• २०८१ बैशाख ७ शुक्रबार

डा. गोविन्द केसीविरुद्ध इलाममा जुलुस

kharibot

इलाम । यहाँ छ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले आज जुलुस निकालेका छन् । 

सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए । 

उनीहरुले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । 

इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोद्धन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए । 

उनले डा.केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहट’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोद्धन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताएका थिए । उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै