चन्दा चौधरी : मूलधारको राजनीतिमा मधेशकी जनप्रतिनिधि

खरीबोट

राष्ट्रिय जनता पार्टीकी महासचिव चन्दा चौधरी वर्तमान संघीय प्रतिनिधिसभाकी समानुपातिक सांसद छिन् । २०३२ सालमा महोत्तरीको मोटीहानीमा जन्मिएकी उनी विवाहपछि सर्लाहीलाई कर्मघर बनाउँदै त्यहीँको राजनीतिबाट यहाँसम्म आइपुगेकी हुन् ।

त्यस्तै चौधरी नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष पनि हुन् भने २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा खेलकुद राज्यमन्त्री बनेकी उनलाई मूलधारको राजनीतिमा विभिन्न नेतृत्वदायी पदमा आउन कुनै कुराले रोक्न सकेन । परिवारमा चार दिदीबहिनी र एक जना दाजु मात्र थिए । उनका दाजु कांग्रेससँग निकट रहेका थिए ।  राजनीतिक दुष्मनी कै कारण दाजुलाई भारत लगेर मारियो ।

यो ०५४ सालको कुरा हो । त्यसपछि अहिलेसम्म दाजु नरेश चौधरीबारे अत्तोपत्तो छैन भने बुबाको मृत्यु भइसकेको छ । यसले राजनीतिमा आउन उनलाई केही सोच्न र डराउन बाध्य पारे पनि रोक्नै भने सकेन । उनको राजनीतिक यात्रा अगाडि बढ्यो । 

एकपटक त उनका दाजु कांग्रेसबाट निर्विरोध रुपमा गाँउको प्रमुख पनि भएका थिए।  ०४६ सालको आन्दोलन चर्किँदै गर्दा  चन्दा एसएलसीको तयारीमा थिइन् । तत्कालिन मधेशी समाजमा महिला एक्लै बाहिर  निश्कने वातावरण नभएकै कारण परीक्षा दिन पाइनन् । पछि उनले भारतबाट एसएलसीसरहको परीक्षा पास गरिन् । उनको माइती भारतसँगको सीमाक्षेत्रमा पर्छ । आन्दोलनकै बीच उनी दाइलाई खाना पुर्याउन लुकेर जान्थिन्, जसले राजनीतिसँग जोडिन उनलाई निकै सहज भयो । १२ वर्षको मिहिनेत र दाइ अनि बुबाको योगदानले यहाँसम्म आइपुगेको उनी बताउँछिन् । 

आफूलाई एक सामाजिक कार्यकर्ता भन्न रुचाउने चौधरीलाई कुनै समय परिवार नै राजनीतिमा बर्बाद भएका कारण राजनीतिप्रति वितृष्णा नजागेको होइन । उनका बुबा प्रधानपञ्च बनिसकेका र दाइ कांग्रेस राजनीतिमा संलग्न भएका कारण केही हदसम्म राजनीति बुझ्न पाएकी उनी उनी सद्भावना पार्टीमा लागेर सक्रिय भइन् । यो पार्टीबाटै उनको राजनीतिक सक्रियता बढेको हो । ०६२÷०६३ को आन्दोलनमा समेत सक्रियतापूर्वक लागेकी चौधरी पछि फेरि मधेशका पुराना नेता महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी खोलेपछि त्यसमा सक्रिय भइन् । तमलोपामा ३÷४ महिनामा १८ जिल्लामा महिला संघको विस्तार गर्न सफल भइन् ।

प्रदेश १, २, ५ र ७ नम्बर प्रदेश कञ्चनपुरदेखि झापासम्म महिला संघको सञ्जाल विस्तार भयो । 

तराई मधेश महिला संघको संस्थापक अध्यक्ष बन्न सफल चौधरीलाई यही मिहिनेतले ०६४ सालमा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत हुने अवसर मिल्यो । पार्टी सँगसँगै विभिन्न महिलासँग सम्बन्धित संस्थामार्फत समेत सामाजिक क्षेत्रमा सक्रिय चौधरीले महिला सशक्तीकरण, महिला आयआर्जन, सिलाइकटाइलगायतको तालिमहरु दिने, नेतृत्व विकासको कार्यक्रमहरु गर्ने, वृद्धाहरुलाई सहयोग गर्ने, मधेशमा रहेका घुँघट, दाइजो प्रथाजस्ता विकृतिविरुद्ध लाग्ने महत्वपूर्ण कार्यक्रमहरु गरिन् । राजनीतिमा महिलाको सहभागिता रहे पनि संसदमा यो विषय महिलालाई दिऊँ र महिलाले नै कानुन बनाऊन् भन्ने अवस्था अझै नरहेको उनको संसदमा छिरेपछिको अनुभव छ । 

नेपाली महिलामा राजनीतिक चेतको विस्तार र पलाउँदै गरेको सामाजिक चेतका हिसाबले चौधरी सर्लाहीमा महिलाको अवस्था तुलनात्मक रुपमा  ठीकै रहेको बताउँछिन् । ०६७ मा काम गर्न जाँदा र अहिलेको अवस्था हेरेपछिको अनुभव हो यो उनको ।

एक महिला नेतृको हिसाबले उनी पनि अन्य सांसदजस्तै पार्टीभन्दा माथि उठेर महिलाको सवालमा कुरा गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘हामी कराउँदा पनि सरकार पक्षको महिला साथीहरु नबोलेको पनि अनुभव गरेँ ।’ प्रमुख प्रतिपक्ष, सत्ता पक्ष कसैले पनि संसदमा महिलाको विषयलाई अडान लिएर नउठाएको गुनासो छ उनको । जुनसुकै सरकारमा पनि यो पार्टीको भनेर सोचिहाल्ने प्रवृत्तिले यसो भएको चौधरीको बुझाइ छ । राष्ट्रिय विषय, विकास निर्माणका काम, बेरोजगारी, महिलाहिंसाको सवालमा पार्टीभन्दा माथि उठेर काम गर्न महिला सहकर्मीहरुलाई आग्रह गर्छिन् चौधरी । 

नेपाली महिलामा राजनीतिक चेतको विस्तार र पलाउँदै गरेको सामाजिक चेतका हिसाबले चौधरी सर्लाहीमा महिलाको अवस्था तुलनात्मक रुपमा  ठीकै रहेको बताउँछिन् । ०६७ मा काम गर्न जाँदा र अहिलेको अवस्था हेरेपछिको अनुभव हो यो उनको । विभिन्न कुप्रथाहरु अहिले धेरै हराएको, महिलाहरु पनि एक्लै हिँड्नसक्ने भएका छन् । तर आर्थिक समस्या भने अझै पनि जस्ताको त्यस्तै छ । महिलाहरु आत्मनिर्भर नहुँदा यस्तो देखिएको उनको बुझाइ र अनुभव छ । महिलाहरुमा पनि बिजनेस कन्सेप्ट विकास नभइसकेको बताउँदै चौधरी भन्छिन्, ‘त्यसमा राज्यको पनि दोष छ । राज्यले पनि शिक्षादेखि लिएर स्वास्थ्य, रोजगारी सबैबाट मधेशीलाई दबाएको छ ।’ पहिलेभन्दा धेरै सुधार भए पनि जिल्लामा छोरीलाई पढाउनुपर्छ भन्ने मानसिकता राम्ररी विकास भइसकेको छैन । हुनेखाने परिवारले पढाउनथाले पनि हुँदा खानेका लागि ५० प्रतिशत छात्रवृत्ति या अन्य कुनै राहत हुने कार्यक्रममार्फत भए पनि पढ्न प्रेरित गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । 

प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊ अभियान ल्याए पनि प्रभावकारी हुन नसकेको उनी बताउँछिन् । पढ्नभन्दा काम गराउन बढी ध्यान दिने परिवारका लागि चेतनाको प्रसारलाई प्राथमिकता दिनुपर्ने, कमजोर आर्थिक अवस्था भएका परिवारमा अभिभावकलाई पनि सरकारले सहयोग गरेर न्यून आर्थिक स्तरका बच्चाहरुलाई पनि स्कुलसम्म ल्याउनुपर्ने उनको भनाइ छ । दलित, मुस्लिम, डोम, मुसहर, चमार, राम, सरदारजस्ता गरिब परिवारलाई बढी महत्व दिनुपर्ने चौधरी बताउँछिन् ।

त्यसो त एउटा नेतृत्वकर्ताको भूमिका संसद, समाज र परिवारमा उत्तिकै महत्वपूर्ण हुने भएकाले जहाँ पुगे पनि जनसेवा छाड्न नहुने चौधरीको धारणा छ । सोही कारण पनि उनी संलग्न नेपाल–भारत महिला मैत्री समाजले सर्लाही, महोत्तरी, चितवन र धनगढीमा गरेर साढे ९ सय महिलालाई सिलाइ कटाइ र पार्लरका तालिम दिएको छ । प्राकृतिक प्रकोपको बेला पनि सहयोग गर्दै आएको तथा अलिअलि योगदान लक्षित वर्गसम्म पुग्छ कि भन्ने सोचले यस्तो कामलाई निरन्तरता दिइराखिएको उनी बताउँछिन् । 

देशको नयाँ संविधानले नै महिलाको ३३ प्रतिशत सहभागिताको कुरा सुनिश्चित गरेको र ठूला पदमध्ये महिलाको उपस्थिति अनिवार्य गरेकाले उनी ०६३ अघि र पछि अधिकारका दृष्टिकोणले उत्साह र प्रेरणादायी रहेको बताउँछिन् । उनी भन्छिन्, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाको उपस्थिति भन्ने कुरा ल्याइयो । यसले महिलाको क्षेत्रमा यो महिलाहरुको लागि राम्रो अवसर हो र यो प्रशंसनीय विषय पनि हो ।’  रोजगारीमा महिलालाई विशेष प्राथमिकता, छात्रवृत्तिमा ५० प्रतिशत छुट्याउनुपर्नेमा उनको जोड छ । हाल उनको पार्टी राजपाले आफूसँग गरेको प्रतिबद्धता इमानदार भएर पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने संघारमा रहेको छ । यसलाई चौधरी नैतिकताका हिसाबले सोच्न सरकारलाई आग्रह गर्छिन् । ‘संविधानमा अलिकति संशोधन गर्न तदारुकता नदेखाए सरकारलाई समर्थनको अर्थ नरहने’ उनी बताउँछिन् । 

महिला सांसद हुनुका बाबजुद उनी पार्टीले राख्दै र जोड दिँदै आएका मागहरुमा पनि गम्भीर छिन् । ‘रेशम चौधरीको मुद्दा, जेलमा आन्दोनकारीलाई राखेको विषय, महोत्तरी र धनुषा कारागारमा १ सय ५०  जनामाथि झूटा मुद्दा चलिरहेको छ, जुन आन्दोलन गर्दा हो । आन्दोलन गर्दा पुलिस प्रशाासन पनि मर्छ, जनता पनि मर्छ । त्यो मुद्दा त नलाग्नु पर्ने हो’, उनी भन्छिन् ।

‘हामीलाई न कोहीसँग पूर्वाग्रह छ, न कोहीसँग केही छ’, अनुसन्धानको क्रममा प्राप्त सूचना र तथ्यअनुसार रिपोर्ट आएको उनको भनाइ छ । तर लेखामा मत बाझिएपछि अझै उक्त रिपोर्ट समितिमा पारित हुनसकेको भने छैन ।

त्यसो त चौधरी लेखा समितिले वाइडबडी प्रकरणमा अनुसन्धान गर्न गठन गरेको उपसमितिकी सदस्य पनि हुन् । आफूहरुले अनुसन्धानका क्रममा उक्त प्रकरणमा सबै गडबड भएको पाए पनि ‘फुल समिति’ले निर्णय गर्नेमा उनी ढुक्क छिन् । तर लेखा समितिको छानबिनलाई नमानेर सरकार भने अर्कै आयोग गठन गरेर काउन्टर अनुसन्धानमा लागेको छ । २६ गते बनेको उपसमितिले १८ गते प्रतिवेदन पेस गरेको थियो । 

उक्त अनुसन्धानको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘जीवन शाही (पूर्व पर्यटनमन्त्र)सँगको कुरामा भन्नुभयो कि हामीले सम्झौता गरेको कम्पनी अर्कै हो, किनेको अर्कैसँग रहेछ । कुरै मिलेन तर अहिलेको मन्त्री रविन्द्र अधिकारीले लेखालाई सोधेर गरेँ भन्नुभयो । तर लेखाको चिफले फेरि आफूले भनेकै छैन, मसँग भेटेकै छैन भन्ने कुरा गर्नुभयो । यसले उहाँहरुको कुरा बाझियो । त्यहाँ पनि कुरा प्रष्ट भएन ।’

उनका अनुसार जे–जे आएको छ, अनुसन्धानको निष्पक्षतामा आएको छ । ‘हामीलाई न कोहीसँग पूर्वागही छ, न कोहीसँग केही छ’, अनुसन्धानको क्रममा प्राप्त सूचना र तथ्यअनुसार रिपोर्ट आएको उनको भनाइ छ । तर लेखामा मत बाझिएपछि अझै उक्त रिपोर्ट समितिमा पारित हुनसकेको भने छैन । आफूहरुको एउटै उद्देश्य सच्चाइ बाहिर आओस् र जनताले सत्य कुरा जान्न पाऊन् भन्ने रहेको उनको प्रष्ट धारणा छ । वाइडबडी प्रकरणमात्र नभई एनसेल, आयल निगम, हायात होटलका खरिदबिक्री प्रकरणहरुबारे पनि विस्तारै बाहिर आउने उनको भनाइ छ । यी प्रकरणका कर, बेरुजुबारे सबै सत्यतथ्य बाहिर आउनेमा उनी ढुक्क छिन् । 

सरकारमा महिलामन्त्री नदिइएको भन्दै उनी यसलाई पुरुषप्रधान मानसिकताको उपज ठान्छिन् चौधरी । स्थानीयस्तरमा पनि कानुनमै उल्लेख भएकाले मात्रै ४० प्रतिशत प्रतिनिधित्व भएको उनको दाबी छ । पार्टीगत हिसाबले उनको पार्टीभित्र पनि ३३ प्रतिशत पुर्याउनुपर्ने आवश्यकता छ । प्रदेश २ मा आफ्नै सरकार रहे पनि महिलाले अवसर नपाएको उनको गुनासो छ । ‘यस्तो सोच पार्टीभित्रै परिवर्तन गर्नुपर्छ’, उनी भन्छिन् । 

अहिले संसदको तेस्रो अधिवेशन सुरु भइसकेको छ भने सरकार पनि बहुमतको छ । यही अवसरको फाइदा उठाउँदै मधेशका मुद्दाको छिनोफानो गर्नुपर्ने उनको राय छ । ०६४ देखि दबाइएर राखिएको माग वर्तमान सरकारले पूरा गरेर साढे २ सय वर्षदेखि मधेशीमाथिको अन्यायलाई राज्यले न्याय गर्ने उपयुक्त मौका भएको सांसद चौधरीको भनाइ छ । 
पछिल्लो समय एकपछि अर्को गरी आइरहेका महिला, बालबालिका हिंसा तथा बलात्कारका घटनामा राज्य फितलो देखिएको उनको बुझाइ छ । निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्ने निकायले ४ महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुलाई उदाहरणका रुपमा लिँदै उनी भन्छिन्, ‘यो निकै दुर्भाग्य हो । पत्ता नलाग्नुपर्ने कुनै कारण नै छैन ।’ तर यस मामिलामा दोषी थाहा नहुनु रहस्यमय बताउँदै उनी अनुसन्धान गर्ने निकायकै कोही दोषी भएको हुनसक्ने आशंका उनको छ । प्रमाण नष्ट पार्ने काममा प्रहरीको सक्रियता देखिनुलाई दुर्भाग्य मान्दै उनी जिम्मेवार निकायको बेइमानपूर्ण काम भन्छिन् । ‘नभए त अहिलेसम्म निर्मला पन्तको हत्यारा र बलात्कारीलाई पत्ता लागिसक्थ्यो’, उनी भन्छिन् । 

यस्ता हत्या, हिंसा र बलात्कारका घटनालाई कमजोर कानुन हुँदाको प्रतिफल बताउँछिन् उनी । यस्ता जघन्य अपराधमा संलग्नलाई फाँसी नदिइँदासम्म बलात्कारजन्य घटनामा कमी नआउने उनको दृष्टिकोण छ । उनी भन्छिन्, ‘जब मृत्युदण्ड हुन्छ अनि यस्तो काम गर्न नहुने रहेछ भन्ने सोचको विकास हुनसक्छ ।’ त्यस्तै, कतिपय अवस्थामा यस्ता घटनामा राजनीतिक साइनोको कारण पनि अपराध मौलाइरहेको उनको निष्कर्ष छ । यस्ता घटनामा सरकार, प्रहरी प्रशासनले नैतिक रुपमा जिम्मेवार भएर कडा र निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको स्पष्ट विचार छ । 

सम्बन्धित समाचार

'महिला अधिकार' संघर्ष नगरी पाउने अवस्थै छैन - उमा रेग्मी

प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी उमा रेग्मी नेपाली कांग्रेसकी सक्रिय नेतृ हुन् भने पार्टीकै भ्रातृ संगठन नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत रहेकी छिन् । १७ वर्षको किशोरावस्थादेखि नै रेग्मीले चितवनको

ओनसरीका तीन फरक भोगाइ

रोल्पा नगरपालिकामा जन्मिएकी ओनसरी घर्तीमगर संघीय संसदमा नेकपाकी समानुपातिक सदस्य हुन् ।  ०६४ मा समानुपातिक सभासद् बनेकी उनी ०७० मा रोल्पा २ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ जितेर सांसद बनेकी थिइन् ।

सांसद बिकको तीतो अनुभव : महिलालाई राजनीति फलामको चिउरा चपाएसरह !

काठमाडौं । आशा कुमारी बिक २०३८ सालमा रुपेन्देहीमा जन्मिइन् तर बझाङलाई कर्म घर बनाइन् । त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भयो । हाल बिक बझाङबाट नेकपा ( पूर्वएमाले)बाट समानुपातिकतर्फकी महिला

डा. डिलाको अनुभव : महिला मुद्दा समावेश गर्न हरेक पार्टी हतारिएका छन्

सांसद डा. डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । संघीय प्रतिनिधिसभाकी सदस्य समेत रहेकी संग्रौलाको जन्म दाङमा भए पनि हालको घर भने विराटनगर हो । राजनीतिमा विद्यार्थी जीवनदेखि लागेकी


z