• २०८१ बैशाख १४ शुक्रबार

लिखु जलविद्युत् आयोजनाको अवरोधमा इपानको आपत्ति

kharibot

काठमाडौँ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आपत्ति जनाएको छ । 

इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको जनाएको छ । 

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले राज्यका सबै निकायबाट विद्यमान कानूनी प्रबन्ध पूरा गरी निर्माणमा रहेको आयोजना रोकेर गलत संस्कारको शुरुआत गरिएको बताए । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार पूरा गर्नुपर्ने सबै मापदण्ड पूरा गरिएको, स्थानीय जनताको माग सम्बोधन गरिएको अवस्थामा आयोजना रोकिनुले सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने उहाँको भनाइ छ ।

यही पुस २३ गते रामेछापको मन्थलीमा प्रदेश नं ३ का आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलको प्रमुख आथित्यतामा जिल्ला समन्वय समिति, स्थानीय राजनीतिक दल तथा पूर्वसांसद र गाउँपालिकामा अध्यक्षसहितको संयुक्त बैठकले आयोजनाको काम निर्वाध अगाडि बढाउने सहमति गरे पनि उक्त सहमति कार्यान्वयन नभएको इपानको भनाइ थियो । 

आयोजनाका लगानीकर्ता रहेका इपानका पूर्वअध्यक्ष डा सुवर्णदास श्रेष्ठले ऐनअनुसार तोकिएको राजश्व भुक्तान गरी निर्माणमा गएको आयोजनामा अवरोध गरिनु आपत्तिजनक रहेको बताए । सो आयोजना श्वेतगङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ । स्थानीयले निःशुल्क विद्युत्, निःशुल्क शेयर, अस्पताल निर्माणलगायतका माग राख्दै आयोजनाको काम रोक्न दबाब दिएको डा श्रेष्ठको गुनासो छ । 

आयोजनामा प्रयोग हुने ढुङ्गा, गिटी, बालुवा उपयोग तथा राजश्वको सम्बन्धमा जिल्ला समन्वय समिति कार्यालय रामेछापले गाउँपालिकालाई नै रोयल्टी रकम बुझाउन पत्राचार गरेको थियो । विसं २०७४ असार ३० गते उक्त पत्राचार भएकोमा गाउँपालिकाले बालुवा, गिटीको शुल्क तोकेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै