• २०८१ बैशाख १३ बिहीबार

एउटा 'टर्निङ प्वाइन्ट' ! [कथा]

kharibot

खाना खाएर फेसबुक अन गरेँ । मलाई फेसबुकको लत लागिसकेको थियो । दिनहुँ राति घन्टौँसम्म ऊसँग कुराकानी हुन्थ्यो । दु:ख अनि सुखका रमाइला गफगाफ हुन्थे । कुराकानी यसरी लम्बिन्थ्यो कि फेसबुक अफ गर्नको लागि २० चोटिसम्म बाइ, शुभरात्रि भन्नुपर्थ्यो । ऊसँग फेसबुकबाटै चिनजान भएको थियो । साथीले ऊ राम्रो साथी हो भनेकोले फेसबुकमा सर्च गरेर फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ । रिक्वेस्ट एसेप्ट भएपछि बोल्ने चेस्टा गरेँ । राम्ररी बोलचाल पनि हुँदै गयो । पहिला पहिलाका दिनमा त ऊ खासै मन लाएर नबोलेको 'फिल' हुन्थ्यो मलाई । तर पछिल्ला दिनमा भने कहिलेकाहिं कुरैकुरामा रातको १२ बज्न थालिसकेको थियो । 

ऊ बेलाबेला भन्थी, "म कोहीसँग कुरै नगर्ने मान्छेलाई तिमीले १२ बजेसम्म बोल्ने बनाइसक्यौ यार !" म चाहिं हाँस्थे मात्र। 

हाम्रो पहिलो भेट अनामनगर बिजुलीबजारको पुलछेउमा भएको थियो । पहिलो नजर ऊमाथि यसरी पर्यो कि मलाई ऊ एकदमै मायालु लाग्यो । उसलाई कस्तो लाग्यो मलाई थाहा भएन । हामी एउटा काममा सँगै जानुपर्ने भएकोले संयोगले भेट हुन पुगेको थियो त्यो दिन । त्यो भेटमा नै मैले उसमा कताकती आफ्नोपन भेटेको थिएँ । त्यसपछि फेसबुकमा थोरबहुत कुरा हुन्थे । म एकदम 'कमेडी' पाराले मात्र बोल्थेँ । उसमा आफ्नोपन देखेरै होला सायद मलाई हरेक कुरा 'सेयर' गर्न सहज लाग्न थाल्यो । बोल्दै जाँदा ऊ एकदमै 'फर्वार्ड' र 'फ्राङ्क गर्ल' लाग्यो । मलाई किन-किन खुल्ला हृदय भएको मान्छे मन पर्छ । मन पर्न थाल्यो । फेसबुकमा हाइ हेल्लो गरिरहन थालेँ । पहिला हाई भनेको घन्टौँपछि रिप्लाई आउने म्यासेज किन हो छिनभरमै आउन थाले । सायद उसले पनि मभित्र आफ्नोपन भेटी होली !

वि.सं. २०७५ सालको भदौतिर सायद चिनजान भएको हुँदो हो हाम्रो । दुई/तीन भेटमा चिया पिइसकेपछि दशै झ्याप्पै लागेछ । घर जाने दिन आयो । म घर गएँ । म हिँडेको दुई/चार दिनपछि होला ऊ पनि घर गई । घर हिँड्दा र पुग्दा नै जानकारीस्वरुप मलाई 'म्यासेज' छोडी । म ऊप्रति एकदम 'पोजेटिभ' हुँदै गएँ । तर विडम्बना घर गएपछि कामको चापले म खासै फेसबुक चलाउन असमर्थ भएँ । यतिसम्म कि मैले उसलाई निकै दिनसम्म फोन म्यासेज केही गरेनछु । बरु बेला-बेला उसैले फोन, म्यासेज गरेर सम्झाउँथी । एकदमै 'मिस' गरिरहेकी हुन्थी । मलाई ऊ मेरो एकदम नजिक भएको अनुभूति हुन्थ्यो । तनाव भएको बेला ऊसँग कुरा गर्न पाउँदा मैले आफूलाई हल्का 'फिल' गर्न थालेको थिएँ । मलाई बुझ्न सक्ने कोही साथी पाएजस्तो भान हुन्थ्यो । तर सबै कुरा भन्न सक्दिनथेँ । कहिलेकाहिं जिस्किने शैलीमा बिहाको प्रसङ्ग निकाल्थेँ । 

"मलाई यो माया पिरिममा अल्झिन मन छैन । विवाह नगर्ने भएर बसेकी छु, मलाई विवाहदेखि डर लाग्छ", ऊ भन्थी । 

"मायापिरिमले नै संसार थेगेको छ, विवाह त दोस्रो कुरा हो । प्रेम हुँदैमा विवाह हुनुपर्छ भन्दिनँ, तर प्रेम गर्दिन भनेर सुख हुन्न । कहिलेकाहिं प्रेम आफैँ प्रकट भएर आइदिन्छ", मैले जवाफ दिन्थेँ । दिनहरु यसरी नै बित्दै गइरहेका थिए । 

दशै तिहार पछाडि जब हामी काठमाडौँ फर्कियौँ । त्यसपछिका पछिल्ला दिनहरुमा हाम्रो कुराकानी र भेटघाट बाक्लो हुन थालिसकेको थियो । अफिस छुट्टि भएपछि सँगै नेपाल यातायात चढेर घर फर्किन्थ्यौँ । सँगै बसेर आउँदा एक अर्कामा सामान्य स्पर्श हुँदा छुट्टै आनन्द 'फिल' हुन्थ्यो । एक अर्कामा प्रेमको आभास हुन्थ्यो । ऊ मलाई बेला-बेला "काले हप्सी" भन्थी, म उसलाई "डल्ली काली "भन्थेँ । कहिलेकाही कुरा पनि हुन्थ्यो फेसबुकमा ।

ऊ भन्थी, "म कोही केटासँग यति नजिक हुन सकेको थिइनँ, किन भन्या त तिमी काले हप्सीसँग हुनु रै'छ र पो !' 

"म नि कहीँ नभएकी डल्लीसँग फस्नु रै'छ नि त !", हाँसो 'रियाक्ट'सहित रिप्लाई दिन्थेँ । 

उताबाट नि हाँसो रियाक्ट्को लर्को आउँथ्यो ।

एक दुई पटक डेटिङ जाँदा हामीबीच धेरै कुराहरु सेयर भइसकेको थियो । हाम्रा अधिकांश कुराहरु मिल्थे । सबै कुराहरु मिलेर नै होला हामी छोटो समयमै एकदमै नजिक भयौँ । यति नजिक कि एकदिन भेट नहुँदा महिनौ भेट नभएजस्तो लाग्न थाल्यो । मलाई ऊविना सबै चिज अधूरा र अपूरा लाग्न थाले । 

काठमाडौमा पुसको जाडो बढ्दै थियो । जाडोमा सिरकभित्र छोपिएर च्याटिङ गर्नु गाह्रो भए पनि हरेक प्रेमजोडीको लागि मजाको विषय थियो । 

एक दिन खाना खाएर ओछ्यानमा ढल्किएर अनलाइन आएँ । हात ठिहिर्याइरहेको थियो । फेसबुक खोल्नासाथ मेरा आँखा इन्बक्समा पुग्न थालिसकेको धेरै भएको थियो । र त्यो दिन नि त्यो क्रम दोहोरियो । म्यासेन्जरमा म्यासेज आएको सङ्केत देखियो । खोलेँ । उसकै रहेछ । छ/सातवटा सन्देश रहेछन् । "फिलिङ मिसिङ मच् डियर । आज तिम्रो एकदमै याद आइरहेको छ । यो के भएको । म के गरौँ छिटो भन न ........" यस्तै-यस्तै म्यासेजहरु । 

मन ढक्क फुलेर आयो मेरो ।

"मिस यु टू डियर, चिन्ता नगर । केही भएको हैन हाम्रो साच्चिकै लभ पर्या हो के...... ", हाँसो रियाक्टसहित गर्वका साथ रिप्लाई गरेँ । 
" मलाई एकदम गाह्रो भएको छ । म रोको रोकै छु । तिम्रो याद धेरै आइरहेको छ कालु । तिमीसँग बोल्दा नि रुन मात्र आउँछ । प्लिज मलाई ब्लक हान, मदेखि टाढा हौ .... ।" उताबाट फेरि म्यासेज आयो । 
म्यासेज पढ्नासाथ मेरा कन्सिरी तातो-तातो भयो । अघि भर्खर गर्वले फुलेको छाती एकाएक ओइलायो । अनुहार रातोपिरो भएर आयो । खपि नसक्नु जाडो भइरहेको बेला गर्मी 'फिल' हुन थाल्यो । जुरुक्क उठेर सिरानी भित्तामा अड्याएर अडेस लागें । " हैन त्यस्तो के भयो र ? मैले जानी नजानी गल्ती गरेको भए आइ एम भेरी सरि । कि अरु नै केही समस्या परेको भए सेयर गर । आइ एम अल्वेज विथ यु ...." लभ रियाक्टसहित म्यासेज गरें । 

"अरु म केही जान्दिनँ तिम्रो धेरै याद आइरहेको छ फिलिङ मिसिङ, प्लिज सक्छौ भने मलाइ ब्लक गर ।" उताबाट फेरि उस्तै म्यासेज आयो । मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो । अन्जानमा केही ठूलो गल्ती गरिछु कि भन्ने फिल भयो । "म त तिम्रो खुसी देख्न चाहन्छु मैले ब्लक हान्दा, म टाढा हुँदा तिमी खुसी हुन्छौ भने ठीक छ ब्लक हान्दिन्छु । "

यति म्यासेज छोडेर मुटु गाँठो पारेर ब्लक हानें ।

त्यसपछि सुत्ने प्रयत्न गरेँ । तर मनमा कुराहरुको दौड चलिरह्यो । निद्रा फिटिक्कै लागेन । सबैभन्दा पीडा उसको मन दुख्ने गरी के भनेछु भन्ने सम्झिन नसकेर भयो । १० मिनेटपछि फेरि उसलाई अन्ब्लक गरेर म्यासेज हेरेँ । उस्तै म्यासेजहरु आइरहेका रहेछन् । साथमा के भएको भन्ने कुरा भोलि भेटेरै भन्छु भन्ने म्यासेज नि रहेछ । मैले अहिले नै भन भनेर जिद्दी कस्न थालेँ । उसले भनी । त्यो रात छटपटीमै बित्यो । 

भोलिपल्ट एयरपोर्टमा एउटा साथीको सामान 'रिसिभ' गरिदिनुपर्ने थियो । रातभरको अनिदो थिएँ । ११ बजेतिर एयरपोर्ट पुगेको थिएं । सामान विदेशबाट आउने भएकोले कुर्नुपर्ने भयो - फोन नआएसम्म । समय व्यतित गर्न फेसबुक खोलेँ । ऊ पनि भर्खर अफिस पुगेकी थिइ सायद । अन्लाइन देखायो ।

"के गर्दै छौ ?", मैले म्यासेज गरेँ । 

"म अफिस छु । एकदमै टाउको दुखिरहेको छ", जवाफ दिई । 

सायद ऊ पनि रातभरकी अनिदी थिई । झन् रातभर रोएर बिताई होला । सम्झेँ । र 'ल ल टेक केयर' आफ्नो ख्याल राखेस् भनेँ । 

"बिमारी फिल भइरा'छ छिटै घर जान्छु होला", उसले भनी । 

मैले हुन्छ भन्दै आफू एयरपोर्ट भएको जानकारी गराएँ । 

"तिमीलाई एउटा कुरा सोध्छु नढाँटी सोचेर जवाफ देऊ", उताबाट अचानक म्यासेज आयो । 

"हुन्छ, सोध न !",  मैले भनें ।

"तिमी मलाई बिहा गर्छौ ? सोचेर जवाफ देऊ", उसले भनी । 

म एकछिन घोरिएँ । बेलुकाको च्याटिङ सम्झिएँ । बेलुकै एक मनले त सोचेको नि थिएँ - घरमा विवाहको कुरो आएर फिलिङ मिसिङ भनिराखेकी होला । तर भन्न चाहिं सकेको थिइन । फेरि ब्लक नै हान भनेपछि चाहिं अलिक नराम्रो फिल गरेको थिएँ । र उसको खुसीको लागि ब्लक पनि हानेँ । तर ब्लक हानिरहन मनले मानेन, सकेन । 
उसको म्यासेज पढेपछि मलाई हासौँ हासौँ रोऊँ रोऊँ के गरौँ के भनौँ जस्तो भयो । एकछिन त म्यासेज लेख्नै सकिन । 

"मलाई छिटो जवाफ चाहिएको छ", उसले अझै म्यासेज थपी । सायद उता मेरो म्यासेज सिन देखायो होला । किनकि मैले म्यासेज हेरेर केही रिप्लाई दिन सकिरहेको थिइन । 
"ठीक छ यो विषयमा भेटेरै जवाफ दिन्छु नि है", मैले जसोतसो रिप्लाई गरें ।

म यहाँको काम सकेर भृकुटीमन्डप आउँछु त्यतै भेटौँ अनि सँगै फर्कौंला, हुन्न ? । मैले म्यासेज थपेँ । 

मेरो अनामनगर अफिसमा अलिअलि काम थियो । तर उसको कुरा सुनेपछि आजको दिन उसलाई टाइम दिन्छु सोचेर कुनै बहाना बनाएर अफिस नजाने निधो पनि गरें । 
म्यासेजमा उसले के म्यासेज पठाएकी थिई । हेर्न क्लिक गरेको थिएँ तर नेट नचलेर म्यासेज खुलेकै थिएन । त्यही बेला नयाँ नम्बरबाट फोन आयो । उठाएँ । सामान ल्याइदिने दाइको रहेछ । डाटा अफ गरेर त्यो दाइलाई भेटेर सामान लिएँ । 

त्यसपछि हतार-हतार बाइक पार्किङ गरेर गएँ । उसलाई फोन गरेर हनुमानथान बस स्टपमा निस्किन आग्रह गरेँ । र, बाइक स्टार्ट गरेर अनामनगरको बाटो हुँदै हुइँकिएँ । 
म हनुमानथान पुग्दा ऊ भनेकै लोकेसनमा उभिएकी रै'छ । बाइकमा चढ्ने इसारा गरें । दुवै जना बाइकमा भृकुटिमन्डपसम्म गयौँ । बीचमा खासै कुरा भएन । उसको पिन्चे अनुहार देखिएकाले म नि केही बोलिनँ । विश्वभाषामा बाइक पार्किङ गरी चउरमा बस्यौँ । एक अर्कामा मायालु नजर जुधाइयो । ऊ मलाई हेर्दै रुनरुन खोज्थी, रिसको भाव पनि अलि अलि देखिन्थ्यो । 

"अब घर जाने हो तिमी ?", साहसका साथ मैले सोधेँ । 

"भृकुटीमन्डपमा एक्स्पो भइरहेको छ न्युजको लागि फोटो खिचेर जाने", पिन्चे अनुहारले मतिर हेर्दै भनी । 

"अघिको म्यासेज सिन गरेर रिप्लाई किन नदिएको ?",  रिसाउँदै थप बोली ऊ । मैले उसको अनुहारमा रिसका रेखा देखिनुको कारण पनि बुझेँ । 
"कुन म्यासेज ?", मैले सोधेँ । ऊ फेरि रिसले भुइँतिर घोरिई । मैले हतारमा फेसबुक खोलेँ । निकै लामो म्यासेज लेखेकी रहिछ । 

पढ्न थालें, "मैले यो सबै किन भन्दै छु भन्नुभएको होला । घरमा बिहेको कुरा चलेको छ मेरो । र, मलाई यो पनि थाहा छ कि जो आउंदैछन् मलाई मन पराउनेछन् किनभने अङ्कलको साथीको छोरा हो त्यो मान्छे ! सो... मैले घरमा भनेको छु, एउटा साथी छ सोधेर जवाफ दिन्छु भनेर । यदि तिमी मलाई साँच्चै मन पराउँछौ र माया गर्छौ भने म घरमा तिम्रो बारेमा कुरा गर्छु । यही कुराले तनावमा छु म हिजोदेखि । र, हाम्रो कोपिला हाल्दै गरेको मायालाई एउटा सुन्दर फूल भएर फुलेको हेर्ने रहर छ मेरो । अहिले बिहे नगर्ने भन्छौ भने नि म पख्छु तिमीलाई ! यति भन्दा पनि जवाफ दिएनौ भने म तिमीलाई कहिल्यै माफ गर्नेछैन !" 

एक ध्यानले म्यासेज पढेँ । ऊ घरिघरि मतिर पुलुक पुलुक हेर्दै भुइमा घोरिन्थी । जब म्यासेज पढिसकेँ ऊप्रति झनै माया पलाएर आयो । उसको आफ्नो प्रेमप्रतिको त्यागलाई मनमनै सलाम गरेँ । म्यासेज पढिसकेर ऊतिर फर्किदा सायद 'नर्भस' भएको हुँदो हुँ म । के बोल्ने के बोल्ने भयो । र, आफूले म्यासेज हेर्न खोज्दा नेट नचलेको र त्यही बेला फोन आएकोले म्यासेज सिन देखाएको स्पष्टिकरण दिएँ । 

फेरि म्यासेज र उसको अनुहारलाई आलोपालो हेर्दै मैले आफ्नो स्थितिको वारेमा सबै बताएँ । "विवाहको क्रममा जाँदा हाम्रो प्रेममा हैसियत नाप्ने काम भयो भने म राम्रो मान्दिन नि । तिम्रो परिवारले कसरी लिनुहुन्छ यो कुरा ?" 

"मैले तिम्लाई कैल्यै तिम्रो सम्पत्तिको कुरा गरेको छु ?", मेरो कुरा नसकिदै बीचमा उसको प्रश्न तेर्सियो । म नाजवाफ भएँ । 
"तिम्लाई मसंग जीवनभर खुसी हुन्छु भन्ने लाग्छ ?", मैले फेरि प्रश्न गरेँ । 

मेरो प्रश्न सुनेर उसको पिन्चे अनुहारका मायालु रेखाहरु हलचल गर्न थालें । ओठ र चिउँडो थर्थराएजस्तो देखिन्थ्यो । सायद उसलाई रुन मन लागेको थियो त्यो बेला । 
तर रुन र बोल्न सकिन । र पनि लाग्छ भन्ने सङ्केतले टाउको भने हल्लाई । 

"यदि त्यस्तो हो भने म तयार छु", मैले खासै दरिलो जवाफ दिएजस्तो लागेन । उसले नि त्यही सोची सायद । 

यस्तै कुरा हुँदाहुँदै मलाई साथीको फोन आयो । ऊ पनि एक्स्पोमा आएको रहेछ । हामी दुवै जना त्यतै गयौँ र एक्स्पो अवलोकन गरी घर फर्कियौँ । 

बेलुका मबाट अपेक्षाअनुरुपको उसले जवाफ पाएकी छैन भन्ने सोचेर मैले आफूले उसलाई कसरी लिएको छु भन्नेबारे खुलाउँदै विवाह गर्ने वाचाका साथ एउटा लामो सन्देश पठाएँ ।  त्यसपछि मोबाइल चार्जमा राखेर खाना बनाउन थालेँ । खाना तयार भएपछी मोबाइल हेरेँ । पिलिक पिलिक बत्ती बलेर म्यासेज आएको सङ्केत देखाउँदै थियो । हतारमा प्याट्रन खोलेर हेरेँ । मोबाइलको स्क्रीनमा देखियो 

"थ्याङ्यु डियर, लभ यु",  उसकै म्यासेज रहेछ । 

मन प्रफुल्ल बनाएँ र रिप्लाई पठाएँ । 
"लभ यु टु डियर !" 

यसरी हाम्रो मायाको एउटा टर्निङ प्वाइन्ट सकियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै