• २०८१ बैशाख ८ शनिबार

ए डिभिजन लिग सकियो, कसले कुन अवार्ड जिते ? 

kharibot

काठमाडौँ । चार वर्षपछि भएको शहिद स्मारक ए डिभिजन लिगको सकिएको छ । लिगमा भाग लिएका १४ क्लबले हरेकले १३-१३ खेल खेलेर सक्दा मनाङ मर्स्यांदी क्लबले १३ खेलमा १२ मा जित र एक मा हार बेहोर्दै ३६ अंक हासिल गर्दै लिगको उपाधि जितेको छ ।

त्यस्तै लिगमा संकटा क्लबले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । संकटाले १३ खेलमा ९ मा जित ३ मा हार र एक बराबरी खेल्दै २८ अंक बटुलेर दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै बलियो मानिएको थ्रीस्टार क्लब भने यस पटक लिगमा तेस्रो स्थानमा रह्यो । थ्रीस्टारले १३ खेलमा ८ मा जित, ३ मा हार र २ बराबरी खेल्दै २६ अंक बटुलेर लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ ।

त्यस्तै लिगमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, सशस्त्र पुलिस फोर्स क्लब र नेपाल पुलिस क्लब क्रमश २५,२३ र १९ अंक हासिल गर्दै लिगमा चौथो, पाचौ र छैठौ स्थान हासिल गरेका छन् ।

रेलिगेशन नभएको यस लिगमा न्युरोड टिम र माछापुछ्रे क्लबले केवल एक एक खेल मात्र जिते भने न्युरोडले पुछारमा रहदै लिग समाप्त गरेको छ ।

त्यस्तै ए डिभिजन लिगमा मनाङका बिशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर बनेका छन् भने मनाङकै हेमन गुरुङले उत्कृष्ट मिड फिल्डरको अवार्ड जितेका छन् । त्यस्तै मनाङका म्यानेजर सुमन श्रेष्ठले उत्कृष्ट म्यानेजरको अवार्ड जितेका छन् । लिगमा थ्रीस्टारका डिफेन्डर रंजित धिमाल उत्कृष्ट डिफेन्डर बनेका छन् भने नेपाल आर्मी क्लबका फरवार्ड भरत खवास उत्कृष्ट फरवार्ड बनेका छन् । उत्कृष्ट बनेका सबैले एक एक मोटरसाइकल पाएका छन् ।

लिगको विजेता टिम मनाङले ५० लाख पुरस्कार पाएको छ भने दोस्रो भएको संकटाले ३५ लाख पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो हुने थ्रीस्टारले २५ लाख पुरस्कार पाएको छ । त्यस्तै लिगमा चौथो हुने क्लब त्रिभुवन आर्मीले १५ लाख, पाचौ हुने सशस्त्र आर्म्ड फोर्स क्लबले ७ लाख र छैठौ हुने नेपाल पुलिस क्लबले ५ लाख पुरस्कार पाएको छ । त्यस्तै लिगमा प्रत्येक खेल जित्ने टिमलाई एन्फाले प्रति खेल ५० हजार दिएको छ ।

तीन विभागीयसहित १४ टोली सहभागी भएको ए डिभिजन लिग गत असोज १३ गतेदेखि सुरु भएको थियो । लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराएको थियो भने लिग आयोजना गर्न एन्फाले कुल पाँच करोड ८० लाख खर्च लाग्ने यस अघि नै बताएको थियो ।  लिगका सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ ) मैदानमा भएका थिए । 
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै