• २०८१ बैशाख ७ शुक्रबार

महानगरले चासो नदिँदा काठमाडौँ भ्यु टावर निर्माण चार वर्षदेखि अलपत्र

kharibot

काठमाडौं । पाँच वर्षमै निर्माण सम्पन्न गरिसक्ने भनी बनाउन सुरु गरिएको काठमाडौँ भ्यु टावर अलपत्र परेको छ । पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारी २२ तले भ्युटावर निर्माण गर्न सुरु गरेको ४ वर्ष पूरा भइसक्दा निर्माणको काम भने शून्य अवस्थामै रहेको छ ।

भ्युटावर निर्माणको लागि काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ स्थित पुरानो बसपार्कमा २३ रोपनी ५ आना जग्गा छुट्याइएको थियो । बहुउद्देश्यीय भवन निर्मााण गर्ने निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लि.सँग सम्झौता भएको थियो भने पाँच वर्षमै भवन निर्माण गरिसक्नुपर्ने थियो । तर उक्त सम्झौता भएको चार वर्ष बित्दा पाँच वर्षमा निर्माणकार्य सम्पन्न गर्ने भनिएको भवन अलपत्र रहनपुगेको छ । 

उक्त अत्याधुनिक भवन ३ तलाको सुविधासम्पन्न पार्किङसहित २२ तलाको हुने सहमति भएको थियो । भवन निर्माण सुरु गर्ने सहमति २०७१ सालमै भए पनि २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २२ तले भवन १२ तलाको मात्रै बनाउने भनी पुनः निर्णय भएको थियो । उक्त भवनको १२ तलाको नक्सा समेत पास भइसकेर ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते  उपराष्ट्रपतिबाट भवनको शिलान्यास समेत गरिएको थियो  । 

५ वर्षमा निर्माण सम्पन्न  हुने गरी काम सुरु गरेको भए पनि हालसम्ममा कुनै प्रगति देखिएको छैन । काठमाडौँ महामनगरले भवन निर्माण समयमै सक्न अनुगमन, नियमन र निर्देशन नदेखाउँदा राजधानीको मुटुमै विकास निर्माणका काममाथि गम्भीर लापरबाही भएको महानगरकै एक स्रोतले खरीबोटसँग बतायो ।

स्रोतका अनुसार भवन निर्माणका लागि महनगरले आवश्यक नियमन र निर्देशनको काममा तदारुकता देखाएको भए काम समयमै हुनसक्थ्यो । महानगरले नै वास्ता गर्न छाडेपछि महत्वपूर्ण काममा गम्भीर लापरबाही भएको हो । सार्वजनिक निजी साझेदारीमा ४ वर्षअघि निर्माण सुरु गरेको भ्यु टावर ३० वर्षपछि काठमाडौँ महानगरलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । 

यसैबीच, काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लि.सँग सहमति भए पनि काम पूरा नभएकाले सम्झौता रद्द गर्नेबारे छलफल चलिरहेको जानकारी दिए । उनका अनुसार यसबारे निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्ने वा कुन किसिमबाट जाने भन्ने विषयमा छलफल भएको र यो महिनाभित्रै के गर्ने भन्ने निर्णय हुनेछ ।

महानगर र निर्माणकम्पनीबीच भएको सम्झौताअनुसार काम नभएको डंगोलले बताए । उनले भने, सम्झौताअनुसार निर्माण कम्पनीले काम गरेको देखिँदैन निर्माणको लागि के गर्ने भन्ने कुराको छलफल अन्तिम चरणमा पुगेको छ । के कारणले निर्माण समयमै नसकिएको हो, यसबारे धारणा राख्ने मौका दिएर सम्झौता रद्द गर्ने कि निरन्तरता दिने हो टुङ्गो लाग्छ । तीन वर्षसम्म महानगर चुप लागेर बसे पनि अब भने चुप नलाग्ने उनले स्पष्ट पारे । 

भूकम्पपछिको सम्झौताअनुसार ३ तला सुविधासम्पन्न पार्किङयुक्त, सपिङ्ग सेन्टर, बैँक, स्विमिङ पुल, सूचनामूलक डिस्प्ले, कफी शप र अग्लो टावरबाट सम्पदा सँगसँगै आधुनिक सहरको झल्को दिने गरी निर्माण गरिने बताइए पनि अहिलेसम्म काम नहुँदा अलपत्र परेको छ । निर्माणको चार वर्षसम्म अलपत्र छाड्ने कम्पनीको काममा महानगरले समेत वास्ता नगर्दा भ्युटावर निर्माणमा शून्य प्रगति भएको हो ।   

निर्माण लागत ३ अर्ब लाग्ने उक्त भवनको २०७० वैशाख २४ गते अख्तियारले भवन सम्झौताअनुसार जग्गाको ४० प्रतिशत क्षेत्रमा भवन निर्माण गर्न र ६०  प्रतिशत भाग खुल्ला राख्न तथा जमिनमुनि तीन तलाको पार्किङ्ग गर्ने गरी बनाउन निर्देशन दिएको थियो ।

त्यसअघि ०६९ मंसिर २८ मा अख्तियारमा ठेक्का प्रक्रिया मिचिएको, भवनको आवश्यकतै नभएको भन्दै उजुरी परेपछि रोकिएको थियो । निर्माण कम्पनीका मालिक मनोज भेटवालमाथि महानगरलाई पैसा तिर्नै बाँकी रहेको, कम्पनीसँग भवन बनाउने पैसा नभएकोजस्ता गुनासायुक्त उजुरी तत्कालीन लेखासमितिमा समेत परेको थियो तर समितिले ०७१ फागुन ४ मा काम अघि बढाउने बाटो खोलिदिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै