• २०८१ बैशाख ७ शुक्रबार

चीनमा पक्राउ परेका क्यानडेली नागरिकलाई माफी दिन आग्रह

kharibot

क्यानडा । क्यानडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ ।

क्यानाडाले चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ । चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानाडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा वृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय दिएको थियो ।

गत वर्षको डिसेम्बरमा चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानाडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।

“हामीले क्यानाडास्थित चिनीया राजदूतसमक्ष यस बारेमा कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,” क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले बताए ।

विदेशमन्त्री फ्रील्यान्डले क्यानाडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरण गरे ।

“हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानाडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,” उनले भने ।

हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानाडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको भन्दै चीनमा पक्राउ गरिएको छ ।

ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले “शरीर बन्धक राजनीति” गर्न थालेको आरोप लगाएका छन् ।

चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै