• २०८१ बैशाख १२ बुधबार

प्रदेशको राजधानी र नामका विषयमा दबाब दिन काँग्रेसको बुटवलमा प्रदर्शन 

kharibot

बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी घोषणा र नामाकरण गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ। 

काँग्रेसले प्रदेशको स्थायी मुकाम रुपन्देही र नाम लुम्बिनी हुनुपर्ने भन्दै बिहीबार दबाबमुलक सभाको आयोजना गरेको हो । नेपाली काँग्रेस रुपन्देहीको आयोजनमा भएको सभालाई साबिक लुम्बिनी अञ्चलका छ जिल्ला सभापतिले साथ दिएका छन्।

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता बालकृष्ण खाणले लुम्बिनी क्षेत्रमा प्रदेश राजधानी बनाउनु मुलुकको स्वार्थको लागि भएको बताए ।  विश्वको एक मात्रै शान्तिभूमी लुम्बिनीको प्रवद्र्धन गर्दै प्रदेशका अरु जिल्लाको समुचित विकासका लागि रुपन्देहीमा राजधानी हुनुपर्ने उनले बताए। 

तत्कालीन शेरबहादुर देउवा सरकारले तोकेका अस्थायी राजधानी नै उपयुक्त भएको भन्दै राजनीतिको विषयमा कोही कसैले राजनीति नगर्न आग्रह उनको छ।

‘प्रदेश राजधानीको विषयमा राजनीति गर्न आवश्यक छैन, उपयुक्त स्थानमै अस्थायी राजधानी तोकिएको छ’, उनले भने, ‘मेरा मित्र मुख्यमन्त्रीलाई आग्रह गर्न चाहन्छु यही राजधानी बनाउन पहल थाल्नुस्।’

नेता खाणले राजधानी घोषणा मुख्यमन्त्री र मन्त्रीको झण्डा हल्लाउनका लागि नगरिएको भन्दै प्रदेशको विकास गरेर मुलुककै नमुना बनाउन आग्रह समेत गरे। 

प्रदेश नम्बर ५ ले राष्ट्रियताको रक्षा गर्दै समग्र मुलुककै नेतृत्व गर्न सक्ने भन्दै उनले बहुमत लिएका सरकारले काम गरेर देखाउन उनले आग्रह गरे। ऐतिहासिकताका हिसाबले दाङमा राजधानी माग्नु स्वभाविक भएपनि लुम्बिनीको जत्तिको गरिमा अन्य क्षेत्रले राख्न नसक्ने उनले जिकिर गरे। प्रदेशको राजधानी हलचल गर्न खोजिए आन्दोलन चर्काउने चेतावनी समेत उनले दिए।

अर्का नेता चन्द्र भण्डारीले अखण्ड प्रदेश ५ कै आन्दोलनले मुलुकको राष्ट्रियता जोखिएको भन्दै त्यसको आधारभूमि रुपन्देहीमा स्थायी राजधानी तोकिनुपर्ने बताए।  सरकार बनेका एक वर्षसम्म पनि प्रदेशको नामाकरण गर्न नसक्ने मुख्यमन्त्रीहरु ‘होली वाइन’ मा मस्त भएको कटाक्ष समेत उनले गरे।

‘एक-एक वर्षसम्म प्रदेशको न्वारन गर्न नसक्नेहरु होली वाइनमा लठ्ठिएका छन, काँग्रेसले  जगाउन चाहन्छ’, उनले भने।  नेता भण्डारीले पानी जहाज र रेलको सपना देखाउने ओली सरकारलाई विकास निर्माणको विषयमा प्रश्न सोध्न मतदातालाई आग्रह समेत गरे। सरकार भ्रष्टाचार र भाषणमा मात्रै सीमित भएको भन्दै वाइडबडी जहाज र प्रदेश ५ का गाडी खरिदमा र्‍याल चुहाउनेलाई कारबाही गर्न माग गरे।

बुटवलको सभामा बोल्दै पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेल,  कपिलवस्तुबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य वीरेन्द्र कनौडियाले पूर्वाधार, ऐतिहासिकता र पायक पर्ने आधारमा प्रदेश ५ को राजधानी रुपन्देही हुने बताए। 

सभामा पाल्पाका सभापति बिरबहादुर राना, अर्घाखाँची सभापति विष्णु मुस्कान, गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, रुपन्देहीका सभापति अब्दुल रज्जाकलगायतले बोल्दै रुपन्देहीबाट राजधानी सार्ने षडयन्त्र भए आन्दोलन चर्काउने चेतावानी दिए। सभाअघि बुटवलको राजमार्ग चौराहाबाट र्‍याली निकालिएको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै