• २०८१ बैशाख ६ बिहीबार

लेखनबाटै जसोतसो दाल-भात खाइरहेको छु : मीनराज वसन्त

kharibot
  • लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका बाग्लुङका लेखक मीनराज वसन्तले वैदेशिक रोजगारीको क्रममा तीन वर्ष कतारमा रहँदा आफूले देखे-भोगेको अनुभवलाई २०७३ मा प्रकाशित 'मुदिर' उपन्यासमा उतारे । पाठकहरूमाझ निकै चर्चा बटुलेको उनको पहिलो उपन्यासले वर्ष २०७३ का गणेश हस्त कुमारी पन्त स्मृति पुरस्कार, अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार र निलकन्ठ नवोदित प्रतिभा पुरस्कार समेत हात पार्यो । अहिले काठमाडौंमा बस्दै आएका लेखक वसन्त आफ्नो दोस्रो उपन्यास प्रकाशनको तयारीमा छन् । फिनिक्स बुक्सले यही वर्षभित्र नै उनको उपन्यास सार्वजनिक गर्दै छ । प्रस्तुत छ उनको साहित्यिक यात्रा र प्रकाशोन्मुख पुस्तकमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :

मुदिर’प्रकाशित भएको पनि २ वर्ष बितिसकेको छ । पहिलो उपन्यासबाट के-कस्ता प्रतिक्रिया पाउनुभयो ?

'मुदिर' प्रकाशनको यो अवधि सन्तोषजनक नै छ । 'मुदिर'लाई लिएर मिश्रित प्रतिक्रियाहरू पाइरहेको छु ।

राम्रा प्रतिक्रिया आउँदा कस्तो महसुस गर्नुहुन्छ अनि नकारात्मक प्रतिक्रिया आउँदा कस्तो लाग्छ?

एउटा लेखक सकारात्मक प्रतिक्रिया पाउँदा निश्चितरूपमै खुसी हुन्छ । कहिलेकाहीँ त्यो अतिरिक्त ऊर्जाको स्रोत पनि बनिदिन्छ । जो, म पनि भएँ । तर, त्यो क्षणिक हुँदो रहेछ । विस्तारै बुझ्दै जाँदा लेखकलाई फाइदा पुर्‍याउने भनेको आलोचनात्मक प्रतिक्रियाले नै रहेछ ।

त्यसो त प्रशंसा वा आलोचना गुणग्राही हो कि होइन, कसले कसरी गरिरहेको छ भन्नेमा लेखक प्रष्ट हुनु राम्रो हुन्छ । अतिशय प्रशंसा र अतिशय आलोचना यी दुवै अर्का 'अति' हुन् भन्ने मलाई लाग्छ । यदि सन्तुलित आलोचना हो भने त्यो 'नीम' हो । तीतो भए पनि लेखकको स्वास्थ्यलाई एकदम फाइदाजनक ।

तपाईंको नयाँ पुस्तक कहिले पढ्न पाउँछन् पाठकले ? अब आउने पुस्तक कस्तो हुनेछ ?

सबै कुरा अनुकूल भयो भने यो वर्ष पुस्तक आउला कि ! विधागत रूपमा त्यो उपन्यास हुनेछ । बाँकी त पुस्तक पढेपछि नै जाँच्नेछन् पाठकले । तर, हेर्नुस् न ! केही प्रस्तावित नामबाहेक निश्चित नाम जुराएको छैन ।

‘मुदिर’ प्रकाशित गर्दा तपाईं एउटा नवलेखक हुनुहुन्थ्यो । अहिले लेखनमा स्थापित भइसक्नुभएको छ । त्यो बेला र अहिले पुस्तक प्रकाशन गर्दाको अनुभव कस्तो रह्यो ?

हो, तपाईंले भन्नु भएजस्तै 'मुदिर' प्रकाशन गर्दा म बजारका लागि नयाँ लेखक थिएँ । कतिपयका लागि म अझै पनि नयाँ नै हुँला । एउटा नयाँ लेखकले आफ्नो आर्थिक लगानी नलगाई, प्रकाशकले पाण्डुलिपि पढेर, चित्त बुझेर 'म छाप्छु' भनेपछि पुस्तक बजारमा आयो । नयाँ लेखकलाई यो भन्दा अरू खुसी के हुन सक्थ्यो र ! यसरी सरसर्ती हेर्दा नयाँ लेखक भएर पनि मैले त्यति धेरै समस्या झेलिन । तर, प्रकाशनसँग जोडिएको एउटा नमीठो अनुभवचाहिँ छ ।

एक जना प्रकाशक थिए, चिनेजानेकै । उनले 'पाण्डुलिपि पठाऊ, म हेरेर भन्छु' भनेपछि मैले उनलाई मेल गरेँ । तर, नौ महिना बितिसक्दा पनि कुनै जवाफ दिएनन् । छाप्छु वा छाप्दिन पनि केही भनेनन् । 'पढ्दै छु, हेर्दै छु' भने । नियमित 'फलो' गरिरहेँ मैले । यस्तैमा एक दिन उनले 'फलानो'लाई पढ्न दिएको छु भने । उनले जसको नाम लिएका थिए, ती व्यक्ति पनि चिनजानकै थिए । मैले उनलाई सोध्दा, आफूले कुनै पाण्डुलिपि नपढेको बताए । त्यसपछि मलाई लाग्यो, मैले अर्को विकल्प खोज्नैपर्छ । फलतः विकल्पले पनि राम्रै काम गर्‍यो । र, आज यहाँसम्म पुर्‍यायो ।

आजको समय ऊ बेलाभन्दा धेरै सहज छ । प्रकाशनकै कुरा गर्दा 'मैले छाप्न पाउनुपर्छ' वा 'हामीले छाप्ने हो' भन्नुहुन्छ । यसरी विश्वास गरेको देख्दा खुसी लाग्छ । अबका अवसर पनि मलाई आफैंमा चुनौती हुन् भन्ने लाग्छ । गज्जब छ ।

पहिलो उपन्यासमा आफ्नै अनुभवसँग जोडिएको वैदेशिक रोजगारीको विषयलाई उठाउनुभएको थियो । तपाईंलाई लेख्नका लागि के-कस्ता कुराहरूले छुन्छन्?
मेरो बुझाइ छ कि, लेख्ने मान्छेले आफ्ना अनुभवहरू बलियोसँग लेख्न सक्छ । प्रतिनिधि पात्र फरक होला, परिवेश फरक होला । तर अनुभव त उही र उस्तै हुन सक्छन् । 'मुदिर'मा मैले त्यही गरेको हुँ । अब यिनै कुराले छुन्छन् र लेख्छु भनिहाल्न चाहिँ म सक्दिन । कहिलेकाहीँ अरूलाई नछोएका कुराले आफूलाई छुन्छ । र, लेख्न मन लाग्छ । यसरी लेख्दा ती कहिले कथा बन्छन्, कहिले कविता वा निबन्धमा अटाउँछन् । जेहोस्, मलाई अति सामान्य र ससाना कुराले छुन्छ ।

तपाईंको लेखनका क्रममा पात्रहरूसँग कसरी खेल्नुहुन्छ? अगाडि नै कथा तयार पारेर लेख्नुहुन्छ कि लेख्दै जाँदा ‘प्लट’ बन्दै जान्छ?
एकदम भद्रगोल हुन्छ मेरो लेखाइ । म प्रायः मोबाइलमै लेखिरहेको हुन्छु । देख्नेहरूले खालि 'मोबाइलमै झुण्डिरा'छ, फेसबुक चलाइरा'छ पनि भन्छन् । 'मुदिर' लेख्दा एउटा खाका बनाएर लेखेँको थिएँ । त्यहीअनुसार पात्रसँग खेलेँ । प्लट पनि स्वत: बन्दै गयो । समाप्ति पनि अनपेक्षित नै भयो । तर, दोस्रो पुस्तकमा त्यो शैली फेरौं कि भन्ने लाग्यो । त्यसैले लेख्न सुरु गर्नुअघि त्यसको 'एन्डिङ' सोचेँ । पात्र र प्लट भने आफैं बन्दै गए । बीच-बीचबाट लेखेँ कथा पनि । पछि त्यसको मूल कथासँग 'कनेक्सन' गराउँदा अलिअलि समस्या भयो । र पनि मजा आयो । नयाँ अनुभव भयो ।

प्रकाशोन्मुख उपन्यासबाट के-कस्ता अपेक्षा गर्नुभएको छ ?

लेखकको पहिलो अपेक्षा भनेकै धेरैभन्दा धेरै पाठकले आफ्नो पुस्तक पढिदिऊन् र लागेको प्रतिक्रिया जनाऊन् भन्ने नै हुन्छ । त्यसबाहेकका अरू 'अपेक्षा' तपसिलका हुन् ।

तपाईं अखबारी लेखनमा पनि अभ्यस्त हुनुहुन्छ, कविता पनि लेख्नुहुन्छ । उपन्यास लेख्नु, अखबारी लेखन लेख्नु र कविता लेख्नुका फरक अनुभूतिहरू के-के रहेछन् ?

मेरो अखबारी लेखन प्रायः आख्यानसँग नजिक हुन्छ । भन्नुको मतलब, आख्यानकै हिसाबले म लेख्छु । आख्यान गएर उता कवितासँग मिल्छ । अर्थात्, कवितामा हुने कला, शैली, काव्यिक भाव, त्यसको सम्प्रेषण भाव र सरलता आदि आख्यानमा पनि हामीले लेखिरहेका हुन्छौं । लेख्न खोजिरहेका हुन्छौं । त्यसकारण भनिन्छ होला, फलानोको उपन्यास पनि कविताजस्तो । यस हिसाबले हेर्दा लेखन प्रक्रिया लगभग उस्तै-उस्तै देख्छु म ।

मेरो हकमा लेखनले 'बाँच्न' मात्रै त पुगिरहेको छ । लेखनबाटै जसोतसो दाल-भात खाइरहेको छु ।

तपाईंलाई सबैभन्दा धेरै खुसी के कुराबाट मिल्छ? जीवनमा पूरा गर्न मन लागेका तीन इच्छाहरू भन्नुपर्यो भने के-के रोज्नुहुन्छ ?

हे...हे... । त्यो त ठ्याक्कै मलाई पनि थाहा छैन । मान्छे एउटै कुराबाट सधैं 'सबैभन्दा धेरै' खुसी भइरहन सक्दैन । समय, परिस्थिति र आवश्यकताअनुसार खुसीका फरक-फरक स्रोत भेटिन्छन् । त्यतै कतै हुन्छु होला म पनि । मान्छेलाई जीवनमा गर्न मन लागेका थुप्रै इच्छा हुन्छन् । ती जो, संख्यामा अट्दैनन् । तपाईको यो प्रश्नले धेरैबेर अल्झायो । तर, उत्तर दिनुपर्दा म फोटोग्राफीको सौखिन मान्छे हुँ । अत: एउटा गतिलो क्यामेरा बोक्ने इच्छा छ । त्यसपछि एउटा आफूले सोचेजस्तै पुस्तकालयसहितको घर र केही देश घुम्ने ।

लेख्नका लागि पढ्न पनि उत्तिकै आवश्यक पर्छ भनिन्छ । तपाईंलाई कस्ता पुस्तक बढी मन पर्छन्? आफूले पढेका पुस्तकले लेखनमा कत्तिको प्रभाव पार्छन् ?

लेख्नका लागि मात्रै होइन, ज्ञान र जानकारीका लागि पनि सबैले पढ्नुपर्ने हुन्छ । पठनले धेरैकुरा सिकाउँछ । सोचको दायरा फराकिलो बनाउँछ । लेखकले आफू कहाँ छु, के लेखिरहेको छु, साहित्यमा मेरो उपस्थिति कहाँनेर छ भनेर आफ्नो धरातल पत्ता लगाउन पनि पठन अत्यावश्यक छ । मलाई सबैभन्दा बढी सफल/असफल व्यक्तिहरूका आत्मकथा (जीवनी) पढ्न मन पर्छ ।

त्यसले एकखालको प्रेरणा, संघर्षका लागि पर्याप्त आत्मबल, सफलता पछाडिको रहस्यबारे धेरै कुरा बोल्छ । नेपाली आत्मकथामा इमानदारिता हुँदैन । केही पुस्तक पढेपछिको मेरो निष्कर्ष हो यो । त्यसपछि रुचिअनुसारका अरू पुस्तक पढ्छु । प्रभाव अर्थात् प्रेरणा । जीवनमा राम्रा व्यक्तिको प्रभाव त पर्छ भने पुस्तकको प्रभाव पर्नु कुनै नौलो कुरा होइन । कतिपय पुस्तक, फिल्म पनि प्रभावकै कारण लेखिएका/बनेका छन् । यसकारण मेरा सिर्जनामा पनि प्रभाव नपर्ला भन्न सक्दिन । अहिलाई यत्ति भन्छु, म आफैंबाट प्रभावित छु ।

नेपालमा लेखेर बाँच्न पुग्छ? व्यापारको हिसाबले कस्तो पाउनुभएको छ अहिलेको साहित्य बजार?

मेरो हकमा लेखनले 'बाँच्न' मात्रै त पुगिरहेको छ । लेखनबाटै जसोतसो दाल-भात खाइरहेको छु । हाम्रो नेपाली साहित्यको बजार सानो छ । तर पनि हप्तामा दुई-चार पुस्तक प्रकाशित हुन्छन् । एकातिर पाठक कम छन् । अर्कोतिर सबैले पुस्तक किनेर पढ्न पनि सक्दैनन् । 'बुक शेयरिङ' हुन्छ । यसले गर्दा कम बिक्री हुन्छ । बिक्री कम हुनुको मतलब लेखकको 'लेखकस्व' पनि घट्नु हो । केही लेखक पूर्णकालीन लेखनमा लागिरहेका छन् । लेखनबाटै राम्रो गरिरहेका छन् । त्यही लाइनको अन्तिमतिर उभिएको एउटा अर्को मान्छे हुँ म ।

भविष्यका योजनाहरू के छन् तपाईंका? केही ‘टार्गेट’ र ‘गोल’हरू छन् कि?

म एकदम योजनाविहीन मान्छे । त्यस्तो खासै केही छैन । कान्छो सन्तान भएका कारण पनि पारिवारिक हिसाबले स्वतन्त्र छु । अझै भन्नुपर्दा अव्यावहारिक जस्तो छु । अब विस्तारै लेखनमै समर्पित हुने कि भनेर सोच बनाउँदै छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै