• २०८१ बैशाख ८ शनिबार

यसरी बन्दै छ काष्ठमण्डप

kharibot

काठमाडौं / २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुननिर्माणले पछिल्लो समय गति लिएको छ । लामो समयसम्म स्थानीय र काठमाण्डौँ महानगरपालिकाबीचको विवादले पुनर्निर्माणमा अवरोध हुँदै आए पनि अहिले भने महानगरकै सक्रियतामा काम सुरू भएको हो ।

काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा  कामपा वडा नम्बर १९,२०, २३ र २४  का वडाअध्यक्षहरुको पहल र प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा ०७५ वैशाख १८ गते काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । 

गत वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले क्षमापूजा गरेपछि काष्ठमण्डप पुनर्निर्माणले औपचारिकता पाएको हो।

पुनर्निर्माण निम्ति १९, २०, २३ र २४  नम्बर वडाका अध्यक्षको रोहवरमा समिति गठन गरिएको छ। समिति बनेपछि साउन महिनासम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम भयो । भदौमा निर्माणक्षेत्र सफा पारियो। त्यसपछि कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् पुनर्निर्माण सुरु भएको थियो ।

तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको काष्ठमण्डप पुनर्निर्माणमा हाल धमाधम काम भइरहेको छ । 

समितिका अध्यक्ष राजेश शाक्यले माघ महिनाभर काष्ठमण्डप पूनर्निर्माणको लागि चारवटा मूल थाम राख्ने योजना बनाएको छ । जहाँ तीनवटा नयाँ मूल थाम राखिन्छ भने  एउटा पुरानै राख्दा हुने विज्ञहरूले स्वीकृत गरेको बताएका छन ।

त्यस्तै, बुट्टा भएको १६ वटा मूल मेथहरुमध्येमा १० वटा मेथ मात्र पुनर्प्रयोग गर्न सकिने बताइएको छ । काष्ठमण्डप पुनर्निर्माणको लागि आवश्यक  नयाँ काठ्को लागि टिम्बर कर्पोरेसन  अफ नेपालसंग लिखित सम्झौता समेत भएको र चरणबद्ध रुपमा काठ उपलब्ध गराउने सहमति भएको उनले बताए । हालसम्ममा ८१४/५२ क्यु फिट नयाँ काठ प्राप्त भइसकेको उनले बताए । 

पुनर्निर्माणमा प्रयोग भएका सबै सामग्री पुरातत्व विभाग र युनेस्कोको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरिएको छ। काष्ठमण्डपको नक्सा पुरातत्व विभागबाट मंसिर १६ गते स्वीकृत भएको छ।

यसलाई पुनर्निर्माण स्थलकै पर्खालमा टाँगिएको छ। सबैले सहज रूपमा हेर्न सक्छन् । आगामी ०७६ असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने  समितिको योजना रहेको छ । महानगरपालिकाले पुनर्निर्माण समितिलाई हाल सम्ममा ५ करोड ५० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । 

काष्ठमण्डप पुनर्निर्माणको लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

 

 तस्बीर : प्रकाश ओझा/ खरीबोट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै