• २०८१ बैशाख १४ शुक्रबार

महानगरको अकुपञ्चर सेवाकेन्द्र : न बिरामी, न कर्मचारी !

kharibot

काठमाडौं । विगत १५ वर्षदेखि महानगरवासीलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले सुरु गरेको अकुपञ्चर सेवा प्रभावहीन देखिएको छ । महानगरपालिकाको जनस्वास्थ्य विभागअन्तर्गत टेकुमा रहेको सेवाकेन्द्र अहिले आफैँ बिरामीजस्तो देखिन्छ । 

यो सेवा तत्कालीन मेयर केशव स्थापितको पालामा सुरु भएको थियो । त्यसपछि सेवाकेन्द्र कहिले कता कहिले कता हुँदै हाल वातावरणविभागस्थित टेकुमा रहेको छ । १० वर्षयता यसको सेवा दिनेभन्दा स्थान परिवर्तनलाई बढी जोड दिइँदै आएको छ । सेवाकेन्द्रमा एकैपटकमा १०÷१० जना पुरुष र महिलालाई उपचार गर्न मिल्छ भने बिरामीले ७ देखि १५ दिनसम्म लगातार सेवा लिइरहनुपर्ने हुन्छ । 

महानगरका अकुपञ्चर थेरापिष्ट हर्षमान महर्जन सेवाकेन्द्रमा १० वर्षदेखि कार्यरत छन् । उनका अनुसार दैनिक २० देखि २५ जनाले सेवाकेन्द्रबाट सेवा लिइरहेका छन् तर खरीबोटकर्मी सोमबार त्यहाँ पुग्दा २ जना मात्रै बिरामी देखिए । उनीहरु फलोअपमा आएका थिए । नयाँ बिरामीहरु थिएनन् । 

महानगरले आफ्ना ३२ वटै वडाका जनतालाई वैकल्पिक चिकित्सा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरे पनि कर्मचारी अभावका साथै बिरामी समेत नआउने भएकाले यो प्रभावहीन देखिएको छ । थेरापिष्ट महर्जनले कर्मचारी अभाव र प्रचारप्रसारको कमीले केन्द्र ओझेलमा परेको खरीबोटसँग बताए । 

सेवा केन्द्रमा जाने बिरामीको लागि बिहान ८ बजेदेखि नै दर्ता सुरु गरी ११ बजेसम्म नयाँ बिरामी दर्ता गर्न मिल्ने व्यवस्था रहेको उनको भनाइ छ । उनका अनुसार सेवाकेन्द्रमा हरेक दिन प्रयोग गरिने सामग्रीलाई निर्मलीकरण गरेर प्रयोग गरिन्छ । केन्द्र २ बजेसम्म खुल्ला हुने गरेको छ । 

सेवाकेन्द्रमा हाल महर्जन विगत ६ महिनायता एक्लै रहेका छन् । धेरै बिरामी आए सेवाकेन्द्रमा सास्ती हुने यस तथ्यले देखाउँछ । 

के हो अकुपञ्चर सेवा ? 

शरीरमा सियोले घोचेर गरिने उपचार प्रक्रिया नै अकुपञ्चर उपचार विधि हो । हाल निजी क्षेत्रबाट समेत यो सेवाका विभिन्न क्लिनिकहरु सञ्चालित रहेका छन् भने महानगरले सञ्चालन गरेको सेवाकेन्द्रमा जाँदा बिरामीले सस्तो रकममै सेवा लिनसक्छन् । महर्जनका अनुसार हकुपञ्चर, मुग्जिबेसन र अकुप्रेसर गरी तीन किसिमका सेवालाई अकुपञ्चरमा समावेश गरिएको छ । रोगको प्रकृति हेरेर बिरामीले ७ देखि १५ दिनसम्म सेवा लिइराख्नुपर्ने उनको भनाइ छ । 

सस्तो सेवा
टाउको, हातगोड, हड्डीइको जोर्नी, प्यारालाइसिसलगायतका समस्या भएकाहरुले जम्मा २५ रुपैयाँमै यो सेवा लिनसक्ने महर्जनले जानकारी दिए । सेवा सस्तो भए पनि यस्तो प्रविधिमा आधारित भएर सेवा लिने ग्राहक भने धेरै हुँदैनन् । यसका बाबजुद पनि महानगर आफैँले भने यसको प्रचारप्रसार समेत गर्न सकेको छैन । यद्यपि महानगरले मेट्रो एफएम आफैँ चलाउँछ, तर आफ्नै सेवाबारे भने प्रचार प्रसार नगर्ने गरेको कारण यसबारे धेरैलाई थाहै नपाएको महर्जनले बताए । 

कर्मचारी अभाव, भद्रगोल अवस्था
६ महिनायता एक्लै काम गरिरहेका महर्जनसँग न सहयोगी कोही छ न त कार्यालय सहयोगी नै छन् । उनी आफैँले बिरामी हेर्नेदेखि व्यवस्थापन मिलाउनेसम्मका काम गर्नुपरिरहेको छ ।

यस्तो अवस्था हेर्दा सेवा केन्द्र आफैँ बिरामी रहेको महसुस हुन्छ । सेवाकेन्द्रलाई प्रभावकारी बनाउने नै हो भने एउटा पूर्ण क्षमतायुक्त टिम चाहिने उनी स्वयं बताउ्रँछन् । एउटा अफिसमा हुनुपर्ने न्यूनतम मापदण्ड समेत नभएकामा महर्जनले गुनासो गरे । त्यसो त महानगरले वार्षिक ५ वटा निःशुल्क स्वास्थ्य सेवा समेत सञ्चालन गर्दै आएको छ । तर जानकारहरु सेवा लिएर जान्छन्, थाहै नभएकाहरु सेवाबाट वञ्चित नै हुने गरेका छन् ।  सेवा केन्द्रमा अधिकांश उपकरण चीनबाट ल्याइएका र सुविधासम्पन्न रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै