• २०८१ बैशाख ७ शुक्रबार

समकालीन नेपाली साहित्यबारे समालोचक महेश कार्की क्षितिजलाई १२ प्रश्न

kharibot
  • नेपाली साहित्यको समालोचना तथा कविता लेखनमा सक्रिय रहँदै आएका  महेश कार्की 'क्षितिज' काठमाडौंका युनिग्लोब र ट्रिटन कलेजमा नेपाली साहित्यको अध्यापन गर्छन् । अहिलेसम्म उनका दुई पुस्तक 'नयनराज पाण्डेका उपन्यासमा सबाल्टर्न' र 'व्यावहारिक समालोचनाका केही आयाम' प्रकाशित छन् भने उनको पहिलो कवितासंग्रह 'एकलव्य' पनि प्रकाशनको क्रममा  छ । प्रस्तुत छ हाल नेपाली साहित्यमा विद्यावारिधि गरिरहेका समालोचक तथा कवि महेश कार्की 'क्षितिज'सँग समकालीन नेपाली साहित्यको विषयमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :

अहिले कस्ता पुस्तकहरू पढ्नमा व्यस्त हुनुहुन्छ?

विद्यावारिधिको शोधकार्यमा व्यस्त विद्यार्थी भएको छु आजकल म । टेबलभरि सैद्धान्तिक  र साहित्यिक किताबहरू नै छन् । 'उपन्यास और जनसमुदाय र जाति और वर्ग : एक माक्र्सवादी दृष्टिकोण' सकेर मदनमणि दीक्षितको 'माधवी' उपन्यास फेरि पढ्दै छु । 'माधवी' मेरो शोधसँग सम्बन्धित एउटा समस्या पनि हो । र, मलाई मन पर्ने नेपाली उपन्यास पनि । सर्वगुण सम्पन्न नारीमा हुनुपर्ने गुण भईकन पनि ययातिले दान गरेकै भरमा माधवी घोडी भएकी छ । चार/चारवटा सम्राट् पुत्र पाएर हलिमक समेतको लेखो लगाउने हो भने पाँचवटा बलिष्ठ पुरुषकी अङ्गशायिनी बनेर मनभरि गालवलाई बोकेर हिँड्ने नारीको कथा साँच्चै कारुणिक छ । तत्कालीन युगकी राजकुमारी माधवीको समेत यस्तो दुर्दशा छ भने अन्य महिला र दासीहरूको अवस्था कस्तो थियो भनेर सोच्न यो उपन्यासले बाध्य बनाएको छ मलाई ।

पछिल्लो एक वर्षमा नेपाली साहित्यमा कस्ता पुस्तकहरू आए ? कालजयी रचनाहरू कतिको आइरहेका छन् ?

शिर र पाइताला नभएका साहित्य काम लाग्दैनन् । हल्लाले बिक्लान् तर टिक्न सक्दैनन् । कुनै लेखकले लेखेको साहित्य पढेपछि पाठकका मनमा समानधर्मिता आउन सकोस् । यतिबेला लेखक जति आफ्नो लेखनमा गम्भीर भएका छन् पाठक पनि त्यतिकै गम्भीर छन् । अघिल्लो कृतिबाट चर्चा कमाएका लेखकहरूको पछिल्लो कृतिको मूल्याङ्कन पाठकहरूले गरिरहेका हुन्छन् । आख्यानको समय छ भनेर उपन्यास र कथा लिएर बजारमा आएका केही कविहरूका किताब कहाँ पुगे ? किताब लेखनमा पनि घलेदौड भएको छ अहिले । यो मूलविनाको फोटोकपीको समय हो । फेसबुकमा पाएको लाइक र कमेन्टलाई आधार मानेर मान्छे लेखक बनेको भ्रम बाँचिरहेछन् । यस्ता किताब र लेखकहरूप्रति असन्तुष्टि खासै व्यक्त गर्नुपदैन, खहरे छोटो समयका लागि मात्रै आउँछ ।

र, कालजयी रचनाहरू पनि आइरहेका छन् जुन कृतिका शिर र पाइताला दरिला थिए तिनीहरू पाठकका मनका बस्न सके । योगमाया, भूइँया, पाठशाला, देखेको देश, कठपुतला, ऐलानी, नथिया, लिम्बूनी गाउँ, त्यसपछि फुलेन गोदावरी, छुटेका अनुहार, यार, दंश, आगोको वर्णमालाजस्ता कृतिहरू पनि छन् हामीसँग ।

विषयवस्तु छनौट र लेखन प्रवृत्तिका हिसाबले समकालीन नेपाली साहित्यले कत्तिको फड्को मार्दै छ ? देवकोटा, सम, मैनालीको समयको तुलनामा के–कस्ता रुपान्तरणहरू पाउनुभएको छ?

फ्रान्सेली विचारक मेडम डे स्टेलले साहित्यमा मानवका उदार भावना एवम् हावापानीको प्रभाव पर्छ  भन्ने जुन विचार व्यक्त गरेकी छिन्, त्यो विचारसँग म सहमत छु । समाजको धर्म, नैतिकता र कानुनी प्रभाव मुख्य रूपमा समकालीन साहित्यको विषय नै यही देखिन्छ । हामी बाँचेको समाज र भोगेको समयलाई लेखकले  कसरी प्रस्तुत गर्छ र पाठकका लागि नयाँपन दिनसक्छ कि सक्दैन भन्ने कुरा मुख्य रहन्छ । प्रेम विषय होस् या सामाजिक विषय होस् एकै फ्लेवरलाई काखी च्यापेर लेखक हिँड्छ भने पाठकले पत्याउँदैनन् । अहिले नेपाली साहित्यमा पाठक र लेखक दुवैले बुझेको कुरा यो छ । 

देवकोटा, सम, मैनाली, पारिजात, रिमाल सबै लेखकहरूले लेखेका कृति पढ्दा अहिलेकै समयको विश्वदृष्टि हामीले भेट्छौँ । र, उहाँहरूकै कतिपय रचनाका प्रतिक्रियात्मक धारणा पनि राख्ने गरेका छौँ । यसको मतलब समयसँगै विचार पनि नयाँ जन्मिँदै छ । लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्ने साहित्यको विषयवस्तुले पनि नयाँपन पाएको छ ।  
 
साहित्यमा कलाका साथसाथै दर्शन पनि हुनुपर्छ भनिन्छ । समकालीन नेपाली साहित्य के कस्ता 'इस्यु', दर्शन र नारा बोकेर अगाडि आइरहेको छ ?

आनन्दको अनुभूति गर्ने कुरा साहित्य हो । यो कल्पनाशीलतासँग सम्बन्धित हुन्छ । साहित्य केन्द्र हो । अरू सबै परिधीय कुरा हुन् । साहित्यका वरिपरि रहने कुराचाहिँ दर्शन हो । सबै कुराहरू साहित्यमै समेटिएका हुन्छन् । त्यही भएर साहित्य केन्द्र हो भने दर्शन परिधीय कुरा हो । दर्शन र साहित्य पृथक् पृथक् कुरा भए पनि एक ठाउँमा यिनीहरूको योग हुन सक्छ । दर्शनमा बौद्घिकता र साहित्यमा भावनाको प्रभुत्व बढी रहन्छ । शून्यमा कल्पना सम्भव छैन र कल्पना हुन दर्शनको आधारलाई टेक्नुपर्ने हुन्छ । यी दुवैले सत्यको अभिव्यक्ति दिने हुनाले साहित्यमा दर्शन हुनुपर्छ जस्तो लाग्छ मलाई । सुम्निमा, राधा, माधवी, आज रमिता छ, सकस, प्रेतकल्प, अलिखितजस्ता कृतिहरूको उचाइलाई हेरेर नै थाहा हुन्छ, दर्शन र संस्कृतिले युक्त साहित्य सुपारी बन्छ । नाराचाहिँ चाउचाउमात्रै बन्छन् ।

नेपाली साहित्यमा विभिन्न आन्दोलनहरू भए । पछिल्लो दशकमा पनि सिर्जनशील अराजकतालगाायतका नामका चर्का आवाजहरू उठे । यस्ता साहित्यिक आन्दोलनका उपलब्धि र प्रभाव कस्तो पाउनुहुन्छ ?

नेपाली साहित्यमा वि.सं. २०२० मा आयामेली आन्दोलन भयो । यसले नेपाली कथामा नयाँ आकृति र रूपको क्षितिज उघारिदियो । त्यसै गरेर वि.सं. २०२३ मा राल्फा आन्दोलन भयो । यसले नेपाली साहित्य र समाजमा देखिएको विकृति, विसङ्गति आदिलाई जरैदेखि उखेल्नुपर्छ भन्ने सोच ल्यायो । त्यस्तै वि.सं. २०२५ मा अस्वीकृत जमात आन्दोलन भयो । यसले पुराना स्थापित मूल्य र मान्यताबाट आफूहरू बढी शोषित र शासित भएको ठानी त्यसको विरोध गर्‍यो । वि.सं. २०२६ मा अमलेख आन्दोलन भयो । यसले स्वतन्त्र अभिव्यक्तिका लागि क्रियाशील रहने घोषणा ग¥यो । यस्ता साहित्यिक आन्दोलनले नयाँ धार ल्याएर साहित्य लेखनमा राम्रो उपलब्धि दिएको हामीले देखेका र पढेका छौँ । यसलाई हामी प्राप्ति र उपलब्धि मान्न सक्छौँ । त्यसैले राम्रोका लागि र परिवर्तनका लागि हुने यस्ता प्रकारका आन्दोलनहरू स्वाभाविक लाग्छ ।

पछिल्लो दशकमा आएका पुस्तकमध्ये तपाईँलाई मन परेका १० पुस्तकहरू ?

साहित्यको विद्यार्थी म । कलेजमा नेपाली विषय पढाउने मास्टर पनि । र, समीक्षा समालोचना लेख्ने मान्छे पनि । लगभग बजारमा के–के किताब आएका छन् भन्ने कुराको जानकारी म आफूलाई राख्न चाहन्छु । र, पढ्छु पनि । किताबले बोकेको विश्वदृष्टि कस्तो छ त्यसका आधारमा म  मन परेका किताबको नाम दिमागमा कोर्छु । कथामा मलाई भवानी भिक्षुको कथाचेत मनपर्छ । विश्वेश्वरप्रसाद कोइराला, मदनमणि दीक्षित, इन्द्रबहादुर राई, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्लको उपन्यासचेत मलाई मनपर्छ । दश वटाभन्दा बढी हुनसक्ने भएकाले नाम उल्लेख गर्दिनँ ।

समकालीन साहित्यको मुख्य कमजोरी के–के हुन् जस्तो लाग्छ तपाईँलाई ?

हामी ‘सलाद बबेल कल्चर’ बाँचेका मान्छे बजारमा बिक्न चाहन्छौँ । बजारमा केको माग छ भनेर दौडिन्छौँ । र, एउटा विधामा पोख्त मान्छे बिक्नका लागि अर्को विधामा हाम फाल्छौँ । अनि कतै पनि सफलता हात पर्दैन । चिन्ता र कुण्ठालाई जब साहित्यको नाम दिइन्छ, तब त्यहाँबाट नै कमजोरी कहाँ छ भन्ने कुरा पत्ता लागिहाल्छ, अहिलेको स्थिति नै यही हो । 

अहिलेको आख्यान ‘लभ स्टोरी’ र कविता वाचनशैलीले धानेको छ भन्ने आरोप लाग्ने गरेको छ । खास कुरो के हो ?

खास कुरो यो होइन । 'लभ स्टोरी' आख्यान राम्रो हुँदैन भन्ने होइन । तर, सुबिन भट्टराईको उपन्यास पढिसकेको मान्छेले अर्को लेखकको लभस्टोरी उपन्यास पढ्दै छ भने त्यहाँ सुबिन भट्टराईको लेखनको उपस्थिति किन पाउँछ ? आफ्नो लेखनको चमत्कार दिन नसक्ने अनि स्थापित लेखककै बुइ चढेर कोही लेखकले लभस्टोरी लेखेर अहिलेको समय धानेको छ भन्नु त हावा कुरा हो । कविताको वाचनशैलीमा पनि त्यही छ । युवापुस्ताले नवराज पराजुलीकै नक्कल गर्नुपर्छ भन्ने त छैन नि । उहाँको शैली उहाँको हो । मूलविनाको फोटोकपी नगरेको राम्रो । आफ्नो परिचय आफूले पो दिने हो त ।

तपाईँ समीक्षा/समालोचनामा सक्रिय हुनुहुन्छ । नेपाली समालोचकहरू सतही समीक्षा गर्छन् र आफ्नो गुटको गुणगानमा रमाउँछन्  भन्ने आरोप लाग्ने गर्छ । के नेपाली समालोचना भुत्ते नै हो त ?

मेरो पुस्ताका कति जना मान्छे समीक्षा समालोचना लेख्छन् ? यो प्रश्नको उत्तर निकै गहन हुनसक्छ । र, पत्रपत्रिकामा समीक्षा/समालोचनाका नाम दिएर छापिएका कतिपय लेखहरू कृतिको सूचनामात्रै हुन् । म नेपाली साहित्य समालोचनाकै विद्यार्थी । दुईवटा समालोचनाका किताबहरू लेख्ने प्रयास गरेको छु । समालोचकहरू सतही समीक्षा गर्छन् भन्ने मलाई लाग्दैन । समालोचना चियागफ होइन, यो बौद्धिकता हो । त्यसै त समालोचना कर्म गर्ने मान्छेको कमी छ यहाँ, गुट बनाउने र गुटकै गुणगान गाउने फुर्सद समालोचकलाई हुन्न । समालोचना एवम् समीक्षा गर्न गफले मात्रपुग्ने विषय होइन, पढ्नुपर्छ । र, नेपाली समालोचनामा धार थप्ने हाम्रो कर्तव्य पनि हो ।

पहिलो कृति प्रकाशित गरेका वा गर्ने क्रममा रहेका नवलेखकहरूको उपस्थिति कस्तो देख्नुहुन्छ ? नेपाली साहित्यलाई फैलाउने सम्भावना छ उनीहरूमा ?

पठन संस्कार बढेजस्तै लेखन संस्कार पनि बढेको छ नेपालमा । यो राम्रो पक्ष हो । पहिलो कृति प्रकाशन गर्ने लेखक नयाँ नै हुन्छ । पुस्तक प्रकाशन गर्नु चुनौती हो यो कुरालाई उसले बुझेको हुन्छ बुुझ्नु जरुरी पनि छ । मलाई त लाग्छ नयाँ विचार नयाँ लेखकहरूले ल्याउन सक्छन् यदि उनीहरू आफ्नो परिचयमा अरूको गजुर लगाएका छैनन् भने ।

नेपाली साहित्यिक पुरस्कारहरू निकै चर्चा र विवादमा रहने गरेका छन् । के हो तपाईले बुझ्नुभएको यथार्थ ?

हरेक वर्ष पुरस्कारको कुरा हुन्छ । कुनै एउटा कृतिले पुरस्कार पाउँछ त्यसमा विरोध पनि आउँछ र समर्थन पनि । कृतिमाथि हरेक पाठकले फरक तरिकाले दृष्टिकोण राख्न सक्छन् । मलाई मन परेको किताब अर्को व्यक्तिलाई मनपर्छ भन्ने हुँदैन । प्रतिस्पर्धा हुनुपर्छ र मूल्याङ्कन पनि सही हुनुपर्छ भन्ने पाठकहरूको मान्यता हो । तर, हामी 'हेजेमोनी' संस्कृति स्वीकार गर्ने 'हेजेमोनाइज्ड' भयौँ । र, पुस्कारमा पनि ठगिइरहेका छौँ ।

अन्त्यमा,

नेपाली साहित्यका पाठकहरूलाई समीक्षा समालोचना गर्नका लागि के–कस्ता टिप्सहरू दिनुहुन्छ ?

समीक्षा समालोचना चुनौतीपूर्ण काम हो । कृतिलाई हेर्ने दृष्टिकोण अनेक आयाममा बाँड्न सक्नुपर्छ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउनका लागि सिद्धान्तको अध्ययन आवश्यक छ । समालोचकले कृति र कृतिकारका कला सामर्थ्यले अनि सुन्दर असुन्दर पक्षलाई मीमांशा गर्न सक्नुपर्दछ । कृतिको केन्द्रमा बसेर समालोचकले राम्रा र नराम्रा पक्ष खुट्याउने जोखिम मोल्न सक्नुपर्दछ । कृतिको सूचना दिएर मात्रै समालोचना गरेँ भनेर ढुक्क हुनुहुँदैन । वैचारिक र पद्घतिगत अस्त्र कुन–कुन उपयोगी हुन्छन् यो कुरालाई अभ्यासी समीक्षक एवम् समालोचकले ध्यान दिनुपर्दछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै