• २०८१ बैशाख १३ बिहीबार

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरीको अन्त्यतिर हुने

kharibot

फाइल तस्बीर

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो “फेबु्रअरीको अन्त्य तिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । 

उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो । 

“राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घण्टा बैठक गर्नु भयो, बैठकमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,” ह्वाईट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने । 

उनले शिखर बैठकको ठाउँ र आउदो फेब्रुअरीको अन्त्य तिर बैठक गर्ने बारेमा छलफल भएको जानकारी दिए । 

दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको छ । 

उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन्। उनी उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुन् । 

उनले ट्रम्प र अमेरिकी उच्च अधिकारीहरुसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेका छन् ।

किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । 

किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो । 

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । 

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएपनि आउने फेब्रअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भने भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै