• २०८१ बैशाख ४ मंगलबार

राप्रपाको चियापानमा सरकारलाई विदा कटौतीको व्यंग्य, कसले के भने ?

kharibot

काठमाडौं । नेपालनिर्माता राजा पृथ्वीनारायण शाहको आज परेको जन्म दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार दिउँसो गरेको चियापानमा विभिन्न दलका नेताहरुदेखि आम मानिसहरुसम्मको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कसले के भने ? 


कमल थापा, राप्रपा अध्यक्ष

आजको  दिनले देशमा सबै राजनीतिक शक्तिहरुको बीचमा परस्पर सद्भाव र एकताको अविभृद्धि गर्न प्रेरणा दिनेछ । मुलुकमा राजनैतिक स्थिरता कायम गर्दै प्रजातन्त्रलाई सुदृढ तुल्याएर राष्ट्रियतालाई बलियो बनाउनुपर्छ । आजको यस दिनले नेपालीहरुको आर्थिक समृद्धिको लक्ष्य प्राप्ति होस्, यसकै लागि प्रेरणा मिलोस् । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०६३ सालदेखि नै राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा  मनाउनुपर्दछ, सार्वजनिक विदा दिनुपर्दछ भनेर  माग गर्दै आएकोमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनैतिक व्यवस्था वा संस्थासँग मात्र जोडेर हेर्नुहुँदैन ।  

राजनीतिभन्दा माथि उहाँको योगदान छ । त्यसैले सबैको साझा सम्पत्तिको रुपमा राष्ट्रिय एकतालाई लिनुपर्छ । सरकारले एकता दिवस नमनाउने निर्णय गरेको भए पनि आंशिक रुपमा सुधार भएको छ । राष्ट्रपति  विद्यादेवी भण्डारीले सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर राजकीय सम्मान गर्नुभयो । त्यसले सरकारले औपचारिक रुपमा सार्वजनिक विदा र राष्ट्रिय पर्वको  घोषणा नगरे पनि आंशिक मान्यता भने अब प्राप्त गरिसकेको छ । आगामी वर्षसम्ममा सरकारले पूर्ण रुपमा मान्यता प्रदान गर्ने र एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने सार्वजनिक निर्णय गर्नेछ भन्ने आशा र विश्वास लिएको छु । 


सरकारले काम गर्नलाई कटौती गरेको हो तर काम पनि गर्दैन अनि विदा पनि कटौती गर्छ : नेता पौडेल

रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस

पृथ्वीनारायणलाई मैले नेपाल आमाले जन्माएको सुझबुझ भएको एउटा नेपाली राष्ट्रियताको प्रतीकको रुपमा सम्झिन्छु । उहाँले राष्ट्रिय एकीकरण गरेर आज हामी नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ । त्यसकारण उहाँप्रति मेरो ठूलो सम्मान छ । विदा कटौती चाहिँ नगरेको भए हुन्थ्यो । यो दिनलाई अब गरिहाले । यो मात्र हैन धेरै विदा कटौती भएका छन् । सरकारले काम गर्नलाई कटौती गरेको हो तर काम पनि गर्दैन अनि विदा पनि कटौती गर्छ । 


खिलराज रेग्मी, मन्त्रिपरिषद्को पूर्वअध्यक्ष 

हामी उभिएको धरातल निर्माण गर्ने नै पृथ्वीनारायण शाह हुन् । उहाँले यति संगठित रुपमा नेपालको जग बसाउने काम गरेकाले उहाँको योगदानलाई जति भने पनि कम हुन्छ । भोलिको दिनमा बृहत् रुप लिन्छ । राज्य पक्षबाट पनि अझ बढी मात्रामा धेरै कोणबाट विचारविमर्श गरेर यो दिनलाई उल्लेख्य रुपमा सम्झिने र राष्ट्रको स्वाभिमान र एकतालाई मजबुत बनाउँदै अगाडि बढ्नुपर्छ । 


सुवास नेम्बांग, नेता, नेकपा 

सबैले देशको एकताको बारेमा सकारात्मक दृष्टिकोणले अगाडि बढेको पाएको छु । खुसी लागेको छ । पृथ्वीनारायणको योगदानलई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ र सम्मान गर्नुपर्छ । यो दिनलाई पहिला पहिला विदा दिइन्थ्यो अहिले दिइँदैन तर यसलाई राज्यले नै मान्न छोड्यो भन्ने रुपमा लिनुहँुदैन । कतिपय प्रसंगहरुमा छलफल छ र त्यो छलफल उपयुक्त निष्कर्षमा पुग्नुपर्छ । 


झलनाथ खनाल, नेता, नेकपा

पृथ्वीनारायणको योगदानलाई बिर्सिनुहुँदैन । विदा कटौती जुन भएको छ, त्यसलाई पुनरवलोकन गर्नुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै