• २०८१ बैशाख ६ बिहीबार

'कामसूत्र'सँग जोडिएका भ्रमपूर्ण बुझाइ 

kharibot

महर्षि वात्स्यायनद्वारा प्रणित प्राचीन ग्रन्थ कामसूत्र विश्वभर लोकप्रिय छ । विशेषतः यौन आसनको लागि प्रसिद्ध कामसूत्रमा यौन क्रीडाबाहेक पुरुष र महिलाबीचको प्रेम र सम्बन्धलाई कसरी बढाउने र जीवनमा कसरी पूर्ण आनन्द लिन सकिन्छ यसको उपायबारे पनि उल्लेख गरिएको छ ।

यौन सम्बन्ध मानव जीवनको एक अभिन्न र महत्त्वपूर्ण पाटो हो । यसको अनुभव र ज्ञानद्वारा जीवनलाई सुन्दर र आनन्दित बनाउन सकिन्छ । यौनको माध्यमले जीवनमा कसरी आनन्द लिन सकिन्छ र जीवनलाई कसरी सुन्दरतम बनाउन सकिन्छ भन्ने जानकारी दिनु नै कामसूत्रको प्रमुख उद्देश्य हो ।

कामसूत्र के हो ?

कामसूत्र संस्कृत भाषामा रचिएको प्राचीन ग्रन्थ हो । यसमा भारतीय परिवेश र मानिसहरुको आपसी सम्बन्धबारे विस्तारपूर्वक वर्णन गरिएको छ । यस ग्रन्थमा प्रेमको परिभाषा वैज्ञानिक तथ्यसहित दिइएको छ । यसको लक्ष्य महिला र पुरुषको सम्बन्धलाई प्रगाढ बनाउनु, एकआपसमा प्रेम बढाउनु र एकअर्काको कर्तव्यलाई उजागर गर्नु हो । कामशास्त्र शब्दको शाब्दिक अर्थ कामको सिद्धान्त प्रतिपादन गर्ने ग्रन्थ भन्ने हुन्छ । यस गन्थमा शारीरिक र भावनात्मक सन्तुष्टिलाई काम शब्दले बयान गर्न खोजेको छ ।

कामसूत्र संसारमा काम क्रियाबारे लेखिएको पहिलो ग्रन्थ हो । महर्षि वात्सायनबारे इतिहासमा कुनै प्रमाणित जानकारी छैन । तर, वात्स्यायनबारे विद्वानहरुले दक्षिण पश्चिम भारतमा स्थित खजुराको मूर्तिकला हेरेर उनी सोही स्थानका हुन् भनी अनुमान गरेका छन् । गुप्तकालको समयमा साहित्य र वास्तुकलाको विकास तीव्र गतिमा भएको थियो । त्यसैले महर्षि वात्स्यायनद्वारा रचित कामसूत्र यही समयको हो भन्ने धारणा पाइन्छ ।

महर्षि वात्स्यायनले कामसूत्र लेख्नुको उद्देश्य केवल यौन आसनको उल्लेख गर्नु मात्र होइन । उनले काम अर्थात् मनमा लुप्त वासनाको सैद्धान्तिक अथवा वैज्ञानिक विश्लेषण गर्दै यो ग्रन्थको रचना गरेका हुन् । यो ग्रन्थमा आनन्द प्राप्तिका लागि अपनाउन सकिने तरिका र दम्पतीले निभाउनुपर्ने त्यस्ता कर्तव्यको बारेमा उल्लेख गरिएको छ जसको पालनाले जीवन प्रेमिल, आनन्दमय र सुन्दर हुन्छ ।

कामसूत्रसँग जोडिएको भ्रम 

कामसूत्र यौन आसनबारे उल्लेख गरिएको ग्रन्थ हो 

कामसूत्रमा केवल यौन आसन (सेक्स पोजिशन) बारे उल्लेख गरिएको छ भन्ने अधिकांशको धारणा छ । वास्तवमा यो सत्य होइन । कामसूत्रको करीब २० प्रतिशत भागमा मात्र यौन क्रियासम्बन्धी प्रसंग छ । यसबाहेक यो ग्रन्थमा महिला र पुरुषको सम्बन्ध तथा कर्तव्यमा निकै गम्भीर चर्चा गरिएको छ । कामसूत्रको एक भागमा मात्र ६४ आसनबारे बताइएको छ । तर यौन आसनबाहेक यस ग्रन्थमा काम भावनाको उत्पत्ति, कामेच्छा जगाउने तरिका, काम क्रियाका सकारात्मक र नकारात्मक पक्ष आदिबारे सरल ढंगले वर्णन गरिएको छ ।

यौनग्रन्थ मान्नु

महर्षि वात्स्यायनले यस ग्रन्थमा कामको बारेमा उल्लेख गरेका छन् । काम शब्दको अर्थ केवल यौन आनन्द अथवा सेक्स हो भन्ने मानिन्छ । तर कामको अर्थ त्यतिमात्र नभई अन्तरंग भावना र इन्द्रियद्वारा महसूस गरिने आनन्द पनि यसमा निहित छ । जस्तै, कुनै नरम कपडाले शरीरलाई स्पर्श गर्दा, संगीतको मधुर धुन सुन्दा, कुनै खानाको स्वादमा, अथवा सुगन्धबाट प्राप्त हुने आनन्दलाई नै यस ग्रन्थमा कामको रुपमा परिभाषित गरिएको छ । कामसूत्रको एक भागमा मात्र यौन क्रियासम्बन्धी कुरा उल्लेख गरिएको छ ।

आधुनिक युगमा यसको प्रयोजन छैन 

कतिपयले कामसूत्रको हाल कुनै पनि प्रयोजन छैन भन्ने मान्दछन् । तर यसले महिला पुरुषको सम्बन्ध कसरी सबल हुन्छ भन्ने जस्तो अहं विषयलाई आत्मसात् गरेको हुनाले यो आजको मानवजीवनमा पनि यसको त्यतिकै महत्त्व र प्रयोजन छ ।

तान्त्रिक ग्रन्थ 

हाम्रो समाजमा कतिपय मानिसहरु कामसूत्रलाई यौन क्रियाका साथै तान्त्रिक ग्रन्थ पनि मान्दछन् । वास्तवमा यो तन्त्रविद्याभन्दा पूर्णतः भिन्न ग्रन्थ हो । कामसूत्रमा समाजमा महिला र पुरुषको सम्बन्ध र कामलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बयान गरिएको छ । यो कुनै तान्त्रिक विद्या होइन ।

कामसूत्र पुस्तक 

महर्षि वात्स्यायनको यो ग्रन्थ सात अध्यायमा लेखिएको छ । यसमा व्यक्तिको दाम्पत्य जीवन सरल बनाउने र दम्पतीको कर्तव्यको बारेमा विस्तारपूर्वक बयान गरिएको छ । महिला तथा पुरुषले कसरी आफ्नो सम्बन्ध सुमधुर र सुखी बनाउन सक्छन् भन्ने कुरामा यसमा गहन विश्लेषण गरिएको छ । यौन सम्पर्कको समयमा व्यक्तिले कस्तो आचरण गर्नुपर्छ र कुनकुन आसनको सहयोग लिन सकिन्छ भन्ने सम्पूर्ण जानकारी यसमा उल्लेख छ । सात अध्यायमा बाँडिएको यो ग्रन्थमा कुल ३६ अध्याय तथा १२५० श्लोक छ ।

यसका सात भागमा के छन् त भन्ने निम्नानुसार उल्लेख गरिन्छ ः

१. भूमिका 

यो पहिलो भागमा पाँच अध्याय छ । यसमा प्रेम तथा निकटताको बारेमा बताइएको छ । यसबाहेक पुरुष तथा महिलाको लागि प्रेमको अर्थलाई वर्गीकृत गरी विश्लेषण गरिएको छ ।

२. यौन क्रिया

यो भागमा दश अध्याय छन् । यसमा महिला तथा पुरुषका यौन इच्छा, अंकमाल गर्ने तरिका, चुम्बन, नङको प्रयोग, दाँतले पार्टनरको शरीरमा निशान बनाउनु, यौन सम्पर्क गर्दा महिलाको पीडा, महिलासँग गर्नुपर्ने विनम्र व्यवहार, मुखमैथुन, यौनसम्पर्क सुरु गर्ने तरिका तथा यसको अन्तिम चरणको बारेमा बताइएको छ । यसबाहेक यो भागमा ६४ प्रकारका यौन आसन (सेक्स पोजिशन) को पनि बयान गरिएको छ ।

३. विवाहसम्बन्धी जानकारी

यो भागमा पाँच अध्याय छ । यसमा विवाहसँग सम्बन्धित आवश्यक सल्लाह दिइएका छन् । यससँगै महिलालाई विवाहको लागि तयार गर्ने विषयमा पनि बताइएको छ ।

४. पत्नीको आचरण 

यो भागमा दुई अध्याय छ । यसमा पत्नीको आचरण र व्यवहारको बयान गरिएको छ ।

५. अन्य पत्नीको बारेमा ः यो भागमा ६ अध्याय छ । यसमा राजाहरु अन्य पुरुषका पत्नीप्रति आकर्षित हुने कुराको बयान गरिएको छ ।

६. वेश्याको बारेमा 

यो भागमा ६ अध्याय छ । यसमा महिलाले पैसा कमाउन पुरुषसँग कस्तो प्रेम गर्छन् भन्ने वर्णन गरिएको छ ।

७. आकर्षणको उपाय

यो भागमा २ अध्याय छ । यसमा कसैलाई आकर्षित गर्ने तरिका र विधिको बारेमा वर्णन गरिएको छ ।

कामसूत्रका अनूदित पुस्तकहरुमा विभिन्न यौन आसन सचित्र प्रस्तुत गरिएका छन् । मूल ग्रन्थमा भने यसप्रकारका चित्र छैनन् । यस्ता अनूदित पुस्तकका कारण पाठकको ध्यान यस ग्रन्थको मूल मर्ममा नगई अतिरञ्जित कुरामा मात्र गएको हो । वास्तवमा यसमा महिला र पुरुषको सम्बन्ध, आत्मीयता, काम कर्तव्यबारे गहिराइमा वर्णन गरिएको छ । तर, पाठकहरु यसबाहेक केवल यौन आसन (सेक्स पोजिसन) र यौन क्रियामा मात्र केन्द्रित भयो ।

कामसूत्र र यौन

कामसूत्रमा मानिसको आनन्दको अनुभूतिमा यौन क्रियालाई समावेश गरिएको छ । यसमा यौनबारे विस्तारमा वर्णन गरिएको छ । यसका साथै कामसूत्रमा महिला र पुरुषद्वारा यौन सम्पर्कको समयमा गर्ने क्रिया तथा आचरणबारे पनि गहनतापूर्वक वर्णन गरिएको छम । कामसूत्र र यौनको सम्बन्धलाई यसरी हेर्न सकिन्छ ।

यौन के हो ?

कामसुत्रका अनुसार यौन प्रत्येक व्यक्तिको जीवनको एक महत्त्वपूर्ण भाग हो । यसमा महिला तथा पुरष केवल शारीरिक रुपले मात्र नजोडिई मानसिक र आत्मिक रुपले पनि एकअर्काबीच सम्बन्ध स्थापित गर्छन् । यौनको समयमा भावनाको अहं भूमिका हुन्छ । त्यसैले यसलाई केवल शारीरिक क्रिया मान्नु गलत हुन्छ । यसमा पुरुषले आफ्नो सन्तुष्टिका साथै महिलाको सन्तुष्टिको पनि पूर्ण ध्यान राख्नुपर्छ ।

यौनको लागि आवश्यक के ?

कामसूत्रका अनुसार चारैतिर हल्का सुगन्ध र उज्यालो भएको स्वच्छ स्थानमा यौन सम्पर्क राख्नुपर्छ । यो पल यादगार रहोस् भन्नेमा पूरा ध्यान दिनुपर्छ । दम्पतीले यौन सम्पर्क राख्नुभन्दा अगाडि आफ्ना सम्पूर्ण चिन्तालाई भुल्नुपर्छ । यो समयमा महिला तथा पुरुषले एकाग्र भएर आफ्नो दिमाग र भावनालाई प्रेममा लगाउनुपर्छ । प्रेम र एकीभावद्वारा गरिएको यौन सम्पर्कले दुवैलाई सन्तुष्टि प्रदान गर्छ ।

यौन सम्पर्कको तरिका 

यो विषयमा कामसूत्रमा विस्तारपूर्वक वर्णन गरिएको छ । यसको अध्याय दुईमा ६४ यौन आसनको माध्यम बताइएको छ । कामसूत्रका कतिपय अनुवादकले केवल यो अध्यायमा बढी जोड दिएका छन् । तर, कामसूत्रमा यौन सम्बन्ध र सन्तुष्टिको लागि अन्य धेरै विधि र तरिकाको बयान गरिएको छ ।

आजको समयमा कामसूत्रको महत्त्व

केही समयपहिले मानिसहरु यौनको बारेमा कुरा गर्न हिच्किचाउँथे । तर, हाल युवावर्ग यस विषयमा खुलेर कुरा गर्न थालेका छन् । कामसूत्र यौनको विषयमा पाठकलाई शिक्षित गर्ने ग्रन्थ भएकाले यसको महत्त्व बिस्तारै बढ्दै गएको छ । यसको अध्ययन गर्ने पाठकले यौन सम्पर्कको तरिकाको बारेमा मात्र नभई महिला र पुरुषको सम्बन्धलाई कसरी सबल बनाउन सकिन्छ, एकआपसप्रतिका कामकर्तव्य केके हुन् भन्ने जस्ता ज्ञान प्राप्त गर्न सक्छन् । यसको अध्ययनले मानिसहरुले यौनको समयमा हुन सक्ने गल्तीबाट बच्न सक्छन् र चरम आनन्द प्राप्त गर्न सक्छन् । कामसूत्रले पाठकमा यौन क्रियासम्बन्धी सकारात्मक धारणा प्रसारण गर्छ । यो ग्रन्थको सहायताले महिला र पुरुष दुवैले प्रेम र दाम्पत्य जीवनमा आआफ्नो भूमिका को हो भनी सजिलै बुझ्न सक्छन् ।

कामसूत्रका आसन

कामसूत्रको दोस्रो भागमा यौनसम्पर्कको लागि आवश्यक तरिकाबारे वर्णन गरिएको छ । यसमा यौन इच्छा, अंकमाल गर्नु, चुम्बन, यौन क्रियामा नङ र दाँतको प्रयोग, महिलालाई हुने पीडा, पुरुषको विनम्र व्यवहारको आवश्यकता, मुखमैथुन आदिको सविस्तार वर्णन गरिएको छ । यसमा ६४ यौन आसनको उल्लेख गरिएको छ । ती यौन आसनमध्ये यौन सम्पर्कको बेला प्रयोग गर्न सकिने केही प्रमुख आसन यसप्रकार छन्  :

  1. उत्फुल्लक
  2. इन्द्राणिक
  3. वेष्टितक
  4. विजृम्भितक
  5. बाडवक
  6. वेणुदारितक
  7. शूलाचितक
  8. पद्मासन
  9. परावृत्तक
  10. स्थिररत
  11. अवलम्बितक
  12. धेनुक
  13. कृषक
  14. भुग्नक
  15. जृम्भितक
  16. पार्शव सम्पुट
  17. उत्तान सम्पुट
  18. उत्पीडितक

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै