• २०८१ बैशाख १३ बिहीबार

मंगलग्रहबाट नयाँ सेल्फी खिच्दै क्युरिओसिटी रोभरले भन्यो – म काममै 'बिजी' छु !

kharibot

तस्बिर क्रेडिट : NASA/JPL-Caltech/MSSS

काठमाडौं । वैज्ञानिकहरुले झण्डै झण्डै आशा मारिसकेको अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा पठाएको क्युरिओसिटी रोभर निष्क्रिय नभएको पाइएको छ ।

उसले मार्सियन माउन्टेन (मंगलग्रहको पहाड) चढ्दै गरेको सेल्फी तस्बिर पठाएसँगै लामो समययता पृथ्वीसँग सम्पर्कविहीन रहेको रोभर सक्रिय रहेको पाइएको हो । 

उक्त तस्बिर जनवरीको सुरुतिर खिचिएको वैज्ञानिकहरुको भनाइ छ । मंगलग्रहको भेरा रुबिनस्थित रक हल ड्रिल साइटको अविश्वसनीय स्न्यापशट उक्त रोभरले पठाएको नासाले जनाएको छ । उक्त क्षेत्रमा रोभरले करिब १ वर्ष बिताएको छ ।

नयाँ सेल्फी पठाएसँगै रोभर अहिले मंगलग्रहको नयाँ क्षेत्रमा गइरहेको छ । रातो ग्रहका रुपमा चिनिने मंगलको नयाँ तस्बिरले धूलोको आँधीपछि त्यहाँको समतल क्षेत्र पहिलेभन्दा प्रदूषित देखिएको पनि बताइएको छ । अहिले रोभरले माउन्ट शार्पको माटोयुक्त क्षेत्रको अनुसन्धान गर्न लागेको छ । 

उक्त क्युरिओसिटी रोभरको सेल्फी तस्बिर ५७ वटा छुट्टाछुट्टै स्न्यापशटको एकीकृत तस्बिर हो भने त्यो रोभरको मार्स ह्यान्ड लेन्स इमेजर (एमएएचएलआई)ले खिचेको हो । सन् २०१२ मा मंगलमा पुगेको रोभरले हरेक वर्ष यस्तै सेल्फी पठाउँदै आएको छ ।

उसले पहिलोपटक सन् २०१२ को अक्टोवर ३१ मा सेल्फी पठाएको थियो । मंगलमा अवतरण गरेको ८४ दिनपछि उसले उक्त तस्बिर पठाएको हो । त्यो सेल्फी पनि ५५ वटा छुट्टाछुट्टै स्न्यापशटको एकीकृत तस्बिर थियो ।  

यस्ता तस्बिरले नासाका इन्जिनियर र वैज्ञानिकलाई रोभरको अवस्थाबारे बुझ्न पनि सजिलो हुने बताइएको छ । यसबाहेक वरपरको धरातलको अवस्था पनि बुझ्न सजिलो हुनेछ ।

पहिलोपटक मंगल पुग्दा रोभरले साइड ए कम्प्युटर प्रयोग गरेको थियो भने पाँच वर्षअघि मात्रै यसमा हार्डवेयर र सफ्टवेयर समस्या देखिएको थियो जसको कारण साइड बी कम्प्युटर प्रयोग गर्नुपरेको नासाको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै