• २०८१ बैशाख ७ शुक्रबार

इन्डोनेसियामा दुई महिनाअघि दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स फेला

kharibot

इन्डोनेसिया । इन्डोनेसियामा दुई महिना अघि अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ बिमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ ।

बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ बिमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो ।

उक्त बिमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा बिमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । बिमान उडेको केही समयपछि पाइलटले बिमान पुनः जकार्ता फर्काउन लागेको बताएका थिए ।

इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार बिहान दोस्रो ब्लाकबक्स भेटिएको जानकारी दिएका थिए ।

खोज तथा उद्धार टोलीले उक्त जहाजको फ्लाइट डाटा रेकर्डर (ब्लाकबक्स) फेला पारिसकेका थिए । उक्त रेकर्डरको मद्दतले जहाजको गति, उचाई र दिशाका बारेमा थाहा पाउन सकिन्छ । दोस्रो ब्लाकबक्समा भने पाइलटको आवाज सङ्ग्रहित हुन्छ ।

अनुसन्धाताहरुले लायन एयरको जहाजमा पहिल्यैदेखि समस्या आएको पाइएकाले उडाउन नहुने बताएका छन् । अनुसन्धानबाट जहाजमा प्राविधिक समस्या आएको देखिए पनि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन ।

उड्डयन विज्ञहरुका अनुसार ब्लाकबक्समा कुनै पनि बिमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्दछ ।

बिमानका यात्रुको अनुरोधमा लायन एयरले ब्लाकबक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो ।

बिमान निर्माता कम्पनी बोइङ विरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन् ।

बोइङको म्याक्स श्रेणीका बिमानलाई विश्वकै नयाँ र सर्वाधिक समुन्नत व्यावसायिक उडान गर्ने बिमानका रुपमा लिइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै