• २०८१ बैशाख ७ शुक्रबार

चन्द्रमाको अहिलेसम्म पश्चिमा देश नपुगेको स्थानमा चीन पुग्यो

kharibot

चन्द्रमाको टाढाको स्थानको दृश्य । यो तस्बिर चीनले प्रक्षेपण गरेको चांग इ ४ नामक यानले उक्त सतहमा अवतरण गरेपछि खिचेको हो । तस्बिर : चाइना नेशनल स्पेस एडमिनिस्ट्रेसन/सिन्ह्वा/एपी/न्युयोर्क टाइम्स

काठमाडौं । बिहीबार चीनले अन्तरिक्ष अनुसन्धानमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । चन्द्रमाको अहिलेसम्म कुनै अन्य देश नपुगेको भागमा आफ्नो यान अवतरण गराउन सफल भएसँगै चीनले यस्तो सफलता पाएको हो । 

उक्त भाग पृथ्वीबाट देखिने भागभन्दा विपरीतको भाग रहेको बताइएको छ । चीनले यसलाई चन्द्रमासम्बन्धी मानव अन्वेषणकै कोशेढुंगा भनेको छ । चीनको स्पेस एजेन्सीले आफ्नो वेबसाइटमा यसको पुष्टि गरेको एजेन्सीहरुले जनाएका छन् । चांग इ ४ नामको चाइनिज मिथोलजीमा चन्द्रमादेवीको नामले परिचित उक्त यान सफलतापूर्वक चन्द्रमाको टाढा भागमा अवतरण गरेको हो । 

यसअघि चीनले सन् २०१३ मा रोभर चन्द्रमाको सतहमा अवतरण गराएको थियो । जुन अमेरिका र सोभियत युनियन (हाल रुस)पछिको तेस्रो राष्ट्र भएको थियो । 

उक्त यानले चन्द्रमाको अहिलेसम्म नदेखिएको ठाउँको तस्बिर समेत पृथ्वीमा पठाएको छ । यानले क्वेक्वियाओ नामको स्याटेलाइट प्रयोगद्वारा उक्त तस्बिर पृथ्वीसम्म पठाएको हो । 

पछिल्लो समय चीनले अन्तरिक्ष अनुसन्धानमा द्रुतगतिको सफलता प्राप्त गरेको भन्दै कतिपय विज्ञहरुले उसले अमेरिका र रुसलाई समेत पछि पार्नसक्ने बताएका छन् । चीनले २०२२ सम्ममा आफ्नो तेस्रो अन्तरिक्ष स्टेसन स्थापना गर्ने समेत योजना बनाएको छ भने मंगलग्रहमा समेत आफ्नो अध्ययन अनुसन्धान विस्तार गर्ने योजना बनाइसकेको छ । 

चिनियाँ यानले पठाएको चन्द्रमाको टाढा र पुरानो तथा गहिरो भागको तस्बिरले चन्द्रमा कसरी संरचित भयो भन्ने पत्ता लाग्न सक्ने समेत बताइएको छ । 

कतिपय वैज्ञानिकहरुले त उक्त क्षेत्रमा बहुमूल्य धातु तथा खनिजपदार्थको खानी नै खानीयुक्त हुनसक्ने समेत बताएका छन् । 

उक्त यान दक्षिणपश्चिम चीनको सिजांग प्रान्तबाट डिसेम्बर ८ मा प्रक्षेपण गरिएको थियो । त्यसको २२ दिनपछि गत आइतबार चन्द्रमाको तल्लो कक्षमा पुगेको थियो । 

चन्द्रमाको दक्षिण ध्रुवनजिक रहेको १ सय १० माइल फराकिलो भित्री क्षेत्र भोन कार्मान भन्ने क्षेत्रमा यो अवतरण गरेको बताइएको छ । मुख्य अवतारक यन्त्रले ३०० पाउण्ड तौलको रोभर त्यहाँबाट निकाल्नेछ र अनुसन्धान गर्नेछ । त्यसभित्र क्यामरा, राडारलगायतका अनसन्धानमैत्री मेसिनहरु समावेश छन् । 

त्यस्तै उक्त यन्त्रले शारीरिक परीक्षण समेत गर्नेछ जसले कुनै बीज उमार्न सकिने नसकिनेबारे थाहा हुनेछ । त्यस्तै अण्डाबाट जीव निकाल्न सकिने नसकिनेबारे पनि परीक्षण गर्ने बताइएको छ । 

पृथ्वीसँग सिधै सञ्चारसम्पर्क गर्न असम्भव उक्त चन्द्रक्षेत्रसँग जोडिन चीनले रिले स्याटेलाइट प्रक्षेपण गरेको थियो, जसले अहिले उक्त क्षेत्रको तस्बिर पृथ्वीसम्म पठाउन सफल भएको हो । 

सन् २०१८ मा चीनले सबैभन्दा बढी ३८ वटा रकेट प्रक्षेपण गरेको थियो । त्यसमध्ये एउटा अक्टोबरमा असफल भएको थियो । त्यस्तै चीनले यही वर्षको अन्त्यतिर चांग इ ५ नामक अर्को यान चन्द्रमामा पठाउने तयारी गरिसकेको छ । 

  • न्युयोर्क टाइम्स/बीबीसीलगायतका एजेन्सीहरुको समाचारका आधारमा । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै