुपर्छ । पुलिस प्रशासनले यसकै लागि पनि अभियान चलाउनुपर्छ । प्रत्येक स्थानीय तहले महिला हिंसाका सबै स्वरुपविरुद्ध अभियान चलाउनुपर्छ । अभियानसँगै चेतनास्तर बढाउनेदेखि महिलाहरु आफैले पनि प्रतिकारात्मक मनोविज्ञानको विकास गर्नेजस्ता कार्यहरु आवश्यक देखिन्छ । नेपाली समाजमा बाबुद्वारा छोरी बलात्कृत, नातिद्वारा हजुरआमा बलात्कृत हुनेजस्ता सुन्नै नसकिने महिला हिंसाका घीनलाग्दा स्वरुपहरु देखिएका छन्, त्यसका लागि मानवीय चेत सुधार्नेदेखि दोषीमाथि कडा सजाय गर्नेसम्मका कामहरु गरिनुपर्छ । महिला अधिकारकै निम्ति पनि हामी आन्दोलित हुँदै आएका हौँ । पार्टीमा अहिले युद्धबाट आएका धेरै महिला निष्क्रिय छन् । धेरैको अवस्था बिजोक छ । यस्ता समस्यालाई संस्थागत रूपमा हल गर्नु पदर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै