• २०८१ बैशाख १२ बुधबार

हिमाली क्षेत्रमा मूल्य बढ्यो

kharibot

काठमाडौँ ।हिमाली क्षेत्रमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मुद्रास्फीति हिमालमा चार दशमलव एक प्रतिशत रहेको पाइएको हो । 

यस्तै पहाडमा तीन दशमलव आठ प्रतिशत, काठमाडौँ उपत्यकामा तीन दशमलव सात प्रतिशत र तराईमा तीन दशमलव सात प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः पाँच दशमलव पाँच प्रतिशत, चार दशमलव आठ प्रतिशत, तीन दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशत रहेको थियो । 

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत र भारतको दुई दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको पाँच दशमलव दुई प्रतिशत थियो । 

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति सात दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति एक दशमलव आठ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु, यातायातका उपकरण तथा पार्टस्, गैरखाद्य पदार्थलगायतका वस्तुको मूल्यवृद्धि भएकाले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

उपभोक्ता मुद्रास्फीति गत मङ्सिर महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सिमान्तरुपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो । 

गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत रहेको थियो । घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणलगायतका वस्तु तथा सेवाको मूल्य वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै