• २०८१ बैशाख ८ शनिबार

‘समर लभ’ ले एक जोडीलाई थाइल्याण्ड घुमाउने

kharibot

काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई फिल्मप्रति चासो बढाउन निर्माण टिमले प्रचार-प्रसारमा विभिन्न हत्कण्डाहरु अपनाइरहेको हुन्छ । यसबीच फिल्म ‘समर लभ’ ले एक जोडीलाई थाइल्याण्ड घुमाउने भएको छ । 

‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् लक्की विजेता घोषणा गरेर एक जोडीलाई थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए । उनका अनुसार, विजेता घोषित हुनेले फिल्मको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य शेयर गरेको हुनुपर्ने छ भने फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ । 

उनी फिल्मको प्रचारका लागि उक्त योजना प्रभावकारी हुनेमा विश्वस्त छन् । साथै, निर्माण टिमले 'मायाको सेल्फी उत्सव' प्रचार योजना पनि अगाडि सारेको छ । 

आफ्नो प्रेम वा प्रेमिकासँग खिचेको सेल्फी फिल्मको फेसबुक पेजमा पठाए विभिन्न उपहारहरु प्रदान गरिने फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारीले जानकारी दिए । 

 युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर यो फिल्म निर्माण भएको हो । फिल्ममा आशिष पिया 'अतित' र रेवती क्षेत्री 'साया' को भूमिकामा छन् । अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निभाएकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि यसमा अभिनय छ । 

फिल्म भ्यालेनटाइन डेको छेको अर्थात् माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै