• २०८१ बैशाख ७ शुक्रबार

डा. केसीसँगको सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : विवेकशील नेपाली दल  

kharibot

काठमाडौँ l विवेकशील नेपाली दलले डा.गोविन्द केसीको १६औं सत्याग्रह र स्विस बैंकमा थुपारिएको कालो धन बारे आफ्नो धारणा सार्वजनिक गरेको छ l 

दलका प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा डा.गोविन्द केसीलाई सरकारले सोह्रौं सत्याग्रह शुरु गर्न बाध्य बनाएको स्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
सरकार आफैंले यस अगाडि १५ औं सत्याग्रहका बेला डा केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण यो अवस्था आउनु दुर्भाग्यपूर्ण कुरा भएको जनाउदै दलले डा.केसीको अनशनको दशौँ दिन पुगिसक्दा पनि सरकारका तर्फबाट उनको जीवन रक्षाका लागि कुनै पहल नहुनुले सरकारको चरम गैर–जिम्मेवारीपन र संवेदनविहीनता देखाएको उल्लेख गरेको छ । 

साथै डा केसीले उठाएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्र सुधारका मुद्दाहरुमा समेत सरकारको ध्यान पुगेको नदेखिएको बताउदै ती क्षेत्रको विकास र सुधार राज्यकै पहिलो जिम्मेवारी भएको बताएको छ । 

सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिनुपर्छ भन्दै विवेकशीलले त्यसो नभई सरकार अझै पनि मौन बस्ने, व्यवहारमा आफैंले गरेको सम्झौता कुल्चने र डा केसीको स्वास्थ्य जोखिममा पर्दै जाने हो भने दबाबका लागि हदैसम्मका विरोध कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी समेत दिएको छ l 

विवेकशीलले डा.केसीको सत्याग्रहलाई साथ् दिन यहि माघ ५ गते शनिवार, माईतीघर मण्डलामा नागरिकस्तरबाट आयोजना हुने शान्तिपूर्ण दवाव कार्यक्रममा उपस्थित हुन नागरिकहरुमा आव्हान समेत गरेको छ l

त्यस्तै स्विस बैंकमा थुपारिएको कालो धन बारे विवेकशील दलले आफ्नो दलको ध्यानाकर्षण भएको भन्दै स्विस बैङ्कमा जम्मा रकमको अझै मिहिन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल सरकार समक्ष माग गरेको छ l

साथै विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि माग गरेको छ l यस विषयमा सुशासन पक्षधर सबै व्यक्ति र शक्तिहरूसँग मिलेर विवेकशील नेपाली दलले अभियान चलाउने जानकारी गराएको छ l
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै