अति भो ! मदन—आश्रितको हत्यास्थलमा पूर्वएमालेको भट्टी पसल ! 

खरीबोट

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चोला उडाएको ठाउँ हो दासढुङ्गा।  हत्याअघि न त्यो ठाउँको चर्चा थियो, न कसैले नामै सुनेका थिए , थिए भने पनि केही सय स्थानीयहरुले सुनेका थिए ।

बीपी राजमार्ग नबन्दासम्म अधिकांश नेपालीको काठमाडौँ यात्रा त्यही बाटो भएर तय हुन्थ्यो। सिन्धुलीबाट काठमाडौँ आउँदा विद्यार्थीकालमा रात्रि वा दिवा जुन बसमा आए पनि दासढुङ्गा आएपछि मेरो शिर निहुरिने गर्थ्यो। मन अमिलो हुन्थ्यो। अन्य मोडका प्रायः यात्रीहरु दासढुङ्गा आउँदा फरक मोडमा देखिन्थे। धेरैमा पीडाबोधको भावना प्रष्ट देखिन्थ्यो ।

यात्राको क्रममा धेरै पटक हामी साथीहरु मिलेर चढेको गाडी रोक्न लगाएरै राजनेताको स्मृतिमा निर्माण गरिएका शालिकलाई सलाम गर्दै “तिम्रो सपना साकार पार्न हामी निरन्तर लाग्नेछौँ – भनेर कसम खान्थ्यौँ। अरु यात्रीले पनि त्यसो गरेको देख्दा निकै खुसी लाग्थ्यो ।

कुनै दिन देशमा शक्तिशाली कम्युनिष्ट सरकार बन्यो भने दासढुङ्गामा जीवन गुमाएका तिनै दूरद्रष्टा राजनेताको  स्मृतिमा राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय स्तरको स्मारक पार्क वा संग्रहालय बन्ला भन्ने कल्पनाले मलाई साह्रै खुसी बनाउँथ्यो। केही देशको भ्रमणमा देखिएका त्यस्ता पार्कहरुको महत्व बुझेपछि पक्कै हाम्रा नेताले पनि त्यसबाट सिक्लान भन्ने ठूलो भरोसा थियो।

मेरो देशमा आज कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार छ। तिनै प्रिय नेताको रगतको छिटाले यो सरकारमा पनि लत्पतिएको छ । अझ प्रष्ट भन्दा तिनै नेताको विचारले नेपाली कम्युनिष्ट सरकार र आन्दोलन आजको उचाइमा पुगेको छ। यो सरकारले त्यो भूमिलाई स्मृतियोग्य बनाउला वा नबनाउला त्यो हेर्न केही वर्ष कुर्नु नै पर्ला ।

हाम्रा प्रिय नेताको हत्या गरी पक्कै पनि विरोधीले राजनीतिक स्वार्थ पूरा गर्यो होला। तर आफूलाई उनकै चेला भन्न रुचाउनेहरुले सीमित स्वार्थका लागि दासढुङ्गाजस्तो पीडादायी स्थलमा मनोरञ्जन, मोजमस्ती र भट्टी पसल खोलेर के नै कमाउँछौँ हो मित्रहरु ? त्यो पीडादायी भूमिमा अरुलाई मताएर कमाएको धनले के के गर्छौं तिमीहरु ? मलाई लाग्छ न तिमीहरु  विनोद चौधरी बन्न सक्छौँ, न विल गेट्स न वारेन बफेट ।  पैसा नै कमाउन हजार बाटाहरु हुँदा हुँदै किन जनप्रिय नेताको हत्या स्थललाई नै छान्यौ तिम्रो भट्टी पसल खोल्न ?  राजनेता मार्ने विरोधी र मारेकै ठाउँमा साथीभाई बोलाएर रक्सीको नशामा मज्जा गर्ने तिमीहरुमा के नै भिन्नता भयो र ?

तर म सुन्दै छु, मेरा प्रिय नेतालाई योजनाबद्ध रुपमा हत्या गरेको त्यो पीडादायी ठाउँमा उनकै कार्यकर्ताले भट्टी पसल खोल्दै छन् रे दासढुङ्गा रिसोर्टको नाममा । सुरुमा मैले विश्वास नै गर्न सकिन । ती राजनेता, जसको विचारले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा हुँदा नेपाली कम्युनिष्ट आन्दोलन लोकप्रिय बन्दै गयो। जसको विचारले आजको नेपाली कम्युनिष्ट आन्दोलन विजयीको शिखरमा पुग्यो । उनकै विचारले स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सत्ता सञ्चालन गर्ने हैसियतमा पुगे।  त्यही पार्टीका सदस्य वा कार्यकर्ता भन्न रुचाउनेहरु तिनै महान नेताको हत्या गरी चर्चित बनेको त्यो ठाउँमा रक्सीको नसामा लठ्ठिँदै रङ्गीन संसारमा पुग्ने भट्टी पसल खोल्दै छन् रे !

जीवन निर्वाहका लागि पनि होइन, व्यापारको लागि खानलाउन पुग्दा पुग्दै भएको सम्पत्तिमा केही थप्नका लागि अरुलाई बेहोसी बनाई पैसा कमाउने स्थलमा किन दासढुङा नै रोज्यौ ?

कमरेडहरुको त्यो समूह, जसले संसार घुमेको छ। दुनियाँ बुझेको छ, राम्ररी जान्दछ कि त्यस्ता ठाउँहरुमा  स्मृति पार्क, म्युजियम वा त्यी महान नेताको कुनै स्मरण योग्य स्थल बनाइन्छ। सबै कुरा बुझेर,जानेर पनि एउटा पेसामाथि अर्को पेशा थप्न र भइरहेको आम्दानीमा केही बढाउन किन मेरा नेताको हत्या गरेको ठाउँलाई नै रोज्नु भो तपाईहरुले ?
नेपाली भूमिमा खोजेको रोजगार नपाएर ४० लाखभन्दा बढी युवाहरू आफ्नो जीवन निर्वाहका लागि खाडीको तातो घाममा आफूलाई सेकिरहेका छ्न्  । द्वन्द्वको कारण शारीरिक र मानसिक चोट भोग्न बाध्य योद्धाहरु सकेको काम गरेरै जीवन निर्वाह गरिरहेका छन् । हजारौं एकल महिलाहरु पिठ्युँमा बालबच्चा बोकेर बारीमा खन्दै, सडक छेउमा मकै पोल्दै जीवन निर्वाह गरिरहेका छन्।

तिम्रो व्यापार त राम्रै होला। विदेशी मात्र हैन। आफ्नै पार्टी र विरोधीहरु जो त्यी राजनेताको हत्यामा रमाएका थिए वा छन् – २÷४ प्याग बढी पीएर आनन्दित होलान् । तिम्रो सरदर बिलमा केही हजार थपिएला तर त्यो सबै गर्दा तिमीलाई अलिकति पनि आत्मग्लानि नहोला र ?

जीवन निर्वाहको लागि सडकमा माग्ने मात्र हैन, गाएर, बजाएर वा गिट्टी नै कुटेर पनि लाखौ लाख श्रमजीवीहरु आफ्नो जीवन निर्वाह गरिरहेका छन्।  अति कष्टपूर्ण जीवन निर्वाह गर्ने त्यी लाखौँलाख श्रमजीवीहरु जीविकोपार्जनको लागि न नैतिकता बेच्छन्, न इमान नै । तर तिमीहरुले  जीवन निर्वाहका लागि पनि होइन, व्यापारको लागि खानलाउन पुग्दा पुग्दै भएको सम्पत्तिमा केही थप्नका लागि अरुलाई बेहोसी बनाई पैसा कमाउने स्थलमा किन दासढुङा नै रोज्यौ ?

सुनेको थिएँ संस्कार र संस्कृतिबाट विचलित हुँदै जाँदा आजको पुस्ताले आफन्त छोड्न सक्छ । जीवनभर साथ दिन्छु भनेर दुःखमा जोडेको नातालाई सीमित स्वार्थमा तोड्न सक्छ । साथीलाई प्रयोग र उपयोग गर्दै उक्लिएको शिखरमा पुगेपछि चढाउनेलाई देख्दै देख्दैन । साथीलाई नै थिचेर बनाएको भर्याङ्गबाट उक्लेपछि फर्किएर हेर्दै हेर्दैन। चटक्कै त्याग्न सक्छ तर तिमीले त त्यी सबैलाई माथ गर्दै राजनेताहरुको हत्या गरेको त्यो पीडादायी स्थललाई नै नशामा लठ्ठिएर मनोरञ्जन गर्ने स्थल बनाउँदै छौं रे । 

कमरेड, मदन–आश्रितको अन्त्येष्टिमा पशुपति गई शीर निहुराउँदै फूल चढाएको कत्ति चाँडो बिर्सिएको ? कि त्यो बेला पदीय हैसियत देखाउनकै लागि मात्र तिमीले फूल चढाएका थियौँ  । मेरो सुझाव दिने हैसियत त छैन तर अनुरोध गर्छु, कमरेडहरु ! अझै पनि आफूलाई कम्युनिष्ट भन्न रुचाउँछौँ भने, त्यो बेला मन नै नमानी नमानी शिर निहुराउँदै चढाएको फूलको याद गर्न सक्छौ भने तिमीलाई त्यो बेला देख्नेहरुलाई भ्रम परेको र मदन आश्रितको त्यो महान आत्माले तिमीलाई सम्झिएको कल्पना गर्न सक्छौँ भने कृपया त्यो भट्टी खोल्ने जग्गा सरकारलाई दान देउ र राजनेताको स्मृतिमा केही सामाजिक काम गर । तिम्रो त्यो घोषणा सभालाई राष्ट्रिय मुद्दा बनाउन म मेरो संचार गृह, मेरा साथीहरु र मेरो सबै क्षमतालाई प्रयोग गर्छु । जरुरी परे राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्न लाग्ने खर्च जुटाउन प्रयास गर्छु। मेरा नेताको  स्मृतिमा बन्ने स्मृति स्थलको हिस्सामा मेरो दिलबाटै एउटा इँट्टा थप्न तयार छु ।

याद गर ! तिमीले नैतिकता गुमाउँदै पैसा कमाउनकै लागि मेरा प्रिय नेताको हत्या स्थलको दुरुपयोग गर्यौ भने म बाचुन्जेल लेखिरहनेछु तिमी, तिम्रा सहयोगी र त्यो भट्टीमा खानेहरुको जीवनकथा । यद्यपि म कामना गर्छु, मेरो यो विचार अन्तिम बनोस ! यात्रा गर्दा मेरा प्रिय नेता मारिएको त्यो भूमिमा रक्सीको नशाले लट्ठिएको विरोधीले आनन्द मान्दै मन्दमुस्कानमा खुशी भएको म हेर्न सक्दिनँ  ।

सम्बन्धित समाचार

ओली सरकारको एक बर्षे कार्यकाल : कति सफल कति असफल ?

काठमाडौँ । बर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकालको अवधि पुरा गरेको छ । यो कति सफल, कति असफल नेपाली जनताले मुल्याङ्कन गरिरहेका छन् ।  तर प्रधानमन्त्री हुनुभन्दा अघि भएपछि लगतै तत्कालिन

न्यायालय बाहिरका निर्मलाहरु !

काठमाडौँ । एउटा कोपिला सुन्दर डालीमा फक्रने आशमा मन्द मन्द मुस्कुराउदै भविष्यको प्रतिक्षामा बसिरहदा अनायासै उसलाई कसैले चुडेर फालिदिएका छन् ।  एउटी अवोध बालिका निश्चल पवित्र भावना बोकेर हजारौ हजार सपनाहरु

कृषि र ग्रामीण उद्यमशीलता : समृद्ध नेपालका आधार

काठमाडौँ । कुनै पनि लोकतान्त्रिक सरकारको गठन नागरिकहरुमा सुख र शान्तिको सञ्चार गराउने, विकास र समृद्धिको आकांक्षाको पूर्ति गर्ने र अन्ततः समता र समानतामा आधारित न्यायपूर्ण राष्ट्र निर्माणको लागि हो

राष्ट्रिय सभाको आजको बैठकमा बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय


z