• २०८१ बैशाख ७ शुक्रबार

छोरी जन्मँदा गाउँपालिकाले ५ हजारसहित बैंक खाता खोल्ने

kharibot

चितवन । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।

अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ ।

सो गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको गुरुङले बताइन् ।

सो गाउँपालिकामा जनसङ्ख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् । ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् ।

हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीमसमेत दिँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै