• २०८१ बैशाख ७ शुक्रबार

दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु

kharibot


ललितपुर ।  ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षात्को पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । 

ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका लागि आयोजना सञ्चालनको योजना बनाएका हुन् । कूल रु ४८ करोड लागत रहेको आयोजनाको काम आगामी चैतदेखि शुरु गर्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए  । 

आयोजनामा महानगरपालिका र निर्देशनालय दुवैले संयुक्तरुपमा काम गर्नेछन् । उनले भने, “महानगरपालिकाले आयोजना कार्यान्वयन गर्छ भने निर्देशनालयले प्राविधिकलगायतका सहयोग गर्नेछ ।” 

कुमारीपाटी, मङ्गलबजारलगायतका स्थानमा वर्षात्को समयमा पानी जम्ने गरेको प्रवक्ता महर्जनले बताए । पानी पसलभित्र पस्ने, सवारी डुब्ने हुँदा स्थानीयवासी, व्यापारी, सवारी चालकलगायत हैरान हुँदै आएका थिए । वर्षात्को पानी व्यवस्थापनसँगै मेलम्चीको पानी भित्रिएपछि ठूलो परिणाममा निस्कने फोहर पानी व्यवस्थापन हुने उनले बताए । 

आयोजना सञ्चालनका लागि महानगरले टोल सुधार समितिसँग छलफल गरिरहेको छ । उनले भने, “आयोजना निर्माण सकिएर सञ्चालनमा आउँदा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको समस्या पूरै हट्नेछ ।” 

आयोजनाको लागतमध्ये ८० प्रतिशत निर्देशनालय र बाँकी २० प्रतिशत महानगरपालिकाले खर्च गर्ने महानगरपालिकाले गर्नेछ । आयोजनाको अवधि १८ महीना रहेको महानगरपालिकाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै