• २०८१ बैशाख ७ शुक्रबार

तेह्रथुममा गुराँस वन मासेर प्रसारणलाइन बनाउन लागेकामा स्थानीयको आपत्ति

kharibot

तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ ।

नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । करिडोर निर्माणका लागि टिएमजे क्षेत्रको वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा सर्वे सकिएर काम शुरु भएको छ । 

राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २२० केभिए विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पु¥याउने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने नगर प्रमुख माबोहाङको तर्क छ ।

सो क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित छ । तर, करिडोरको प्रशारण लाइन निर्माण गर्दा टिएमजे क्षेत्रका सामुदायिक वनमा मात्रै दुई हजार ७०० भन्दा बढी रुख काट्ने आयोजनाको प्रारम्भिक तयारी रहेको छ । सो योजना अनुसार रुख काट्दा भएको गुराँस वनसमेत नष्ट हुने र दीर्घकालीन रुपमा समेत गुराँस वन र यहाँको जैविक विविधतालाई असर पु¥याउने भएकाले करिडोरको अलाइन्मेण्ट परिवर्तनका लागि नगरपालिकाले छलफल थालेको नगर प्रमुख माबोहाङले बताए । 

गुराँस वन जोगाउन उपभोक्ता र सरकारले समेत अर्बौँ रुपैयाँ लगानी गरिरहेका बेला आयोजनाले रुख काटेर प्रशारण लाइन बनाउन लागेकामा स्थानीय सरकारको आपत्ति रहेको उनले बताए  । बिहीबार नगरपालिकामा सर्वपक्षीय छलफल र पत्रकार भेटघाट कार्यक्रम गर्दै नगर प्रमुख माबोहाङले देशले गर्व गर्नुपर्ने टिएमजे क्षेत्रको गुृराँस वन जोगाउन सबैले ध्यान पु¥याउनुपर्ने बताए । 

उनले विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने र त्यसमध्येका २८ वटा यहाँको एकै वनमा फुल्ने महत्वलाई नभुल्न र यसको संरक्षण र प्रचारप्रसारमा आवश्यक भूमिका खेल्न समेत ध्यानाकर्षण गराउनुभएको छ । सरकारले उत्कृष्ट एकसय पर्यटकीय गन्तव्यको सूचीमा यो क्षेत्रलाई राखेको भन्दै मेयर माबोहाङले यहाँको पर्यटकीय महत्वलाई भुलेर प्राकृतिक सम्पदाको दोहन गर्नु नहुने विचार व्यक्त गरे । 

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस मात्रै फुल्दैनन्, यहाँ १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा समेत पाइन्छन् । यो क्षेत्रमा पदमचाल, कुड्की, बिख्मा, सतुवा, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पनि पाइन्छन् । 

विद्युत् प्रसारण लाइनका कारण यहाँको जीवजन्तु, पशुपन्छी र वनस्पतिको बासस्थान प्रभावित हुने नगर प्रमुख माबोहाङले बताए । उनले भने – “आयोजनाले स्थानीय सरकार र उपभोक्तासँग सहकार्य समेत गरेको छैन । हामीलाई थाहै नदिई वर्षौदेखि जोगाएर राखेको र यहाँको अस्तित्वसँग जोडिएको गुराँस मास्न लागेको छ ।”߁ 

आयोजनाले वसन्तपुरको चित्रे सामुदायिक वन क्षेत्रका एकहजार ४०० रुख काट्ने गरी टाँचा लगाउन थालेको छ । चैते सामुदायिक वन क्षेत्रमा पनि छापा लगाएर रुखसमेत काटिसकेको छ । रुख काट्ने विषयमा आफूलाई जानकारी नदिइएको चैते सामुदायिक वन समूहका अध्यक्ष युकबहादुर बस्नेतले बताए । 

आयोजनाको अलाइन्मेण्टभित्र टिएमजे क्षेत्रको तेह्रथुमका चार वटा, संखुवासभाका चार वटा र ताप्लेजुङको एक वटा गरी ९ वटा सामुदायिक वन र केही निजी जग्गाको समेत रुख काट्ने तयारी रहेको आयोजनाको वसन्तपुर–ढुंगेसाँघु खण्डका साइट इन्चार्ज सोम पौडेलले बताए । उनका अनुसार आयोजनाले काटेका एक रुख बराबर अन्य २५ वटा बिरुवा उपलब्ध गराउनेछ । 

निजी जग्गा अधिग्रहण गरेको क्षेत्रमा प्रभावितलाई मुआब्जा दिइने आयोजनाले जनाएको छ । आयोजनाले तेह्रथुममा १० किमि, संखुवासभामा १०.५ किमि र ताप्लेजुङमा ११ किमि प्रशारण लाइन बनाउने सर्वे गरेको छ । प्रशारण लाइनको टावर निर्माण गर्दा करीब दुई रोपनी जमीन ओगट्छ । त्यसबाहेक मध्यभागबाट १५–१५ मिटर फँडानी गरेर अलाइन्मेण्ट निर्माण गरिने छ । टावर १८ मिटर भन्दा अग्लो हुने भएकाले गुराँस वन कम मात्रै क्षति हुने आयोजनाका साइट इन्चार्ज पौडेलको तर्क छ । आयोजनाले पहिलो खण्डमा ३१३ वटा र तेश्रो खण्डमा १२२ वटा टावर राख्नेछ । 

पूर्वका पाँच वटा जिल्लालाई समेट्ने कोशी करिडोर प्रशारण लाइनका लागि भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोग छ । यो प्रशारण लाइनबाट अरुण–३ बाहेक पूर्वका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्यु सङ्कलन गरी झण्डै २ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्ने नेपाल विद्युत् प्राधिकरणको योजना रहेको साइट इन्चार्ज पौडेलले बताए । 

प्रशारण लाइनका लागि २०७४ चैत्र २७ गते नै मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो भने २०७४ मङ्सिरमै जग्गा अधिग्रहणको काम थालिएको थियो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता समेत गरिसकेको छ । 

सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण भइरहेको छ । त्यस्तै दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण र तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । 

कार्यक्रममा सहभागी स्थानीयवासीहरुले आयोजनालाई आफ्नो अलाइन्मेण्ट परिवर्तन गर्न आग्रह गरेका थिए । यसअघि सुनसरीको धरान–भेडेटार क्षेत्रमा समेत करिडोरको अलाइनमेण्ट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीले माग गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै