• २०८१ बैशाख ७ शुक्रबार

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

kharibot

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगित गरिएको छ । 

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो । 

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगित गरिएको हो । 

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगित गरिएको बताए । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उनले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उनीहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताए । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उनले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गरे । 

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै