• २०८१ बैशाख ७ शुक्रबार

संसदमा प्रधानमन्त्रीका गलत आँकडा : सिन्डिकेट हटेको, महंगी घटेको दाबी  

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधनपछि अहिले राजनीति फेरी तातिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रश्न सोध्ने माग गरेपछि सभामुखले समय नदिदा विवाद बढ्यो र संसद बुधबारसम्मका लागि स्थगित भयो ।

प्रधानमन्त्रीको सम्बोधनले केहि प्रश्न भने उठाएको छ । धेरै जसो समय आर्थिक विषयमा फोकस गरेका प्रधानमन्त्रीले संसदमा गलत तथ्यांक प्रस्तुत गरे भने राजनीतिक रुपमा पनि प्रधानमन्त्री अलि बढी डिफेन्सिभ देखिए । अहिलेका चर्चित प्रकरण वाइडबडीको अनियमितताका बारेमा प्रधानमन्त्रीले शब्द समेत उच्चारण गरेनन् भने आमरुपमा कुनै पनि विषयमा छानबिन गर्न तयार रहेको र कस्तो समिति बनाउनु पर्ने हो भनेर वाइडबडी प्रकरण थाहा नभएको जस्तो गरे । त्यस्तै निर्मला हत्या प्रकरणमा पनि कुनै ठोस भन्दा पनि औपचारिक प्रतिबद्धता मात्र व्यक्त गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै सरकारले ३३ किलो सुन प्रकरणमा १५० भन्दा बढी पक्राउ परेको बताए पनि अहिले हरेक दिन जसो अदालतबाट छुटिरहेको विषयमा भने केहि उल्लेख गरेनन् ।  

संसदमा प्रधानमन्त्रीका गलत आँकडा :

प्रधानमन्त्रीले संसदलाई सम्बोधनका क्रममा अधिकांश गलत तथ्यांक प्रस्तुत गरेको पाइएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक सूचकांकहरु प्रस्तुत गर्दै देश सहि दिशामा गएको दाबि गरेका थिए ।  उनले मूल्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटक आगमनमा व्यापक वृद्धि भएको आँकडा प्रस्तुत गरेका थिए । 

प्रधानमन्त्रीले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको संसदमा बताए तर वास्तविकता भने त्यस्तो देखिदैन । 
महालेखानियन्त्रक कार्यालयको तथ्यांकअनुसार कुल ४ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । कुल लक्ष्यको ४७.७३ प्रतिशत असुली हो तर लक्ष्य अनुसार पुरा भएको छैन । 

त्यस्तै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको पाँच महिनामा पुँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको बताएका छन् भने सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको बताएका छन् ।

अहिले पुँजीगत खर्च केवल १५.४३ प्रतिशत भएको छ । आर्थिक वर्षको आधा समय धर्किसक्दा केवल १५ दशमलव ४३ प्रतिशत मात्र भएको पुँजीगत खर्चलाई प्रधानमन्त्रीले ठूलो सुधार गरेको भन्दै संसदमा प्रस्तुत गरेका छन् । 

त्यस्तै प्रधानमन्त्रीले निर्याततर्फ यस अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भएको बताएका छन् तर तर, सोही अवधिमा आयात ३३.८ प्रतिशतले बढेको विषयलाई भने प्रधानमन्त्रीले लुकाएका छन् । 

५ महिनामा ३७ अर्ब ५० करोड रुपैयाँ स्वदेश भित्रिएको उल्लेख गरिरहँदा ६ खर्ब ७ अर्ब बाहिरिएको तथ्य भने प्रधानमन्त्रीले संसदमा उल्लेख नै गरेनन् । 

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड घाटामा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोड बचतमा थियो । तर, प्रधानमन्त्रीले भने शोधनान्तर बचतमा केही कमी आएको बताएर संसदमा सिधै झुटो बोलेका छन् । 

प्रधानमन्त्रीले गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १ दशमलव ५ प्रतिशत मात्रै व्यापारघाटा बढेको उल्लेख गरेका छन् तर, सो अवधिमा व्यापारघाटा साढे ३५ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक रहेको छ । 

त्यस्तै प्रधानमन्त्रीले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको संसदमा बताएका छन् । तर यातायात सिन्डिकेट अन्त्य भएको देखिदैन । सरकारले पटकपटक सिन्डिकेटको म्याद सारिरहेको छ । सिन्डिकेट गर्ने अधिकांश यातायात समिति अझै कम्पनीमा दर्ता भएका छैनन् । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा २९ कात्तिकमा बसेको बैठकले समितिलाई कम्पनीमा दर्ता गराउने अवधि मंसिर मसान्तबाट फागुन मसान्तसम्म वृद्धि गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै