• २०८१ बैशाख ८ शनिबार

कारिन्दाको मृत्यु (आन्तोन चेखव)

kharibot
  • आंतोन चेखव (१९८०-१९०४) एक चर्चित रुसी नाट्यकार तथा कथाकार थिए जसलाई इतिहासकै सबै भन्दा महान् कथाकार मानिन्छ   प्रस्तुत छ  अनुप जोशीद्वारा  गरिएको उनको कथा  'द डेथ अफ एन अफिसियल'को  नेपाली अनुवाद : 

क सुन्दर साँझमा सुन्दरतामा कुनै कमी नभएको न्यूनस्तरको एक सरकारी कारिन्दा इभान चेरभियाकोभ आफ्नो ओपेरा-चस्माले लेस क्लोचेस् डी कोर्नेभाइल हेर्दै अर्केस्ट्राको दोस्रो पंक्तिमा बसिरहेको थियो । त्यहाँ बस्दा उसले आफूलाई परमानन्दको सातौँ स्वर्गमा भएको अनुभूति गर्यो । तर अचानक (प्राय: जो कोहीले पनि कथामा यो ‘अचानक’लाई पाउँछन्; लेखकहरु सही हुन्छन् – जिन्दगी अनपेक्षित कुराहरुले भरिपूर्ण छ), उसको अनुहारमा चाउरी पर्न थाल्यो,  उसका आँखाहरु यताउति घुम्न थाले र उसले आफ्नो श्वास रोक्यो  ।  

उसले आफ्नो ओपेरा चस्मा फुकाल्यो । निहुरियो र हा....छ्यु.... गर्यो, जो तपाईंले देख्न सक्नुहुन्छ । हाछ्यु.. गर्न कसैलाई पनि कहीं कतै प्रतिबन्ध लगाइएको छैन । किसानहरुले हाछ्यु... गर्छन्, प्रहरी प्रधानहरुले हाछ्यु गर्छन्, कहिलेकाहीँ त मुख्यसचिवहरुले समेत हाछ्यु गर्छन् ।  हो,  सबै जनाले हाछ्यु गर्छन् । चेरभियाकोभ कुनै बुद्धिमत्ताले पनि लज्जित भएको थिएन ।  उसले आफ्नो नाक आफ्नो रुमालले पुछ्यो र कतै मेरो हाछ्युले कसैलाई अवरोध त पुर्याएको छैन भन्ने निश्चित गर्न विनम्रतापूर्वक झट्ट आफ्नो वरिपरि हेर्यो ।  त्यसपछि उसले आफू बेकारमा डराएको रहेछु भन्ने महसुस गर्यो । 

उसले देख्यो कि एउटा बूढो मान्छे जो प्रथम पंक्तिमा उसको अगाडि बसिरहेको थियो, आफ्नो तालु र घांटीको पछाडिपट्टिको भागलाई पीडादायी तरिकाले उसको पन्जाले पुछिरहेको छ र केही फतफताइरहेको छ ।  यस्तैमा चेरभियाकोभले यी बूढा मान्छे राजमार्ग विभागका जर्नेल ब्रिजियालोभ रहेछन् भन्ने पहिचान गर्यो ।

“मैले उनीमाथि हाछ्यु गरें !’ चेरभियाकोभले सोच्यो, ‘उनी मेरो हाकिम त होइनन् तै पनि यो अशिष्ट कुरा भयो । मैले क्षमायाचना गर्नैपर्छ ।’

चेरभियाकोभले आफ्नो घाँटी सफा गर्यो ।  आफूलाई अगाडितर्फ सार्यो अनि जर्नेलको कानमा साउती मार्यो, ‘म क्षमा चाहन्छु सरकार ! मैले मौसुफमाथि हाछ्यु गरें,  मैले दुर्घटनावश .....

'चिन्ता नगर, चिन्ता नगर !'

‘ईश्वरका लागि मलाई क्षमा गरिबक्स्योस् । मैले... मैले... त्यसो गर्न खोजेको होइन ...’

‘ए, कृपया बस त ! अगाडि के भनिरहेको छ मलाई सुन्न देऊ ।’

चेरभियाकोभ असामन्जस्यताले व्याकूल भयो ।  उसले मूर्खतापूर्वक मुस्कुरायो र स्टेजतर्फ हेर्न थाल्यो । उसले त्यतातिर हेर्यो तर अब परमानन्दको अनुभूति गर्न छाड्यो । उसलाई चिन्ताले सताउन थाल्यो । अर्को मध्यान्तरमा ऊ ब्रिजियालोभतर्फ गयो,  उनको छेवैमा हिड्यो र आफ्नो कायरतालाई पराजित गर्दै बर्बरायो, ‘मैले सरकारमाथि हाछ्यु गरें । मलाई क्षमा गरिबक्स्योस् । देखिबक्स्योस्, मैले  त्यस्तो गर्न खोजेको ...

‘ह्या, यो त अत्ति भयो ! मैले त्यसलाई अघि नै बिर्सिसकें  र तिमी त्यही एउटै कुरालाई दोहोर्याइहेका छौ’,  जर्नेलले आफ्नो तल्लो ओठ घुमाउदै अधैर्यपूर्वक भने ।

‘उनले भन्न त त्यसलाई बिर्सिसकें भनेर भने तर उनको आँखामा द्वेष छ’, जर्नेलतर्फ सन्देहपूर्वक हेर्दै चेरभियाकोभले मनमनै सोच्यो, ‘उनी बोल्दासमेत त बोल्दैनन् । मैले उनलाई व्याख्या गर्नैपर्छ कि मैले त्यसो गर्न खोजेको थिइनँ .... हाछ्यु गर्नु त प्रकृतिको नियम हो .... नभए उनले सोच्नेछन् कि मैले उनलाई थुकें ।  उनले अहिले त्यस्तो सोचेको छैनन् भने पनि पछि त पक्कै सोच्नेछन् ।’

घर पुगेपछि चेरभियाकोभले आफ्नी श्रीमतीलाई आफ्नो अशिष्टताको बारेमा बतायो । उसलाई लाग्यो जे हुन गयो त्यसलाई उसकी श्रीमतीले निकै अविनीत तवरले बुझी । सुरुमा ऊ सतर्क मात्र भएकी थिई, जब उसले थाहा पाई कि ब्रिजियालोभ उनीहरुको हाकिम होइनन्, तब उसले आश्वस्त महसुस गरी ।

‘फेरि पनि तपाईंले गएर क्षमायाचना माग्नुपर्छ’, उसले भनी, “उनले यो सोच्न सक्छन् कि तपाईंलाई समाजमा कसरी व्यवहार गर्ने भन्नेबारे थाहा छैन ।’

त्यो त्यति नै हो ! मैले माफी मागिसकेको छु  तर उनले निकै उत्सुकतापूर्ण व्यवहार देखाए; उनले केही पनि अर्थ राख्ने कुरा भनेनन् । फेरि हुन त त्यो बेला वार्तालापको लागि कुनै उपयुक्त समय पनि त थिएन ! भोलिपल्ट चेरभियाकोभले दाह्री खौरियो,  कहिल्यै नलगाएको नयाँ पोसाक लगायो र ब्रिजियालोभलाई सबै कुराको स्पष्टीकरण दिन्छु भनेर निस्कियो ।  

जर्नेलको बैठक कोठामा प्रवेश गर्दा उसका आँखा त्यहाँ उपस्थित अनुनयकर्ताहरुको ठूलो भीडमा पर्यो । र तिनीहरुको बीचमा जर्नेल थिए, जसले आफ्नो स्वागत कार्यक्रम सुरु गरिरकेका थिए । आफ्ना धेरै अनुनयकर्ताहरुलाई सोधपुछ गरिसकेपछि उनले आफ्ना आँखा चेरभियाकोभतिर उठाए ।

‘सरकार, हजुरले सम्झिबक्सेको छ भने... हिजो ओपेरामा....', सानो कारिन्दाले सुरु गर्यो, ‘मैले छ्यु गरें र दुर्घटनावश तपाईंलाई त्यसको छिटाहरु पर्यो । मलाई मा....फ....'

‘कस्तो बकबास ! तँलाईं सडेको ! मैले तेरो लागि के गर्न पर्यो ?’

‘उनी मसँग बोल्दैनन् !’, निलो हुँदै चेरभियाकोभले सोच्यो, ‘उनी रिसाएका छन् । मैले उनलाई स्पष्टीकरण दिनुपर्छ....'

जब जर्नेल अन्तिम अनुनयकर्तासँग आफ्नो वार्तालाप सकेर भित्री कक्षमा जान लागेका थिए, चेरभियाकोभ उनीसामु लम्कियो र बर्बरायो, ‘सरकार ! यदि मैले हजुरसमक्ष बिन्ती चढाउन सक्छु भने  म यहाँलाई पश्चात्तापको भावनाले आश्वस्त पार्न चाहन्छु । मैले जानी-जानी त्यस्तो गरेको होइन । सरकारले बुझिदिबक्स्यो कि ....'

जर्नेलले उदास अनुहार बनायो र आफ्नो हात हल्लायो ।

‘तिमी मसंग केवल जिस्किँदै छौँ !’, ढोकाभित्र हराउँदै उनले भने ।

‘उनले भने कि म जिस्किरहेको छु !’, चेरभियाकोभले सोच्यो, ‘तर यसमा त जिस्किनुपर्ने केही पनि कुरा थिएन । उनी जर्नेल हुन् र उनले त्यो देख्न सक्दैनन् ।  तर त्यस्तो अवस्था नरहेकोले  म ती गैरजिम्मेवार व्यक्तिसँग पुनश्च क्षमायाचना गर्ने छैन । बरु म उनलाई एउटा चिठी लेख्छु  तर अब म यहाँ फेरि आउनेछैन । म फेरि आएँ भने त म झुण्ड्याइनेछु !’

घरतिर फर्किदै गर्दा चेरभियाकोभले यस्तै कुराहरु सोच्यो । उसले जर्नेललाई त्यो चिठी लेखेन । उसले सोचेको सोच्यै गर्यो र जिउज्यान लगाएर जति सोच्दा पनि उसले पटक्कै केही पनि लेख्न सकेन । भोलिपल्ट ऊ आफै जानुपर्ने भयो र सबै कुराको बेलीविस्तार लगाउनुपर्ने भयो ।

‘मैले सरकारलाई दु:ख दिन हिजो आएको थिएँ’, जर्नेलले उसलाई प्रश्नवाचक तवरले हेरिरहँदा उसले गुनागुनायो, ‘ सरकारको जिकिर सही थियो तर म जिस्किने मनसायले भने आएको थिइनँ ।  मैले किन त्यस्तो हिम्मत गर्थें र ?  जिस्किनु भनेको त मौसुफमाथि सम्मान नदेखाउनु भन्ने हुन्छ । त्यो त.....'

‘बाहिर निस्की !’, अचानक चिच्याउँदै जर्नेल गर्जिए ।

‘हजुर?', त्रासले अचेतजस्तो भएको चेरभियाकोभले सुस्केरा हाल्यो ।

‘बाहिर निस्की’, खुट्टा बजार्दै जर्नेलले दोहोर्याए ।

चेरभियाकोभको छातीमा केही कुरा जोडले फुटेजस्तो भयो । केही कुरा पनि देख्न वा सुन्न नसक्ने भई ऊ ढोकामा ठोक्किदै त्यहाँबाट बल्लतल्ल घिस्रिदै बाहिर निस्क्यो । यन्त्रवत् रुपमा घर पुगेपछि,  ऊ आफ्नो पोसाक नखोलीकनै सोफामा पसारियो – र मर्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै