• २०८१ बैशाख ७ शुक्रबार

विवेकशील साझाको फुट : वैकल्पिक शक्ति निर्माणको अभियान झन् कमजोर 

kharibot

काठमाडौँ । २०७४ साउन ११ गते तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको १७ महिनामा फुटेका छन् काठमाडौँ । शुक्रबार उज्ज्वल थापाको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि वैकल्पिक राजनीतिक दल बनाउने योजनामा एक भएको यो दल विधिवत रुपमा फुटेको हो । 

राजनीतिक रुपमा विवेकशील साझाको फुटले ठुलो असर नगरे पनि मनोवैज्ञानिक रुपमा यसले केहि अर्थ अवश्य राख्छ । नेपालमा पार्टी फुट र जुटको इतिहासलाई हेर्ने हो भने पछिल्लो यो घटनाले अब वैकल्पिक राजनीतिक दल या पक्षको आन्दोलन फेरी विभाजित भएको छ । चिरा चिरा भएका कम्युनिष्ट पार्टीहरु एक भएर अहिले देशको शासन सत्तामा कब्जा जन्माएको अवस्थामा, काँग्रेसको कम्जोर नेतृत्व भएको अवस्थामा विवेकशील साझाको फुटले वैकल्पिक राजनीति अझै नेपाली राजनीतिमा आकाशको फल बनाइदिएको छ ।

विवेकशील साझाको अस्तित्व र नेतृत्वमाथि गत निर्वाचनमा गरेको प्रदर्शनबाट नै उठेको थियो । स्थानीय निर्वाचनमा काठमाडौँमा विवेकशील नेपाली दलको प्रदर्शनले वैकल्पिक राजनीतिमा विवेकशीलको एक किसिमको उदय नै भएको थियो । काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठेकी रन्जु दर्शनाले पाएको मतले विवेकशीललाई अबको वैकल्पिक दलको रुपमा हेरिएको थियो । उनीहरुले परम्परागत राजनीतिक नेतृत्वलाई चुनौती मात्र दिएका थिएनन् तत्कालिन एमाले र काँग्रेसको जगलाई समेत हल्लाइदिएका थिए ।

काठमाडौँमा पाएको मतले उत्साहित विवेकशील र पत्रकारिता छोडेर राजनीतिमा आएका रविन्द्र मिश्रले खोलेको साझा पार्टी एक हुनु पर्छ भन्ने त्यति बेलाको आम मतलाई कदर गर्दै उनीहरु एक ठाउमा त आए तर त्यसपछी सम्पन्न आम निर्वाचनमा उनीहरुले खाता सम्म खोल्न सकेनन् । उनीहरुले प्रदेश ३ को प्रदेश सभामा समानुपातिकबाट ३ सिट पाए । समग्रमा उनीहरुको उपलब्धि त्यति नै भयो । आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर एक बाट रबिन्द्र मिश्रले काँग्रेस नेता प्रकाशमानलाई टक्कर दिदै दोस्रो स्थान हासिल गर्नु बाहेक उनीहरुले अन्य ठाउमा उत्साहजनक उपस्थिति समेत देखाउन सकेनन् । अर्को भाषामा भन्ने हो भने स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलले पाए जति चर्चा र सफलता उनीहरुले आम निर्वाचनमा पाउन सकेनन् ।

विवेकशील साझा पार्टी असफल हुनुमा यसका केहि पृष्ठ भुमि जिम्मेवार देखिन्छन् । पहिलो त विवेकशील नेपाली दल जसलाई त्यति बेला उज्ज्वल थापाले नेतृत्व गर्दथे, उनीहरुले आफ्नो दलमा एउटा नयाँ अभ्यास र फ्लेवर दिएका थिए । नियमित बैठक, छलफल, र युवाहरुको सहभागितामुलक उपस्थिति उनीहरुको दलमा देखिन्थ्यो । समसामयिक एजेन्डामा ४-५ जना भएपनि नहिच्किचाई प्लेकार्ड लिएर उनीहरु सडकमा उपस्थित भइनै रहन्थे ।  कहीं न कहिँ उनीहरुको त्यो उपस्थितिलाई आम जनताले नोटिस गरिनै रहेको थियो । जसको प्रमाण स्थानीय चुनावमा उनीहरुले पाएको मत थियो ।

तर साझा पार्टीसँग एक भएपछी विवेकशीलको त्यो फ्लेवर पुरै मेटिएको जस्तो देखिन्थ्यो । दुई संयोजक मध्यका एक रविन्द्र मिश्रको नेतृत्वनै सार्वजनिक रुपमा हावी देखियो । मिडियादेखि आमरुपमा पार्टीमा मिश्र नै अगाडी देखिए । तर विवेकशील साझा बनेपछि पार्टीको विचार र सिद्धान्त भने खासै स्पष्ट देखिएन । एकोहोरोरुपमा रविन्द्र मिश्र काँग्रेस कम्यिनिष्टको विरोध मात्र गरिरहेको पाइयो र अहिले पनि त्यो छ नै । तर विकल्पको रुपमा उनले गर्ने स्पष्ट कार्ययोजना न त आमरुपमा स्थापित गर्न सके न त पार्टी लाई नै वैचारिक रुपमा एक बनाएर लैजान सके ।

यसरी हेर्दा दुई विपरित ध्रुवका दल एक हुदाको परिणाम अहिले आएर १७ महिनापछि फेरी आ-आफ्नै बाटो लागेका छन् । विवेकशील साझाको यो फुटले वैकल्पिक शक्ति बनाउने थापा र मिश्रको योजना अब कसरी अगाडी बढ्छ त्यो त आगामी दिनमा थाहा हुदै जाने छ तर सत्य के हो भने परम्परागत राजनीतिक दल हावी भएको अहिलेको अवस्थामा नयाँ दल आएर रातारात परिवर्तन गर्न असम्भव जस्तै नै छ । यसका लागि धेरै समय लाग्ने देखिन्छ । 
          
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै