• २०८१ बैशाख १३ बिहीबार

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि ट्रम्पको चेतावनी

kharibot

अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

उनले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गरेका थिए । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक रहेको विश्वास गरिन्छ । उनले सिरियाबाट सैन्य फिर्ताका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीका बारेमा हालका दिनहरुमा फुकीफुकी ट्वीट गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पका उच्च कुटनीतिज्ञ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अहिले मध्यपूर्वका मुलुकहरुको भ्रमणमा छन्  । अमेरिकी समर्थनप्राप्त सिरियाली कुर्दिस गठबन्धनको भविष्यका बारेमा अमेरिका र टर्कीबीच उत्पन्न पछिल्लो तनाबलाई मत्थर बनाउन विदेशमन्त्री पोम्पेओले क्षेत्रका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

सिरियाली कुर्दिसले इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा अमेरिकी नेतृत्वको फौजलाई सहयोग गरेको थियो । सिरियाली कुर्दिस लडाकूहरु अमेरिकी फौजको फिर्तीसँगै आफूहरुमाथि टर्कीले सैन्य कारबाही गर्ने भयमा छन् ।

अमेरिकी समर्थनप्राप्त कुर्दिस लडाकूको सुरक्षालाई ध्यान दिएर मात्र अमेरिकी सैनिक फिर्ता हुने बताएपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ । टर्कीले कुर्दिस लडाकू समूहलाई आतङ्ककारीको रुपमा व्यवहार गर्दछ ।

“कुर्दमाथि आक्रमण गरिए टर्कीले गम्भीर आर्थिक क्षति व्यहोर्नुपर्नेछ,” ट्रम्पले ट्वीटमा भनेका छन् । उनले कुर्दिस लडाकूका लागि ३० किलोमिटरको सुरक्षित क्षेत्र बनाउने प्रस्ताव अघि सारेका छन् ।

सुरक्षित क्षेत्र बनाउने बारेमा उनले विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । खासगरी, यस्तो क्षेत्र बनाउँदा लाग्ने खर्च कसले व्यहोर्छ भन्ने प्रस्ट भएको छैन ।

इस्लामिक स्टेट विरुद्ध अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा कुर्दिसको प्रभुत्व रहेको सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले मद्दत गरेको थियो । एसडीएफको गठन नै कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँग निकट सम्बन्ध रहेको वाइपीजीले गरेको छ । वाइपीजीलाई टर्कीले आतङ्ककारी समूहको संज्ञा दिने गरेको छ ।

पीकेकेले स्वतन्त्र राष्ट्रको माग गर्दै दशकौंदेखि टर्कीविरुद्ध छापामार युद्ध चलाइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै