• २०८१ बैशाख ४ मंगलबार

देवघाटमा मनाइयो मकर काव्य यामिनी, विशिष्ट विद्वानहरुले गरे 'साहित्यिक विमर्श'

kharibot

फाइल तस्बिर ।

तनहुँ । महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलम् देवघाटधामको रजतवर्ष महोत्सवको अवसरमा साहित्यसम्मेलन एवं मकर काव्ययामिनी आयोजना गरिएको छ । मकर संक्रान्तिको पूर्वसन्ध्यामा महेश संस्कृत गुरुकुलम् तनहुँले वि.सं. २०६० सालदेखि मकर काव्ययामिनी सञ्चालन गर्दै आएको छ ।

यसपटक सो कार्यक्रमको सोह्रौँ शृङ्खला हो । गुरुकुलको रजतवर्ष महोत्सवको अवसरमा कार्यक्रमको वैशिष्ट्यका लागि काव्यवाचन मात्र नगरी साहित्यिक विमर्शको कार्यक्रम पनि राखिएको थियो । 

कार्यक्रममा दुईवटा सत्र रहेका थिए । जसमा साहित्यसम्मेलन सत्रमा विशिष्ट विद्वान्हरूको उपस्थिति थियो भने काव्यवाचनमा पनि विशिष्ट कविहरूले आफ्ना कविता वाचन गरे । छन्दको राजधानीका रूपमा परिचित देवघाटमा विशेषतः छन्दका कविताहरू वाचन भए । साहित्यसम्मेलन कार्यक्रममा कार्यक्रमका सभापति महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरी थिए नेपाली भाषाका प्रामाणिक विद्वान् प्राडा चूडामणि बन्धुले प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।

साथै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका पूर्वविभागाध्यक्ष प्रा. राजेन्द्र सुवेदी, वरिष्ठ विद्वान् एवं प्राज्ञ सदस्य प्राडा महादेव अवस्थी, वरिष्ठ छन्दकवि एवं समालोचक डा रामप्रसाद ज्ञवाली, वरिष्ठ छन्दकवि भुवनहरि सिग्देल, कवि प्रह्लाद पोखरेल, सन्तकवि गोविन्द विनोदी, डिल्लीप्रसाद मूलति हुन्, कवि प्रकाश चापागाईं, कवि कृष्ण पहाडी लगायत चितवनआसपासका दर्जनौँ वरिष्ठ कविहरूको उपस्थिति रहेको थियो ।

साहित्य सम्मेलनअन्तर्गत डा रामप्रसाद ज्ञवालीले ‘नेपाली छन्दकवितामा युगचेतना’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे भने त्यसमाथि प्राडा कपिल अज्ञातले परिपूरक विचार या टिप्पणी प्रस्तुत गरेका थिए । साथै प्राडा महादेव अवस्थी एवं प्रा राजेन्द्र सुवेदीले पनि साहित्य विषयक चर्चा प्रस्तुत गरे । सोही कार्यक्रमको बीचमा भर्खरै नवलपरासीमा भव्य कार्यक्रमका बीच कवि गोविन्दराज विनोदीलाई महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलम् ले अभिनन्दन समेत गरेको थियो ।

वि.सं. २०६० सालदेखि मकर काव्य यामिनीसँग जोडिँदै आजसम्म निरन्तर रहेका कवि गोविन्दराज विनोदीलाई महेश संन्यास आश्रमका वर्तमान पीठाधीश स्वामी रमणानन्द गिरिले दोसल्ला, ढाकाटोपी माला एवं अभिनन्दनपत्रसमेत प्रदान गरी अभिनन्दन गरेका थिए । 

दोस्रो कवितावाचन सत्रमा गुरुकुलका छात्र एवं देशका विविध भूभागबाट आएका कविहरूले उत्कृष्ट कविताहरू प्रस्तुत गरे । महेश संस्कृत गुरुकुलम्ले सो कार्यक्रमको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरेको थियो भने चितवन आसपासका कालिका एफ् एम्, सिनर्जी एफ् एम्, भरतपुर एफ् एम्, विजय एफ् एम्, लगायत सञ्चारमाध्यमले समेत सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रमका लागि काठमाडौबाट देवघाट पुगेका वरिष्ठ कविहरू लगायत चितवन, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, नवलपरासी, रूपन्देही लगायत आसपासका वरिष्ठ छन्दकवितासर्जकहरूको उपस्थितिले रौनक थपेको थियो ।

करिब मध्यरातसम्म सञ्चालित उक्त कार्यक्रममा लगभग छ दर्जनभन्दा बढी कविहरूले कवितावाचन गरे भने पाँचसय हाराहारी श्रोताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपालमा हुने साहित्यिक कार्यक्रमहरूमध्ये विशिष्ट कार्यक्रम हो । धार्मिक, प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक महत्त्वले परिपूर्ण देवघाटमा साहित्यिक वातावरण पनि उत्तिकै सशक्त रहेको छ ।

समाज, दर्शन, अध्यात्मजस्ता विषयहरूमा प्रस्तुत भएका सशक्त कविताहरूले नेपाली साहित्यमा रहेको छन्दकविताको सशक्ततालाई थप बल प्रदान गरेको थियो भने श्रोताहरूमा देखिएको धैर्यले कार्यक्रम उत्तिकै मनमोहक सिद्ध भएको थियो ।

महेश संन्यास आश्रमको रजतवर्ष महोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमले साहित्यका समालोचना र सिर्जना दुवै पाटोलाई समान महत्त्वका साथ अङ्गीकार गरेको थियो । गुरुकुलको गौरवमय रजतवर्षको अवसरमा आयोजित सो कार्यक्रम अत्यन्त सभ्य, भव्य र शालीन तरिकाले सम्पन्न भएको छ ।

नेपालमा भाषा, साहित्य एवं समालोचनाका क्षेत्रमा यस किसिमका कार्यक्रमहरू काठमाडौँबाहिर कमै हुने गरेको देखिन्छ । सभ्यताको अभिन्न अङ्ग मानिने भाषा तथा साहित्यको विकास एवं चर्चामा यस्ता कार्यक्रमहरूले टेवा पुऱ्याउने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै