ओनसरीका तीन फरक भोगाइ

खरीबोट

रोल्पा नगरपालिकामा जन्मिएकी ओनसरी घर्तीमगर संघीय संसदमा नेकपाकी समानुपातिक सदस्य हुन् ।  ०६४ मा समानुपातिक सभासद् बनेकी उनी ०७० मा रोल्पा २ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ जितेर सांसद बनेकी थिइन् । नेपालको संविधान २०७२ जारी भएपछि नेपालकै पहिलो महिला सभामुख बन्नु घर्तीको राजनीतिक ‘करिअर’कै ठूलो राजनीतिक उपलब्धि हो । यो उपलब्धि उनले यतिकै हात पारेकी होइनन् । राजनीतिमा यतिको उचाइ लिन उनले ठूलो संघर्ष गर्नुपरेको छ । द्वन्द्वकालमा युद्धमा समेत होमिएकी उनको विगत प्रेरणापरक, संघर्षशील र निकै मननीय छ । माओवादी राजनीतिक पृष्ठभूमिबाट आएको हुँदा उनीसँग जनयुद्धमा प्रत्यक्ष सहभागी भएको इतिहास छ । हुन त माओवादी जनयुद्ध अब इतिहासमा कैद भइसकेको छ, कतिपय योद्धाहरु आज उनीजस्तै संसद सदस्य बनेका छन् । कतिपय माओवादी जनयुद्धका सदस्यहरु श्रमतिरै फर्किएर आफ्नो जीवन फुलाउन लागिपरेका छन् । यो त आज अर्थात् वर्तमानको यथार्थ हो । हामी उनको हिजोको जीवनको खोजी पनि गर्दै छौँ । 

ओनसरीलाई विशेष गरी परम्परागत राज्यसत्ताको प्रभावमा परेको नेपाली समाजमा रहेका विविधखाले विभेदविरुद्धको विद्रोही भावनाले राजनीतिमा तान्यो । त्योभन्दा पनि अगाडि जब उनी सानै उमेरकी थिइन्, घरपरिवार अनि समाजलाई बुझ्दै गइन्, त्यतिबेला छोरी भएर जन्मिनु नै गल्ती भयो कि भन्ने लाग्थ्यो । आत्मग्लानिले पोल्थ्यो । युद्धमा जाँदा समेत उनी कहिलेकाहीँ यस्तै यस्तै सोचमा हराउन पुग्थिन् । यस्तै महसुसले उनीभित्रको विद्रोही चेतनालाई जगाइराख्यो । मर्न दिएन । २०४८ सालबाटै अर्धभूमिगत रहेकी उनी २०५२ मा माओवादी जनयुद्ध सुरु भएपछि पूर्ण भूमिगत भइन् । राजद्रोहको मुद्दा खेपिन् । यो उनको तीतो विगत हो ।
दशक लामो युद्धमोर्चाको अनुभव बटुलेर संसदको सदस्य र प्रमुख पदसम्मको अनुभव बटुलिसक्दा घर्ती जीवनमा दुःख र सुखको आफ्नै किसिमको परिभाषा हुने बताउँछिन् । मान्छेले आफ्नो लक्ष्य पूरा गर्ने बाटो हिँड्दा आउने अप्ठ्याराहरुलाई पनि सुखद मान्न सक्ने उनको अनुभव छ । 

योद्धा अनुभव 

युद्ध लड्ने जोसुकै होस्, योद्धा हो । झन् ओनसरी त सर्वहारा, मजदुरवर्गको हकहित र अधिकारको लागि लड्न तम्तयार भएकी एक साहसी महिला छापामार । कस्तो छ त उनको योद्धा अनुभव ! यससम्बन्धी उनको रोचक अनुभव छ । ‘योद्धाको रुपमा दुःख त धेरै हुन्थो,  लड्नुभन्दा पहिले १ हप्ताजति तयारी गथ्र्यौं । त्यसपछि पनि हप्ता दिन सुत्न पाइँदैनथ्यो । पुलिससँग भीडन्त गर्नुपथ्र्यो । नसुतेरै नखाएरै समय बिताइन्थ्यो’, युद्धमोर्चाको समय सम्झिँदै उनी भन्छिन् । ‘तर पनि त्यो जिन्दगी रमाइलो र सुखी थियो किनभने आफ्नो लक्ष्यमा हिँडिरहेको र आफ्नो पाइला अगाडि बढिरहेको हामीलाई थाहा थियो ।’  

हिजोको छोरीले सोच्ने र आज जन्मिँदै गरेको छोरीले सोच्ने कुरामा आकाशपातालको फरक छ

तर सबै युद्धमा सफलता कहाँ मिल्थ्यो र ! सँगै गएको मिल्ने साथी छोडेर आउनुपर्ने बाध्यताका केसहरु उत्तिकै हुन्थे । यसका बाबजुद युद्ध लडेर पाएको सफलताले मन पूरै खिन्नै चाहिँ बनाउँदैनथ्यो । किनकि जितिसकेपछिको अर्कै अवस्थाको कल्पनामा हुन्थ्यो । उनी सम्झिन्छिन्, ‘साथीहरु सहिद भए पनि जितेको बेलामा लिने आनन्द बेग्लै हुन्थ्यो ।’ जनयुद्धको सूत्रपात भएको होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामध्ये घर्ती पनि एक थिइन् । 

न्यून मध्यमवर्गीय परिवारमा जन्मिएकी उनी शताब्दीयौंदेखि पछाडि पारिएको महिलाहरुले स्वाभाविक रुपमा पुरुषहरुसँग एकैचोटि प्रतिस्पर्धा गर्न नसक्ने धारणा राख्छिन् । यसको मतलब महिलाहरु कमजोर हुन्छन् भन्ने उनको आशयचाहिँ होइन । उनी भन्छिन्, ‘समाजको मानसिकतालाई हामीले एकैचोटि परिर्वतन गर्न सक्दैनौं । मानिसले जन्मेदेखि नमर्दासम्म चल्दै आएको संस्कारलाई तत्कालै तोडमोड गर्न सक्दैन । त्यो हैसियतमा महिला अझै पुग्नसकेका छैनन् ।’

राजनीतिमा महिला सहभागिता

राज्यले महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्ने उनको भनाइ छ । नयाँ संविधान निर्माण र कार्यान्वयनसँगै छोराछोरीप्रतिको व्यवहारमा समानताको अभ्यास भइरहेकोमा आशावादी पनि छिन् उनी । उनका अनुसार यो अभ्यासले समाजमा साकार रुप लिन र सकारात्मक प्रभाव छेड्न कम्तीमा पनि ३० वर्ष लाग्नसक्छ । त्यसपछि मात्र नेपाली महिलाहरुको उच्च प्रभाव नीतिनिर्माणको ठाउँमा देखिन थाल्छ । अहिले नै शतप्रतिशत महिलाहरु प्रतिस्पर्धामा आइसक्ने अवस्था नरहेको उनको बुझाइ छ । 

उनी भन्छिन्, ‘हामीले महिलाहरुलाई विशेष व्यवस्था गरेर प्रतिनिधित्व गराइराखेका छौं । समानुपातिक समावेशी जस्ता प्रावधानहरुको सकारात्मक असर देखिनेछ ।’ यद्यपि प्रतिस्पर्धाबाट आउने र विशेष व्यवस्थाबाट आउने भएका कारण परिणामचाहिँ फरक हुने उनको भनाइ छ । तर दुवै अभ्यासले सकारात्मक सुधार र परिवर्तन अवश्य आउनेछ ।  
भर्खरै बनेका नवीनतम र समयसापेक्षी कानुनहरुले पनि महिलामैत्री समाजको स्थापना हुनेमा उनी आशावादी देखिन्छन् । उनी भन्छिन्, ‘धेरै कानुनहरु बनाएका छौँ ।

भर्खरै मुलुकी ऐनलाई प्रतिस्थापन गर्न सफल भएका छौँ । यो आवश्यक र खुसीको कुरा हो ।’ समाजमा पनि पछिल्लो समय महिलामैत्री सामाजिक चेत विस्तार हुँदै गइरहेको घर्तीको अनुभव छ ।  उनी यसलाई यसरी प्रस्तुत गर्छिन्, ‘छोरीले चाहेको बेलामा बाबुको सम्पत्ति पाउने कुराहरु आएका छन् । पहिला छोरीको परिचय थिएन । छोरीले स्वतन्त्रता पाएका छन् ।  संविधानको अधीनमा रहेर धेरै कानुनहरु बनेका छन् । देवानी संहितालाई हेरियो भने त्यसमा मौलिक अधिकारको हक भनेर राखिएको छ ।’  समाजको सचेत तप्काले महिलाका कानुनी अधिकारहरुको कार्यान्वयन पनि सुरु गरेको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘अहिलेको बाबुआमाले छोरीलाई पढाउँदिन, सानैमा कन्यादान गर्छु भन्दैन भने संस्कारमा समेत परिवर्तन हुँदै गइरहेको छ तर पूर्ण रुपमा लागू नै चाहिँ भइरहेको छैन ।’ यसका लागि तर कानुनी उपचारको बाटो समेत सुरक्षित रहेकाले उनी निकै सकारात्मक देखिन्छिन् । ‘किनकि कानुनी उपचारमा आउँदा महिलाले न्याय पाउँछन्’, उनी अगाडि भन्छिन्, ‘तर अहिलेचाहिँ व्यावहारिक रुपमा अझै पनि कतिपय संस्कार र संस्कृति जर्जर अवस्थामा नै छ ।’ तराईमा रहेको दाइजो प्रथालाई उनी मुख्य उदाहरण दिन्छिन् । आजको समाजले अझै त्यसलाई स्वीकारिरहेकोले यसमा उनको चिन्ता पनि उत्तिकै छ ।   

नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि परम्परागत मानसिकताकै चेपुवामा परिरहँदा उनले पाएको सभामुख बन्ने अवसरले के फाइदा भयो त ! उनी भन्छिन्, ‘यसको तत्कालै केही असर नभए पनि दीर्घकालीन रुपमा भने पर्छ, पर्छ । किनकि मानसिक रुपमा हिजोको छोरीले सोच्ने र आज जन्मिँदै गरेको छोरीले सोच्ने कुरामा आकाशपातालको फरक छ ।’ 

यसलाई उनी गणतन्त्रको अमूल्य देन नै ठान्छिन् । राजाको छोराले मात्र राष्ट्रको प्रमुख हुन पाउने चलन अब इतिहास भइसकेको झण्डै १ दशक बितिसकेको छ । आज पुरुषले जस्तै महिला पनि राष्ट्रको प्रमुख बनेर बसेका छन् । यसले गर्दा पनि घर्ती भविष्यप्रति अझै आशावादी रहेको बताउँछिन् । खासगरी अधिकार प्राप्तिको लडाइँमा मात्र नभई देशकै नेतृत्व गरिरहेकाले पनि हुनसक्छ यसले नेपाली महिलालाई अझै आत्मविश्वासी बनाउनेमा उनी ढुक्क छिन् । हुन पनि नेपालले गणतन्त्र आइसकेपछि पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला सभामुख पाएको थियो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाकै नेतृत्व गरेर उदाहरणीय बन्नेमध्येकी एक घर्ती यो उपलब्धिलाई हेरेर आगामी पुस्ताले अझै धेरै र ठूलो उपलब्धिका लागि अघि बढ्ने आत्मविश्वास पाउनेछ । 

उनी सभामुख भएकैले यस्तो कानुनी परिवर्तन भएको भने उनी स्वयंलाई लाग्दैन । ‘मेरो स्थानमा पुरुषै हुन्थ्यो भने पनि यी कानुन, ऐनहरु बन्थे भन्ने त मलाई लाग्छ’, उनी भन्छिन् । तर संविधानमा भएका प्रावधानहरुलाई, कानुनहरुलाई मूल रुप दिने बेलामा कमसेकम महिला सभामुख त छ केही त विचार गर्नुपर्यो भनेरै पनि केही कानुनहरु महिलामैत्री बनेकोमा भने उनलाई गर्व पनि छ । त्यसो त उनलाई सभामुख बन्न सक्दिन कि भन्ने पनि नभएको होइन । यससम्बन्धी पार्टीभित्रै पनि उनले सल्लाह लिएकी थिइन् । तर चलाएर देखाइसकेपछि भने मनोबल उच्च भएको र यसले नेपाली महिला अधिकारकर्मीहरुलाई समेत हौसला दिएको उनी बताउँछिन् । 

तीन फरक परिस्थिति र अनुभव

ओनसरी घर्तीमगरसँग तीन फरक परिस्थितिमा तीन फरक महिला बनेको अनुभव छ । एक सामान्य महिला, अर्को एक क्रान्तिकारी नेतृ महिला र राज्यको उच्च ओहोदामा पुगेर नीतिनिर्माण गर्ने निकाय संसदको प्रमुख महिला । यो तीनै परिस्थितिले ओनसरीलाई भिन्न अनुभूतिहरु संगाल्ने मौका दियो । एक आममानिस हुँदा उनी नेपाली समाजको परम्परागत मानसिकताको शिकार बनेकी थिइन्, अन्य महिलाजस्तै भने एक छापामार योद्धा, क्रान्तिकारी महिला र कम्युनिष्ट राजनीति गर्ने नेतृको हिसाबले उनले त्यो दमित अवस्थाबाट पार पाउन संघर्ष गर्ने आँट गरिन् ।

एक सामान्य महिला, अर्को एक क्रान्तिकारी नेतृ महिला र राज्यको उच्च ओहोदामा पुगेर नीतिनिर्माण गर्ने निकाय संसदको प्रमुख महिला । यो तीनै परिस्थितिले ओनसरीलाई भिन्न अनुभूतिहरु संगाल्ने मौका दियो ।

जसको सफलताले उनलाई सभामुख बन्ने फल प्रदान गर्यो । वास्तवमा यो तीन परिस्थिति नै नेपाली महिलाको आजको यथार्थता हो । यद्यपि सबै नेपाली महिला यसरी सफल बन्नसकेका छैनन्, तर उनीहरुका लागि समेत ओनसरीलाई एक प्रेरणापरक व्यक्तित्व बनाइदियो । चाहे जोसुकैले गरोस्, संघर्षको पछाडि सफलता हुन्छ । मिहिनेत र जाँगरको पछाडि सुख र फलप्राप्ति हुन्छ । यो पारिस्थितिक सत्यता हो । जसलाई ओनसरीकै जीवनगाथाले पुष्टि गर्छ ।  

अहिले नेपालमा युद्धकालीन परिस्थिति फेरिएको छ । संघर्षले सुखद परिणाम दिइसकेको छ भने ओनसरीको पार्टी पनि ठूलो कम्युनिष्ट पार्टी बन्ने दिशामा अर्को कम्युनिष्ट पार्टीसँग एकीकृत भइसकेको छ भने पूर्व भिन्न भिन्न पार्टीका अध्यक्षहरु एकीकृत पार्टीको समान हैसियतको अध्यक्ष बनेका छन् । पार्टी एक भइसकेपछि महिला अधिकार र हकहितका सवालमा महिला नेतृहरु के सोचिरहेका छन् त ? ओनसरी भन्छिन्, ‘अब पार्टीको नेतृत्वगणमा पनि महिलाहरुलाई ल्याएर समावेशी बनाउन आवश्यक छ । यसैमा जोड दिइरहेका छौँ ।’ उनका अनुसार नेतृत्वतहमा महिलाहरुलाई विशेष व्यवस्था नै गरेर भए पनि ल्याउनैपर्छ । यसका लागि  दुवै अध्यक्षहरुसँग हरेक कमिटीमा ३३ प्रतिशत महिला पुर्याउनको लागि छलफल भएको समेत उनी बताउँछिन् । तर वरिष्ठतम पुरुषहरु धेरै भएको हुँदा नेतृत्वतहलाई व्यवस्थित गर्न धेरै छलफल, बहस र म्यानेज गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘आधाभन्दा बढी जनसंख्यालाई नजरअन्दाज गरेर अगाडि बढ्न सकिँदैन ।’ यसका लागि नेकपाभित्रै पनि नेतृत्वतहलाई महिला नेतृहरुले सुझाव दिइसकेका छन् भने ३३ प्रतिशत पुर्याउन पनि पार्टीले झेल्नुपर्ने असजिलाहरुलाई म्यानेज गर्दै अगाडि बढ्न समेत आग्रह गरेको उनको भनाइ छ । 

सरकारप्रति आशावादी
पूर्वसभामुख घर्तीमगर नेकपाकै प्रभावशाली नेतृ भए पनि सरकारको कार्यशैलीप्रति भने असन्तुष्ट छिन् । भन्छिन्, ‘अहिले सन्तुष्ट हुने अवस्था छैन ।’ तयारीकै फेजमा रहेको, लामो समयको जनम्यान्डेटको सरकार बनेको कारण सुरुका १—२ वर्ष छलफल गरेर र संयमित रुपमा काम गरेर राष्ट्र विकासको लागि नयाँ बाटा दिनुपर्ने उनी बताउँछिन् । ‘२०÷३० वर्षको सपना देखेर त्यसलाई पछ्याउन अहिलेदेखि नै गृहकार्य सुरु गर्नुपर्छ’, यसका लागि सरकारले काम गरिरहेकोले आशावादी छिन् ओनसरी । 

बलात्कारीलाई मृत्युदण्ड

‘खरीबोटसँग महिला सांसद’ स्तम्भमा हामीले नछुटाएको सन्दर्भ हो निर्मला हत्या प्रकरण । यसबारे ओनसरीको धारणा पनि अन्य सांसदकै जस्तो छ । यसमा सरकारले नै तदारुकता देखाउन नसकेको, प्रहरी प्रशासन अपराधी समात्न चुकेको, डीएनए निरन्तर रुपमा मेल नखाएको देखिनुमा ओनसरी दुःख व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘अरु कुनै सजायमा फाँसीको व्यवस्था नहोस्, ठीक छ तर रेप (बलात्कार) केसमा चाहिँ फासीको सजाय हुनुपर्छ ।’ यद्यपि उनीे संविधानमा नभएको हुँदा हुनैपर्छ भन्नेतिर नगए पनि सोच्नचाहिँ बाध्य भएको बताउँछिन् । यो प्रकरणमा राज्यका संयन्त्रहरु निकम्मा रहेको पुष्टि भएको उनको भनाइ छ । 

सम्बन्धित समाचार

बुबाको अनुमतिमा घरबाट ६ किलोमिटर टाढा पर्ने रुपैडिहा गएर पढेँ : सांसद खानम 

काठमाडौं । बाँके जिल्लाबाट नेपाली कांग्रेसको समानुपातिकतर्फको प्रतिनिधिसभाकी महिला मुस्लिम सांसद हुन् सरवत आरा खानम । उनी ०७० सालमा पनि समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनका बुबा फारुक अहमद आरिफ शिक्षक

सरकार सफल हुन्छ, गलत बाटो समाए सचेत गराउँछौँ : सांसद खड्का

काठमाडौं । प्रतिनिधिसभाकी एक सदस्य कल्याणी खड्का संसदको विकास तथा प्रविधि समितिकी सभापति हुन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य समेत रहेकी खड्का अघिल्लो वर्षसम्म रौतहटको एमाले जिल्ला इन्चार्ज थिइन्

कोठामा टुकी बालेर संगठन विस्तार गर्न राति बरण्डाबाट भाग्थेँ : सांसद ओझा

काठमाडौं । नैनकला ओझा नेकपाबाट राष्ट्रियसभाकी सदस्यमा निर्वाचित सांसद हुन् । ताप्लेजुङमा जन्मिएकी ओझा केही समय ताप्लेजुङमा नै रहेर राजनीतिमा संलग्न भएकी थिइन् । तर पछि मोरङबाट तत्कालीन एमालेमा आबद्ध

सांसद कविता बोगटी भन्छिन् : रगतमै 'कम्युनिष्ट'

कविता बोगटी नेकपाबाट राष्ट्रियसभामा निर्वाचित कर्णाली प्रदेशकी जनप्रतिनिधि हुन् ।  नवलपरासीको बन्जरियामा वि.सं. २०२७ सालमा जन्मेकी बोगटीको प्राथमिक शिक्षा नवलपरासीबाट नै भए पनि एसएलसी भने उनले हुम्लाबाट उत्तीर्ण गरेकी हुन्


z