• २०८१ बैशाख ७ शुक्रबार

जसले सानैमा डाक्टर/पाइलट हैन, नामी कलाकार बन्ने सपना देखे !    

kharibot

जीवन थापा

काठमाडौं । सानो उमेरका जो कोहीलाई भोलि के बन्ने ? भनेर सोध्यो भने सहजै उत्तर आइहाल्छ – डाक्टर÷पाइलट या इन्जिनियर बन्नेछु ।

त्यसैले त भनिन्छ सपनाको कुनै धरातल हुँदैन र हेरिँदैन पनि । नभए पारिवारिक पृष्ठभूमि जस्तोसुकै होस्, हरबालबालिकाको सपना, भविष्यको लक्ष्य प्रायः एउटै हुँदैनथ्यो ! तर फिल्म स्क्रिप्ट राइटर, नायक तथा निर्देशक जीवन थापाको हकमा यो लागू भएन । उनले डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपना नै देखेनन् । सानैमा उनको मनमस्तिष्कमा भविष्यमा नामी कलाकार बन्ने र कलाकारितामै रमाउने जीवनको अभिलाषा बन्यो । 

२०५० चैत १५ मा भोजपुरको याकु अरुण गाउँपालिकामा बाबु खण्डमान थापा र आमा सरस्वती थापाको कोखबाट जन्मेका उनी उमेरको हिसाबले भर्खरका छन् ।  अल्लारे उमेरका यी भोजपुरे लेखक तथा कलाकार थापा सानै उमेरमा ठूलो उपलब्धि हासिल गर्न सफल भइसके । सपना पछ्याउनेहरुका लागि थापा एउटा उदाहरण हुन्, जसले लगनशीलताले आफ्नो भविष्य निर्माण गर्नसक्छ । थापाले कलाकारितामै डिप्लोमा सकिसकेका छन् भने दुई दर्जन म्युजिक भिडियो र आधा दर्जन फिल्ममा प्रस्तुति दिइसकेका छन् । 

उनी कलाकारितामा लागेकै १२ वर्ष भइसक्यो । सानैदेखिको सोख पूरा भएकामा उनी दंग छन् । यसका लागि उनले काठमाडौंमा गरेका दुःख, बिताएका कठिनतम समय सबै बिर्सेका छन् । उनको लेखन र अभिनय रहेको ‘खुल्ला आकाश’ फिल्म अहिले सम्पादनको क्रममा छ । सफलता पाउन इच्छाशक्ति सबैभन्दा ठूलो कुरा सोच्ने जीवन अहिलेसम्म कलाकारिता क्षेत्रमा आफूले पाएको उचाइ यसकै उपज ठान्छन् ।

कलाकारिता क्षेत्रमा उनको संघर्षका सारथि बन्न उनको परिवार, साथी वेदनाथ ढकाल र दिपक थापाले पनि उत्तिकै हातसाथ दिएका छन् । सफलता उनको भए पनि यसका अंशियार धेरै छन् । जो कोहीको हकमा लागू हुने कुरा हो यो । 

आधा दर्जन फिल्ममा प्रस्तुति दिइसकेका जीवनलाई खुल्ला आकाशमा नायकका रुपमा देख्न सकिन्छ । समसामयिक  विषयवस्तु र सामाजिक सद्भाव कायम राख्ने  विषयवस्तु समावेश यस फिल्मले इतिहास र समकालीन परिस्थितिको झझल्को दिन्छ । स्क्रिप्ट लेखन सुरु गरेका उनले यसको साँघुरो संसार, सानो बजार तथा फिल्म लाइनमा अध्ययन र सिकाइको अभाव रहेको अनुभव बटुलिसकेका छन् ।

त्यसो त नेपाली फिल्म क्षेत्रमा उनको आँखाले धेरै समस्या पहिल्याएको छ । धेरै खर्च गरेर फिल्म बनाउँदा डुब्न सक्ने सम्भावनाले निर्मातालाई भोलि घाटा हुने र आफूले चाहेका कुरा, लोकेसन र कथाले मागेका कुरा दिन नसक्नेजस्ता समस्या रहेको उनको बुझाइ छ । उनका अनुसार फिल्म क्षेत्र बुझेर भन्दा रहरले आउनेहरुको कारण पनि केही समस्या भएको हो । तर यसमा सुधार देखिन थालेको पनि उनलाई लाग्छ । फिल्म खेल्न विगतमा जस्तो राम्रो अनुहार, ज्यान परेको हुनैपर्छ भन्ने अहिले नभएको अनुभव छ उनको । दख्खल अभिनय गर्नेले फिल्म क्षेत्रमा फड्को मार्न सक्ने उनी बताउँछन् । 

उनी यही क्षेत्रमा भविष्य पोख्न चाहन्छन् । यसमा लागिपरेर आफ्नो क्वालिटीमा निखारता ल्याउने सोच पालेका उनी कलाकारहरुलाई देशको गहना मात्र हैन देशको अङ्ग ठान्नुपर्ने बताउँछन् । तर यसका लागि फिल्म क्षेत्रले पनि यसमा भएको विकृति÷विसंगतिमूलक अभ्यासहरुको अन्त्य गर्नुपर्नेछ भने यसभित्र रहेका माफियाको चलखेल निरुत्साहित हुनुपर्छ । कला, गला, लेखन र अभिनयको उत्कृष्टतालाई माफियाहरुले पैसासँग सौदाबाजी गर्ने गरेको दुःखेसो छ उनको ।

सामाजिक विषयवस्तुको प्राथमिकता नहुनु, छाडापनलाई खुल्लमखुल्ला अंगाल्नु, पैसाको चलखेल हुनु, राजनीतिको प्रवेश हुनु जस्ता कुराले उत्कृष्ट कलाकारितालाई ‘च्यालेन्ज’ गरेको उनको ठहर छ । 

यद्यपि हरेक क्षेत्रमा यस्ता समस्या हुने भएकाले उनलाई त्यससँग जुधेरै कलाकारिता गर्ने ढाडस मिलेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै