• २०८१ बैशाख १३ बिहीबार

विश्व मानचित्रमा तिमी र म (कविता)

kharibot

आदिम युगहरुमा तिमी र म
एउटै छहारिमुनी बसेर
हुर्कायौँ एकैसाथ आ-आफ्ना सन्तानहरु !
अफसोच !
किन हराइरहेछन् फरक आकृतिका एउटै रङ्गहरु ?
किन चर्किरहेछन् बरम्बार ऐनाहरु ?
म सधैँ देख्छु,निलो आकाशमा
आफ्नै गतिमा टुक्रीरहेछन् - रक्तकणका धागोहरु !
विखण्डनवादको चरमोत्कर्षमा 
विस्तारवादीले बजाइरहेछ- मानवताको बाँसुरी !
त्यसैले त हरेक दिन
निर्वासित भैरहेछन् - कयौँ युगहरु !

आज, 
तिम्रो उत्पिडनले मलाई 
मेरो उत्पिडनले तिमीलाई
किन थपिरहन्छ विक्षिप्तता ?
हामी त एकाकार भएर
धरती सिँगार्ने सृजनशिल श्रमजीवी पो त !
अणुको अहम्कार बोकेर
कहाँ लखेटिरहेछौँ शालिनता ?
साँच्चै हामी त
माटोको रक्षा गर्ने धरतीरक्षक पो त !
अनायास,कसरी विनिमय गर्ने दलाल भैसकेछौँ ?
ओहो !
हमी त प्रकृतिको चुलोमा
साझा सपना भर्भराउनुपर्ने मान्छे
कसरी अहम्कारि झण्डा फर्फराउन पुगेछौँ ?
र भुलिरहेछौँ पहिचानको नाममा आफ्नै हुलिया !

जब पुँजीवादको दास बनेर,
उत्तर आधुनिकताको संघारमा उभिएर
साम्राज्यवादको छाती फुलाउन नपाउँदै
भत्किनेछन् षड्यन्त्रका बाँधहरु,
तब एकाएक हरानेछन्- अस्थिपन्जरका विषालु डामहरु
लखेटिनेछन् बहुसङ्ख्यक आकृतिहरु
र त्यो दिन एउटै आँगनमा
मृत्युहरुको शोकसभा हुनेछ...!
त्यही दिन विजयको झण्डा बोकेर
उत्सव मनाउनेछन् एकथरी मान्छेहरु
र ब्युँझिनेछ शोकाकुल ईतिहास
जब अनन्त कालसम्म एउटै आकाशमा
समान आकाङ्क्षाको झुल्किनेछ घाम
तब कुनै बहानामा
कुनै विश्वयुद्धको आरम्भ हुने छैन,
कुनै वर्णहरुको अतिक्रमण हुने छैन,
कसैलाई वर्गीय कित्तामा उभ्याइने छैन
हो, त्यही दिन
विश्वमानचित्रमा तिमी र मबिचको
साम्प्रदायिक दम्भ ध्वस्त हुनेछ
र बल्ल जन्मिनेछ
हाम्रो कोखबाट - एउटा नवयुग !!

दीपक थापा
अरुण गाउँपालिका-७, भोजपुर।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै