• २०८१ बैशाख १३ बिहीबार

कर्मचारी र प्रहरीमा सरकारले हस्तक्षेप गर्यो : सभापति देउवा

kharibot

कास्की । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् । 

काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उहाँले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राखे । 

सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको बताए । सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको भनाइ उनको छ । 

“वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ ।” सभापति देउवाले भने, “हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।” 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाए । देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै उनले भने,“अवसर पाउँदा पनि सरकारले अवसरको सदुपयोग गर्न असफल भयो ।” 

नेता पौडेलले सरकारले देशलाई विकासको बाटोमा लान नसकेको र विकासका काम अहिले अलपत्र परेको बताए । कार्यक्रममा निजामती कर्मचारी सङ्घसँग आवद्ध भएर सङ्घको विकासमा योगदान पुर्याउने प्रदेशका ११ वटै जिल्लाबाट एक÷एक जनालाई सम्मान गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै