• २०८१ बैशाख ११ मंगलबार

‘पिक एण्ड ड्रप’को नाममा महानगर र प्रहरी प्रशासनको दादागिरी

kharibot

काठमाडौं । पुस १ अघिसम्म माइक्रो, बस र टेम्पोका लागि उपत्यकाको व्यस्त ठाउँ रत्नपार्क, न्युरोड, जमल र भृकुटीमण्डपमा ट्राफिक प्रहरी र महानगरले नै भिन्नाभिन्नै रोक्ने स्थानको व्यवस्था गरिदिएका थिए । आफू जहाँ जानुपर्ने हो, यात्रुहरु त्यहाँ जाने सवारीसाधन भएको स्थानमा पुगेर आफ्नो गन्तव्य पुग्ने गरेका थिए । यसको विकृतिमूलक समस्या के थियो भने सवारीसाधन सिट भरिएर बाँकी रहेको खाली स्थानमा समेत यात्रु नउभ्याएसम्म हिँड्दैनथे । यसले त्यसवरपर सवारीसाधनको जाम लाग्ने गथ्र्यो ।

तर जामको समस्या अहिले उक्त क्षेत्रमा हटेको छ पुस २ देखि । एउटा समस्या निराकरण गर्नको लागि प्रहरी प्रशासन र नगरपालिकाको कार्य सह्राहनीय हुँदाहुँदै पनि फेरि उनीहरुको प्रावधानले नयाँ समस्या देखिएको छ, जसका कारण यात्रुहरुले अर्को समस्या व्यहोर्नुपरेको छ ।  

टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान सुरु गरेको भने पनि महानगर र ट्राफिक प्रहरीले भने उक्त व्यवस्थाको भन्दा गलत अभ्यास गरेको फेला परेको हो । अहिले पहिले आफैँले दिएका स्थानहरुमा डोरी लगाइएको छ भने सवारीसाधनलाई रोकेर पेसेन्जर चढाउने र झार्ने समेत काम गर्न निषेध गरिएको छ ।

यस्तो अभ्यास पिक एण्ड ड्रपको मर्मविपरीतको कार्य हो । यसको नेपालीमा अर्थ नै चढाऊ र झार अर्थात् यात्रु चढाउने, झार्ने र सवारीसाधन समय खेर नफाली तुरुन्तै गन्तव्यमा हिँडिहाल्ने भन्ने हो तर महानगर र प्रहरी प्रशासनको दादागिरीले गर्दा भृकुटीमण्डप आएका यात्रुलाई समेत कि जमलमै झारिदिने कि न्युरोड पुर्याएर मात्र झार्ने गरिनथालेको छ । आफैँले यात्रु प्रतीक्षालयका पूर्वाधार समेत निर्माण गरेर अहिले तिनैलाई बेकामे र प्रयोगविहीन त बनाइएको छ नै, यात्रुहरुलाई समेत दिनसम्म दुःख दिइएको छ ।

यसलाई कुनै पनि कोणबाट जनमैत्री कार्य भन्न नसकिने पीडित सर्वसाधारणहरु बताउँछन् । सवारीसाधन भएकाको हकमा यो नियम उपयुक्त भए पनि नभएकाहरु भने सरकारी निकायको अध्ययनविनै लादिएको दादागिरी भन्दै पिक एण्ड ड्रपको विरोध गर्दै आएका छन् । 

भिडियो हेर्नुस 

एउटा सवारीसाधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान सुरु गर्न लागेको कामपाले बताए पनि सर्वसाधारणको समस्यालाई कुनै वास्ता नगरिएको उक्त स्थानको दृश्यले बताउँछ । 

सोही मारमा परेकी एक यात्रु कपनकी भगवती खत्रीले पिक एण्ड ड्रपको कारण धेरै दुःख भएको बताइन् । जनताको सहजताको लागि सुरु गरेको कार्यले जनतालाई नै असहज भएको बताउँदै उनले प्रश्न गरिन्, ‘पिक एण्ड ड्रपको अर्थ आरएनएसी जाऊ बस चढ या झर भन्या हो र  ?’ पिक एण्ड ड्रपमा सार्वजनिक सवारीसाधनले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने भए पनि देखिएको यथार्थ बेग्लै छ । 

हरेक दिन सभागृह छेउमा झरेर आफ्नो काममा जाने उषा धिताल अहिले पिक एण्ड ड्रपको व्यवस्थाले आफूलाई समस्या भएको बताउँछिन् । बस चढ्न वा झर्नको लागि आरएनएसी वा जमल जानुपर्ने भएकाले समस्या भएको उनको भनाइ छ।  पिक एण्ड ड्रपअघि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गर्न नहुने भन्दै आएको भएता पनि पिक एण्ड ड्रपको कारण सबै मान्छे एकै ठाउँमा जम्मा  हुने भएकाले यात्रा अझ असहज भएको यात्रुहरुको गुनासो छ ।  

पिक एण्ड ड्रपले बसमा कोचाकोच यात्रु हुने गरेका छन् भने छेउमै उभिएको प्रहरीले त्यसको वास्ता समेत नगर्ने गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै