• २०८१ बैशाख ६ बिहीबार

मुटुरोगको मुख्य कारक खानपान र जीवनशैली

kharibot

पर्वत । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । 

कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताए । 

उनले जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताए । पर्वतको कुश्मामा आएका डा भट्टराईले मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने जानकारी दिए । 

धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइड्रेडजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ । मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्नेमा बताए । 

त्यसैगरी फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा भट्टराईले वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । उनले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक सङ्केत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए । 

जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने बताउँदै उनले आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशील अङ्ग मुटुरोगबाट बच्न सकिने विचार व्यक्त गरे । 
डा भट्टराईले आवश्यक जनशक्तिको अभाव र सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको उल्लेख गर्दै मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार र शल्यक्रिया नेपालमै हुने बताए । 

विपन्न नागरिकलाई राज्यले केही सहुलियत दिन थालेको बताउँदै उनले मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । 

पर्वतकै मोदी गाउँपालिकामा जन्मिएका डा भट्टराईले पर्वत जिल्लामा ३० प्रतिशत मुटुरोगी रहेको बताए । सेभ द हार्टका संस्थापकसमेत रहेका डा भट्टराईले विभिन्न जिल्लामा दर्जनौँ स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न र अनाथ नागरिकको मुटुरोग परीक्षण र उपचार गर्दै आएको जानकारी दिए । उनले नेपालमा सबै किसिमको मुटुको शल्यक्रिया सम्भव भएको बताउँदै भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्माजात मुटुरोगीको प्वाल टाल्ने शल्यक्रिया, मुटुको नली फुटेको सर्जरी हुने बताए । 

कृत्रिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाइस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको उनको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै