• २०८१ बैशाख ११ मंगलबार

बारा दुर्घटना : थप उपचारका लागि सिडिओलाई काठमाडौँ ल्याइयो 

kharibot

काठमाडौँ । शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

नेपाली सेनाको मेडिकल टिमसहित वीरगञ्ज पुगेको हेलिकप्टरले भट्टराईलाई काठमाडौँ ल्याएको हो । भट्टराईलाई धापासीस्थित ग्रांडी अस्पतालमा पुर्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेपछि शनिबार नै शल्यक्रिया गरिएको थियो । 

उनी सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । उनको शवलाई काठमाडौँ पठाइसकिएको बारा प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै