• २०८१ बैशाख १३ बिहीबार

सुल्तान अब्दुल्लाह बने मलेसियाको नयाँ राजा 

kharibot

क्वालालमपुर । मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् ।  संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औ राजा भएको अधिकारीहरूले जनाएका छन् । 

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उनले पद वहाली गर्ने भएका छन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो । 

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उनी पहिलो राजा हुन् ।  उनले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन । तर उनले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ । 

राजिनामाको घोषणा गर्नुअघि ४९ बर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए । 

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ बर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए । अस्वस्थताको कारण देखाउदै उनका पिताले पद त्याग गरेका थिए । 

नयाँ राजा अब्दुल्लाह खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुन् । उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भैसकेका छन् । साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन् । 

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेबारी सम्हालेका ६२ बर्षिय नज्रिनलाई उपप्रमुखको रुपमा फेरी पनि पाँच बर्षका लागि निरन्तरता दिइएको हो । 

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ । 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकतावद्ध राखेको विश्वास गर्छन् । 

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ । 

यसरी छानिन्छ राजा :

मलेसियाका १३ राज्य मध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणाली मार्फत् पाँच पाँच बर्षका लागि राजा छान्ने परम्परा रहेको छ । 

प्रायः पालो कुरेर बसेका सुल्तान पालै पालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो । 

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन् । 

राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै