• २०८१ बैशाख ७ शुक्रबार

नारालेखन र नक्कलले मात्रै नेपाली साहित्य उँभो लाग्दैन : राजकुमार बराल

kharibot
  • त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा अंग्रेजी साहित्य अध्यापन गर्दै आएका उपप्राध्यापक राजकुमार बरालका साहित्यिक समीक्षा तथा लेख-रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् ।  साथै उनी एक कुशल अनुवादकका रुपमा पनि परिचित छन् ।  प्रस्तुत छ राजकुमार बरालको पठन अनुभवमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको पुस्तक वार्ताको सम्पादित अंश:

अहिले तपाईंले पढ्दै गरेको पुस्तक ?

म अहिले नादिया मुरादको सस्मरण 'द लास्ट गर्ल' पढ्दै छु । मानवभित्र रहेको दानवीय प्रवृतिको चित्रण गरेको यो पुस्तकले 'इस्लामिक स्टेट'ले महिलामाथि गरेको अत्याचारलाई प्रस्तुत गरेको छ । मान्छे कतिसम्म क्रूर  बन्न सक्छ भन्ने उदाहरणका लागि यो पुस्तक उदाहरणीय लागिरहेको छ ।

तपाईंको रोजाइमा कस्ता विषयवस्तु र विधाका पुस्तक पर्छन् ?

म सबै विधाका पुस्तकहरू पढ्छु ।  तुलनात्मक रुपमा कथा, कविता बढी र निबन्ध अलि कम ।

पुस्तक पढ्ने बानी कसरी लाग्यो ? तपाईंले पढ्नुभएको पहिलो साहित्यिक कृति सम्झनुहुन्छ ?

ठ्याकै  कारण त थाहा छैन तर साहित्यप्रतिको लगाव चाहिं स्कुले जीवन देखि नै थियो। विद्यालयमा हुने साहित्यिक कार्यक्रमहरूले पनि सायद साहित्यप्रतिको झुकाव  बढाएको हुनपर्छ । मैले सुरुमा पढेका साहित्यिक कृति चाहिं 'नेपाली कथासंग्रह' र’सुनौलो कथा संग्रह’ हुन् ।  यी कथा संग्रहहरू घरमा थिए तर बुवाले कोर्ष बाहिरका किताब पढ्छ (सायद भन्नुहुन्थेन) भन्ने डरले कथासंग्रह र कोर्षका किताब सँगै राख्ने र बुबा आउनुभए जस्तो लाग्दा कथासंग्रह लुकाएको सम्झिँदा हाँसो उठ्छ ।

अंग्रेजी साहित्यको अध्यापनमा संलग्न हुनुहुन्छ । कोर्षका किताब बाहेक आफ्नो रोजाइका अन्य पुस्तकहरू पढ्न कसरी समय मिलाउनुहुन्छ? औसतमा महिनामा कतिवटा पुस्तक पढ्नुहुन्छ?

पढ्नका लागि समयभन्दा रहर महत्वपूर्ण हुन्छ । पढ्ने मन भए समय त निक्लिहाल्छ नि ! प्रायशः बिहान बेलुका साहित्यिक पुस्तकहरु पढ्छु । पुस्तकको संख्या एकीन त हुन्न । राम्रा पुस्तकहरु बजारमा आएको आधारमा संख्या कम र बढी त भइहाल्छ ।

नयाँ पुस्तक पढ्नलाई के-का आधारमा छनौट गर्नुहुन्छ?

मचाहिँ पुस्तकले उठान गरेको विषयवस्तु र दिनखोजेको सन्देशलाई महत्वपूर्ण मान्छु । यद्यपि कतिपय अवस्थामा पुस्तकमाथि लेखिएका समीक्षा, पुस्तकका बारेमा लेखिएको भूमिका पनि निर्णायक हुन्छन् तर समीक्षा र भूमिकाबाट निर्देशित पठन गरियो भनेचाहिँ पढाइबाट नयाँ कुरा नआउने खतरा हुन्छ । लेखकलाई आधार मानेर पढ्दा पनि कुनै एक लेखकले सधैँ उत्तिकै राम्रा कृति ल्याउन नसक्ने हुँदा यो निर्णय पनि गलत हुनसक्छ ।

तपाईंलाई सबैभन्दा धेरै मन परेका १० पुस्तकहरू?

म्याक्सिम गोर्कीको 'मदर'

मलाला युसफजाईको 'आई एम मलाला'

गुरुप्रसाद मैनालीको 'नासो' कथासंग्रह

कृष्ण धरावासीको 'टुँडाल'

सेक्सपियरको 'ह्यामलेट'

स्यामुएल बेकेटको 'वेटिङ फर गोदो'

महेश विक्रम शाहको 'सिपाहीकी स्वास्नी'

सादत हसन मन्टोका कथाहरु

आन्तोन चेखबका कथाहरु

बुद्धिसागरको 'कर्णाली ब्लुज'


तपाईंलाई सबैभन्दा धेरै मन पर्ने लेखक?

खासगरी लेखकभन्दा पनि विषयवस्तु र तिनको प्रस्तुतिका आधारमा लेखकहरु मन पर्छन् । जस्तै, म्याक्सिम गोर्की, स्यामुएल बेकेट, ग्याब्रियल गार्सिया मार्खेज, गुरुप्रसाद मैनाली ।


कुनै पुस्तक पढिसकेपछि के गर्नुहुन्छ?राम्रो पुस्तक पढिसक्दाको आनन्द कस्तो हुन्छ?

राम्रो पुस्तकले ‘सर्वोपरि आनन्द’ दिन्छ  । त्यस्तो पुस्तक पढेपछि कामकाजमा ऊर्जा आउँछ । आफूलाई पनि ‘क्रिएटिभ’ र ‘इम्याजिनेटिभ’ बन्न उत्प्रेरणा मिल्छ ।  जीवन, जगत् बुझेको अनुभूति दिलाउँछ ।

म त राम्रो पुस्तक पढेपछि साथीभाइलाई आफ्नो अनुभूति (पुस्तक पढ्दाको) सुनाउँछु । यति मात्र होइन, प्रसंगवश त्योसँग मिल्ने सन्दर्भ भए कक्षाकोठामा विद्यार्थीहरुलाई पनि सुनाउँछु ।


पढ्दा पढ्दै बीचमै छाड्नुभएका पुस्तक कत्तिको छन्?

त्यस्तो आजसम्म परेको छैन । जति पुस्तक पढ्न थालेको छु, सकेरै छोडेको छु ।

पाठकले आफ्नो रुचिअनुसारका विषयवस्तुबाट पठन सुरु गरे राम्रो हुन्छ, चाहे त्यो कथा, उपन्यास, कविता र निबन्ध नै किन नहोस् । पढ्दा कुनै किसिमका आग्रह र पूर्वाग्रह नराखी पढ्ने गर्नुपर्छ ।


‘यो पुस्तक चाहिं मैले पढ्न पाए हुन्थ्यो’, भनेर इच्छाएको तर अहिलेसम्म पढ्न नपाएका पुस्तकहरू?

इमेल र इन्टरनेटको जमाना भएर होला, यस्तो अवस्था पनि आइपरेको छैन । तर कहिलेकाहीँ अलि लामो समय कुर्नुचाहिँ पर्छ । केही वर्षअगाडि ‘स्केप फ्रम बग्दाद’ पढ्नलाई अलि लामै समय कुर्नुपर्यो । तर सो पुस्तक पढ्न भने पाएँ । पछि नेपाल साप्ताहिकमा त्यसको समीक्षा पनि लेखेको थिएँ ।


तपाईंका विद्यार्थीहरूमा पाठ्यक्रम बाहिरका साहित्यिक कृति पढ्ने ‘ट्रेन्ड’ कत्तिको पाउनुहुन्छ?

सबैले त पढ्दैनन् तर केही त्यस्ता विद्यार्थी पनि छन्, जसले अंग्रेजी र नेपाली साहित्यलाई खूब माया गर्छन् । कतिले पढिसकेर पत्रपत्रिकामा समीक्षा समेत लेखिसकेका छन् । कतिले सोसल मिडियामा त्यस्तो अनुभव बाँडेका छन् । कतिले व्यक्तिगत रुपमा भेटेरै यस्ता अनुभवहरु बाँडेका छन् । यी प्रमाणहरुले साहित्यप्रतिको उनीहरुको अगाध माया झल्काउँछ ।


तपाईंले अध्यापन गर्ने पाठ्यक्रममा राखिएका उपन्यास, कथा, कविताहरू कत्तिको ‘इन्जोयबल’ पाउनुहुन्छ?

मैले अध्यापन गर्ने साहित्यिक रचनाहरु प्रायः विश्वभर लेखिएका साहित्यका प्रतिनिधि रचनाहरु हुन् । युरोप, अमेरिका, एसिया र नेपाली साहित्याकाशका प्रतिनिधि कथा÷कविताहरु पढाउँदा ती स्थानका राजनैतिक, सामाजिक, आर्थिक परिवेशको ज्ञान पाइने हुनाले साहित्यमार्फत विश्व बुझ्न सकिन्छ । यद्यपि कोर्षमा समाविष्ट रचनाहरुमध्ये सबै भने आनन्ददायी (इन्जोएबल) हुँदैनन्, तिनीहरुलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्छ र हुन्छन् पनि ।


तपाईं समालोचक पनि हुनुहुन्छ । अंग्रेजी साहित्य पढ्नेहरू कुनै पुस्तक पढ्दा मार्क्स, डेरिडा र लियोटार्डहरूका ठूलाठूला ‘थ्योरी’ घुसाउन खोज्छन् र कृतिको मूल मर्म नै नजरअन्दाज गर्न पुग्छन् भन्ने आरोप लाग्ने गर्छ । कुनै कृतिको समीक्षा र समालोचना गर्दा के-कस्ता कुराहरूमा ध्यान पुर्याउनुपर्ने रहेछ?

पुस्तकको समीक्षा÷समालोचना गर्दा ‘थ्योरी’ प्रयोग नै गर्नुहुँदैन भन्नेचाहिँ होइन तर अनावश्यक रुपमा जहिले पनि ‘थ्योरी’को लेन्स मात्र लगाएर साहित्यको मूल्यांकन गर्दा साहित्यलाई न्याय नहुन सक्छ । साहित्यको मूल्यांकन गर्दा प्रयोग गरिएका विम्ब, प्रतीक, छन्द, लय, शब्दचयन, रूपक आदिले पनि महत्वपूर्ण भूमिका खेल्ने हुँदा ‘थ्योरी’ मात्रको प्रयोगले साहित्यको मूल मर्म नआउन पनि सक्छ । तसर्थ कलालाई कलाकै रुपमा पनि र कलालाई जीवनमा पार्नसक्ने प्रभाव दुवैलाई ख्याल गर्दै समीक्षा/समालोचना गर्दा राम्रो होला ।


अंग्रेजी साहित्यका विद्यार्थीहरूले नेपाली साहित्य कत्तिको पढ्छन्? तपाईंलाई समकालीन नेपाली साहित्यमा आइरहेका पुस्तकहरू कस्ता लागिरहेका छन् ?

अंग्रेजी साहित्यका विद्यार्थीहरुले नेपाली साहित्यको खूब माया गर्छन् । मलाई त लाग्छ अंग्रेजी साहित्यका विद्यार्थीले सबैभन्दा बढी नेपाली साहित्य पढ्छन् । नेपाली कवितावाचनका कार्यक्रमहरुमा पनि अंग्रेजी विद्यार्थीको संख्या बढी देखिन्छ । नेपाली नाटकघरहरुमा नाटक हेर्नेमा पनि अंग्रेजी पढ्ने विद्यार्थीहरुकै बढी संख्या देखिन्छ । पत्रपत्रिकामा समीक्षा/समालोचना लेख्ने र पढ्नेमा पनि अंग्रेजीका विद्यार्थीको उपस्थिति बढ्दो छ ।

नेपाली साहित्यमा राम्रा कृतिहरु बजारमा आइरहेका छन् र आउनेवाला पनि छन् । नेपाली पाठकहरुको संख्या बढ्दै जानुले लेखकहरुलाई पनि दबाब सृजना गर्दै जान्छ र त्यसको परिणाम अहिले साहित्यमा देखिँदै छ ।


विश्वसाहित्यमा नेपाली साहित्यलाई कहाँ पाउनुहुन्छ? नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण किन व्यापक रुपमा हुन नसकेको होला?

नेपाली साहित्य आफैँ पनि संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ, मुख्यगरी भाषाका कारण । सर्वप्रथम त नेपाली भाषामा राम्रा साहित्यिक कृति बजारमा आउनुपर्यो र तिनीहरुलाई अनुवाद गरेर विश्वबजारमा पठाउनसके यसको अन्तर्राष्ट्रियकरण हुनसक्छ । त्योभन्दा महत्वपूर्ण त हामीले साहित्यमा नेपाल लेख्नुपर्यो । कुनै विदेशी विम्ब र प्रतीक सापटी नलिई हामीले नेपालसँग सम्बन्धित मौलिक कुरा लेखेमा अनुवादसँग नेपाल विश्वमा जान्छ । खालि नक्कलले मात्र साहित्यको श्रीवृद्धि हुँदैन । साथै, नारालेखनले पनि साहित्य उँभो लाग्दैन ।


अन्त्यमा, भर्खरै पठनतर्फ उन्मुख हुँदै गरेका युवापुस्तालाई के सल्लाह दिनुहुन्छ? कसरी राम्रो पाठक बन्ने? कस्ता पुस्तकबाट पढ्न सुरु गर्ने?

पाठकले आफ्नो रुचिअनुसारका विषयवस्तुबाट पठन सुरु गरे राम्रो हुन्छ, चाहे त्यो कथा, उपन्यास, कविता र निबन्ध नै किन नहोस् । पढ्दा कुनै किसिमका आग्रह र पूर्वाग्रह नराखी पढ्ने गर्नुपर्छ ।

लेखक जुनसुकै देशको होस्, जुनसुकै विचारधाराबाट प्रभावित होस्, जुनसुकै वर्ग, लिंग, जातजातिको होस्, यी सबै कुरा बिर्सेर पढ्ने गर्नुपर्छ नत्र साहित्यले न्याय प्राप्त गर्दैन । साहित्यले कला र समाजलाई कति न्याय गर्न सकेको छ, विचार गर्दै पढ्ने गर्नुपर्छ । साहित्य समाजको दर्पण पनि हो र फेरि यो एक कला पनि हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै