• २०८१ बैशाख ८ शनिबार

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

kharibot

रुपन्देही । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । 

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । 
प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए । 

मन्त्रीपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ । सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ । 

त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै