• २०८१ बैशाख ८ शनिबार

जीवन खत्रीका कविता मञ्चन 

kharibot

काठमाडौँ । राष्ट्रिय नाचघर जमलको मिनि प्रेक्षालय । हलभरि दर्शक । मञ्चको दाहिने छेउमा बसेर कविको कविता वाचन । तिनै कविताहरू माथि सांस्कृतिक संस्थानका कलाकारहरूले हुरुक्क पार्ने अभिनय । अभिनय हेरेर आँसु चुहाउँदै गर्ने दर्शकहरूमा थपिएका थिए नायक सरोज खनाल पनि । मंगलबार राष्ट्रिय नाचघर जमलमा देखिएको दृश्य हो यो । कविता वाचनमा थिए कवि जीवन खत्री ।

सांस्कृतिक संस्थान, एम आर्ट थिएटर र श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजनामा हरेक महिनाको १५ गते कविता र नाटकलाई जोड्ने कार्यक्रम काव्याङ्कुर सांस्कृतिक संस्थानमा हुने गर्छ । यस पटकको सातौँ श्रृङ्खला अन्तर्गत जीवन खत्रीका ८ कविता नाट्य मञ्चन भए ।

'जन्मदिन' नामक कविता मञ्चन पश्चात  सुरुवात भएको कार्यक्रममा क्रमश 'समय - तीन चक्र', 'भीरफूल', 'चेतनाको विरुवा', 'आमाको पटुका', 'गाउँकी मुना', 'क‍ोपरा कि पूजाको थाली' र 'होली' गरेर आठ वटा कविता मञ्चन भए । रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा माला आर्ट थिएटरका एक दर्जन बढी कलाकारहरूले कवितामा अभिनय गरेका हुन् । 

मञ्चन गरिएको कवितामध्ये ‘गाउँकी मुना’ 'आमाको पटुका' कविताले आफूलाई गहिरोसँग छोएको कुरा कार्यक्रममा उपस्थित नायक सरोज खनालले बताए । उनले भने, -"जीवन खत्रीका सुन्दर कविताहरू सुनेपछि उनका कवितामा अभिनय गर्न मन लागेको छ ।" त्यस्तै कवि तथा निर्देशक राजेन्द्र सलभले यो कार्यक्रम उच्च कोटीको भन्दै प्रशंसा गरे । 
कार्यक्रममा कवि, निर्देशक तथा कलाकारलाई धन्यवाद ज्ञापन सहीत प्रमाणपत्र समेत प्रदान गरीएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै