• २०८१ बैशाख १३ बिहीबार

सभामुखको भूमिका तटस्थ नभए शुक्रबार संसदमा मुठभेड हुनसक्छ – गगन थापा 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद थापाले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ ।

सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’

साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विद्येयक अरु विद्येयकभन्दा फरक विद्येयक भएको उल्लेख गरे । थापाले भने,‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’

सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे,‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा, यतिखेर सम्मानीय सभामुखको भूमिका त विवेकपूर्ण ढंगबाट, किन हामीले देखेका छौं नि । सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विद्येयक सदनमा पनि सम्झौता भएर आएको छ । यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा सम्पूर्ण रुपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो । यो स्विकार्य छैन । यो अस्विकार्य छ ।’

नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । उनले भने,‘यहाँबाट फद्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर । के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो ? पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ ? यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ।

त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ? पार्टीले हो ? सदन चलाउने सरकारले हो ? के सदन चलाउने सभामुखले हो ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।’

भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए । उनले थपे,‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ ।’

यद्धपी थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे । ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’–उनले थपे ।

प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने थापाको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्रीले लाचारी दोहोर्याउनु हुँदैन । मैले सम्झौता गरेकै हो, तर सदनले मान्दैन त म के गरौं ? सम्झौता भनेको यस्तै हो । कहिलेकाहीँ गरेको बेलामा गर्ने हो, बलियो भएको बेलामा उल्लंघन गर्ने हो भनेर भन्ने ? देशको प्रधानमन्त्रीले सम्झौता गरेको पालना गर्ने चिज होईन, सम्झौता भनेको गर्ने चिज हो । लेख्ने चिज हो भनेर भन्नुभयो भने यहाँभित्र थिति बस्दैन् । त्यो कारणले प्रधानमन्त्रीले यसमा पनि ध्यान पुर्याउनुहुन्छ भन्ने म अहिलेपनि अपेक्षा गर्छु ।’

भोलि विद्येयक अघि बढाईयो भने तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘सदनमा प्रतिपक्ष दलले आफ्ना विषयहरु राख्ने कुराको सन्दर्भमा सदनको मर्यादाभित्र रहेर आफ्नो कुराहरु राख्छ । राख्दैपनि आएको छ । तर, कतिपय कुराहरुको सन्दर्भमा सदनमा फरक ढंगबाट आफ्नो कुराहरु, सदन चल्न नदिएर, बैठक अवरुद्ध गरेर आफ्नो कुराहरु राख्छ । यो सदनको स्थापित परम्परा पनि हो । र, यसरी पनि प्रतिपक्षले सदनको मञ्चलाई प्रयोग गर्छ । होईन भने त सदनमा प्रतिपक्ष त जहिल्यैपनि अल्पमतमा हुन्छ ।

अल्पमतमा भएको कारणले गर्दा तँ अल्पमतमा भन्ने कुरासँग तेरो अल्पमतको संख्याको कारणले गर्दा म तलाई सजिलै पेल्छु भनेर भन्ने हो भने त सदन यो चार वर्ष चलाउँदै नचलाए भयो । पास गर्ने कुराहरु सदनमा ल्याउँदै नल्याए भयो नि । सँधै पास भैहाल्यो नि । त्यसैले भोलि हाम्रो भूमिका के हुन्छ भन्ने कुरामा सरकारको भूमिकामा निर्भर हुन्छ । सरकारले हामीलाई छलफल गर्छ । हामीलाई बोलाउँछ भनेर हामी अझैपनि अपेक्षा गर्छौं । सभामुखले छलफलको लागि बोलाउनुहुन्छ भन्ने अपेक्षा छ । हामी मुठभेड गर्न चाहँदैनौं । यत्रो धेरै कानुन सरकारलाई बनाउनु छ । सरकारलाई कानुन चाहिएको छ।’

संसदको नियम ११ ले भोलि शुक्रबारको बैठकमा प्रश्नोत्तर गर्नुपर्छ र प्रश्नोत्तर गरिसकेपछि गैरसरकारी विषयमा छलफल गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनेको कुरा पनि उनले सुनाए । थापाले भने,‘त्यसपछि मात्रै सदनमा सरकारी विषयमा छलफल हुन्छ भनेर नियमले भन्छ । भोलि सभामुखको सबैसँग बराबरी व्यवहार छ भन्ने कुरा, यस्तो नियमहरुलाई उहाँले पालना गर्नुहुन्छ कि हुन्न भन्ने कुराले पनि देखाउँछ । त्यसैले यो सभामुखको भूमिका र सरकारको भूमिकामा भर पर्छ ।’

सभामुख महराको भूमिका निश्पक्ष नभएको आरोप लगाउँदै थापाले भने,‘सम्मानीय सभामुखज्यूको भूमिका निश्पक्ष भएन, तटस्थ भएन । सबैभन्दा ठूलो कुरा न्यायपूर्ण भएन । विवेकसम्मत् भएन ।’

थापाले आफूहरुले अब एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नुहने कुरा जोडदार रुपमा उठाउने पनि स्पष्ट पारे । उनले भने,‘नेपाली कांग्रेसले यो विषय किन छोड्यो ?, मैले अहिले कुरा गर्दा पछाडि फर्केर कुरा गरेजस्तो हुन्छ । एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुँदैन भन्ने कुरा हाम्रो पार्टीले जोडदार रुपमा उठाएर यो अर्को संघर्षको विषय बनाउनुपर्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै