• २०८१ बैशाख ८ शनिबार

सरकारलाई मिनेन्द्र रिजालको प्रश्न- धरहरा पुनर्निर्माणका लागि उठाएको पैसा कहाँ छ ?

kharibot

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद डा. मिनेन्द्रप्रसाद रिजालले  भूकम्पपछिको पुनर्निर्माणका लागि दूरसंचार सेवामा थप एक प्रतिशत शुल्क संकलन गरी उठाएको रकमबारे सरकारको जवाफ माग गरेका छन् । 

भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोडसहित दूरसंचार सेवा प्रदायक कम्पनीले २ अरब ५० करोडभन्दा बढी रकम सरकारलाई बुझाएको भन्दै पुरातात्विक महत्वका संरचना पुनर्निर्माणका लागि उठाएको पैसा कहाँ छ ? भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘नारामा खुब मेरो धरहरा मै बनाउँछु भनेर डंका हाकिएको छ, तर त्यो बेला उठेको पैसा, भूकम्पपछिको पुनर्निर्माणका लागि उठाइएको पैसा कता पुग्यो ? सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउँछु ।’

सांसद राजेन्द्र केसीले तत्कालीन अर्थमन्त्री रामशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२-७३ को बजेटमा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नका लागि ‘हाम्रो धरोहर हाम्रो दायित्व’ अभियान सञ्चालन गर्ने र राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै कोष निर्माण गरी दूरसञ्चार संस्थानबाट संकलित एक प्रतिशत रकम जम्मा गर्ने र पुनर्निर्माणमा लगाउने भन्ने विषयबारे सरकारको ध्यानाकर्षण गराए ।

उनले त्यो कोषको अझै पनि व्यवस्था नभएको भन्दै यसबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै