• २०८१ बैशाख ७ शुक्रबार

समाजवाद कि जनवाद : दोबाटोमा ओली-प्रचण्ड !

kharibot

काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका पूर्व एमाले र पूर्व एनेकपा माओवादीका दुई अध्यक्षबीचको सम्बन्धको भविष्यलाई लिएर अहिले व्यापक चासो व्यक्त गरिएको छ । पार्टी एकीकरण भइसकेपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष बने । उनीहरुको सक्रियताले नै दुई पार्टी एक भएको थियो । 

तर ओली र प्रचण्डले सैद्धान्तिक तगारोका कारण सम्बन्धमा रहिरहन नसक्ने हो कि भन्ने आशंका पैदा भएको छ। कहिल्यै मिल्न नसक्ने र एकअर्काप्रति विमति राखिराख्ने वरिष्ठ नेता माधव कुमार नेपाल र केपी ओली भने कहिल्यै छुट्न नसक्ने देखिएका छन् । यसलाई नेकपामा दिर्घकालिन रुपमा नयाँ बहस, विवाद र शक्ति संघर्षको विजारोपण भएको रुपमा लिइएको छ। 

यस्तो किन त ? के यो सम्भव छ र ? भन्नेजस्ता प्रश्न खेलाउनेहरु नभएका होइनन् तर भर्खरै सकिएको स्थायी समिति बैठकले पार्टीभित्र सैद्धान्तिक मार्गदिशाको बदलिँदो परिवेशभित्र नेकपाका नेताहरुको सम्बन्ध छुट्याउने बलियो संकेत दिएको छ । खासगरी समाजवाद कि जनवाद ? भन्ने विवादले नेकपाभित्र स्पष्ट दुई वैचारिक धारको स्थापना गर्न लागेको छ । पार्टी एकीकरणका बेला समाजवाद उन्मुख जनताको जनवाद पार्टीको तत्कालिन कार्यदिशा हुने सहमतिमा आएका दुवै पक्ष अहिले सार्वजनिक रुपमा अभिव्यक्त विचारले पार्टीमा समाजवाद कि जनवाद भन्ने विवाद रहेको प्रष्ट देखिएको छ।  

जनयुद्धबाट आएको पार्टीका नेताहरुले पूर्वएमालेले आफ्नै परिवेशभित्र उठान गर्दैै आएको जनवादलाई त्यति नरुचाएको सबैले देखेकै कुरा हुन् । त्यही कुरा देखिन थालेको छ, जसले ओली–नेपाललाई जनवादको ‘प्रतिरक्षा’ गर्न एकजुट भएर लाग्नुपर्ने देखिएको छ भने यसअघि नेपालकै निकटतम तर बौद्धिक छवि प्रस्तुत गरेका घनश्याम भुसालहरुलाई भने सच्चा कम्युनिष्ट बन्ने मोहकै कारण जनवादभन्दा ‘समाजवाद’कै पछि लाग्न बाध्य पारेको देखिन्छ । 

यसरी हेर्दा ओली र प्रचण्डको सहकार्यको भविष्य उज्यालो देखिदैन भने ओली र नेपालबीचको वर्तमान नदेखिए पनि भविष्यचाहिँ जनवादले जोगाउने देखिन्छ ।  यद्यपि यो समीकरण दिर्घकालसम्म चलिरहला भनेर यकिनसाथ भन्ने अवस्था भने छैन। नेपाल र ओली दुवै नेतालाई पूर्वअध्यक्ष मदन भण्डारीले स्थापना गरेको नेपाली मौलिकतासहितको परिमार्जित कम्युनिष्ट ‘फिलोसफी’ ‘जनताको बहुदलीय जनवाद’का रक्षक बन्नुपर्ने परिस्थिति देखिएको छ । ओलीको भुसालसँग बढ्दै गएको तिक्ततापूर्ण सम्बन्ध र प्रचण्डलाई जनवादसँग टाढिन चाहिएको निहुँकै समाधानस्वरुप भुसाल र प्रचण्ड समाजवादको रक्षक बन्ने देखिएको हो । 

नेकपामा बदलिएको राजनीतिक, वैचारिक र सैद्धान्तिक मार्गदिशाका यी दुई धार अब हुनेछन् । जसमा भुसाल, प्रचण्डहरु समाजवादको रक्षामा र ओली र नेपालहरु भण्डारीको ‘लिगेसी’ जोगाउन हरतरहको प्रयासमा लाग्नेछन् । विश्वका कम्युनिष्ट आन्दोलनकै एक स्वरुप या अंग मान्ने प्रचण्डलाई भण्डारीको ‘लिगेसी’ मुनि रहने भन्दा पनि नयाँ अवस्थामा नयाँ विचारका साथ अगाडी बढ्ने मुडमा देखिएका छन्। यसमा कहि न कही प्रचण्डको आफू नेपालको माओ त्सेतुङ बन्ने महत्वकाक्षा झल्किन्छ। यसको अर्को पक्ष पनि रहेको छ। प्रचण्ड ओली विरोधीहरुलाई एकत्रित गरेर पार्टीको सर्वेसर्वा हुन चाहन्छन। यो  उनले अहिले व्यक्त नगरेको तर काम र व्यबहार बाट देखिएको यथार्थ हो। 

अधिकांश पूर्वएमाले नेताहरु जनताको बहुदलीय जनवादलाई नेपाली परिवेशमा आवश्यक कम्युनिष्ट आन्दोलनको एउटा विशेष र महत्वपूर्ण राजनीतिक आयाम देख्छन् भने अधिकांश पूर्वमाओवादीहरु युद्धबाट सत्ता प्राप्तिको लक्ष्य लिएर हुर्किएको हुँदा जनवादमा खुम्चिनेभन्दा समाजवादमा फैलिन रुचाउँछन् । 

शक्तिआर्जनमा सशस्त्र युद्धको भूमिका महत्वपूर्ण मान्ने प्रचण्डलाई नेकपाभित्र केही लचकता अपनाएर भए पनि थोरै मात्र विचार मिल्ने नेताहरुको भए पनि साथ र सहयोग चाहिन्छ । सोही कारण ओलीसँग रुष्ट भुसाल, अष्टलक्ष्मी शाक्यहरुसँग समाजवादलाई आधारविन्दु मानेर आफू शक्तिशाली रुपमा उदाउन र पार्टीको सर्वशक्तिमान् बन्न प्रचण्डलाई प्रेरित गरिरहेको छ । त्यसो त नेकपाभित्र प्रचण्ड र ओलीलाई हेर्ने नेताहरुको दृष्टिकोण पनि अचम्मसँग प्रचण्डमैत्री देखिएको छ । सरकार चलाइरहेकाले पनि हुनसक्छ, ओली नेकपाका अधिकांश नेताको तारो बनेका छन् । तर प्रचण्डलाई यही परिस्थिति गज्जबको अवसर बनेको छ । सोही कारण आफूविरुद्ध खरो आलोचना गरिरहेका वामदेवलाई स्थायी समिति बैठकमा ओली रोक्न खोज्छन्, प्रचण्ड बोल्न दिन्छन् । 

वामदेवले दुई अध्यक्षविरुद्ध आफ्नै धारणा प्रस्तुत गरेपछि बैठकमा हंगामै भएको थियो । भलै दुवै अध्यक्षविरुद्ध नेता खनिए तर यसमा धेरै समस्यामा ओलीलाई पार्ने काम भयो । एमालेकै ओलीविरुद्ध असहमत र विपक्षी विचारधाराका नेताहरुलाई समेत आफूतिर आकर्षित गर्ने अवसर बन्यो प्रचण्डका लागि । यँहा निर पार्टी चलाउने नेतृत्वक्षमताका हिसाबले पनि प्रचण्ड ओलीभन्दा निकै अगाडि देखिए । पार्टी बैठकमा प्रचण्डले असन्तुष्ट पक्षलाई समेट्ने प्रयास गरेर तपाइँहरुको असली नेता म हुँ है भन्ने संदेश दिन सफल भए। 

युद्धाभ्यासबाट आएका प्रचण्डले पार्टी स्थापना गरेदेखि अध्यक्षता गर्न कहिल्यै छाडेनन् । सोही कारण उनले स्थायी समिति बैठकमा ड्याम ड्याम निर्णय गर्न नपाएको बताएका थिए । तर ओली त भर्खरै एमालेभित्र गुटगत फाइदा उठाउँदै महाधिवेशनद्वारा अध्यक्ष चुनिएका हुन् । त्यसकारण पनि ओली चतुर अवश्य छन् तर नेतृत्व क्षमता देखाइरहन उनलाई बलिया नेताहरुको साथ अवश्य चाहिन्छ। 

तर अब १० वर्ष युद्धकालीन अवस्थामा समेत पार्टीलाई एकजुट पारेर नेतृत्वक्षमता दिनसक्ने प्रचण्डको आगमनपछि वैचारिक र सैद्धान्तिक आधारलाई लिएर ओली र प्रचण्डबीच मतवैविध्य देखिने निश्चित छ । बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गर्दै जनवाद स्थापना गर्ने कम्युनिष्ट बन्ने कि विश्वव्यापी रुपमा चीन, उत्तर कोरिया, क्युबा, रुसजस्ता कम्युनिज्म जोगाइरहेका देशले अवलम्बन गरिआएको समाजवादलाई स्वीकार्ने भन्ने विवादले नेकपामा नेताहरुबीच अनौठो संयोग र सम्बन्धको स्थापना गर्नेछ ।

वर्तमान समयमा सरकारको तिब्र आलोचना भइरहेको अवस्थामा अध्यक्ष ओली पक्षका र विपक्षका संगठित हुने र यसै बहानामा विचारलाई अगाडी ल्याएर ओली र प्रचण्डबीच शक्ति संघर्षको नयाँ द्वन्द सुरु भएको अनुमान गरिएको छ। यसमा प्रचण्डको रणनीति सबै तिरबाट आफ्ना प्रतिष्पर्धीहरुलाई आक्रमण गरिरहने र उपयुक्त मौकामा सत्ताको बागडोर आफ्नो हातमा लिने देखिएको छ भने प्रधानमन्त्री समेत रहेका ओली सरकारको परिणाममुखी काम देखाउन नसक्दा अलि बढी डिफेन्सिभ देखिएका छन्। यस परिस्थितिमा समाजवाद र जनवादको वैचारिक लडाई जँहा पुगे पनि हाल सत्ता संचालन गरिरहेका ओलीका आउदा दिन आफ्ना पार्टी भित्र त्यति सहज हुनसक्ने देखिदैन।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै